• २२ असार २०८१, शनिबार

खुदुनाबारी महिला गोल्डकपको उपाधि धनकुटालाई

blog

तेस्रो खुदुनाबारी गोल्डकपको उपाधी लिँदै धनकुटा महिला फुटबल क्बल । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का
विर्तामोड, असोज १७ गते ।
 तेस्रो खुदुनाबारी गोल्डकपको उपाधि धनकुटा महिला फुटबल क्लबले हात पारेको छ ।

प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा टाईब्रेकरमा आयोजक टिम जुनतारा महिला फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै गोल्डकपको उपाधि धनकुटाले जितेको हो ।

अर्जुनधारा नगरपालिका–३ स्थित प्रस्तावित प्राकृतिक रङ्गशालामा सम्पन्न निर्धारित ७० मिनेटको खेलमा दुवै टिमले १–१ गोल गरेपछि बराबरी भएको खेल टाइब्रेकरमा धकेलिएको  थियो । खेलको ३४ मिनेटमा धनकुटाले पाएको फ्रिकिकको सदुपयोग गर्दै जुनतारको पोष्टमा धनकुटाकी टिम कप्तान अन्जना थुलुङ राईले गरेको प्रहार गोलमा परिणत भएको थियो । तर, जुनतारले इन्जुरी टाइममा पाएको फ्रिकिकको अवसरलाई सन्जना राई (सन्जु)ले प्रहार गर्दा धनकुटाकी गोलकिपर सजिया क्षेत्रीले बचाउ गर्न नसकेपछि खेल बराबरीमा सकियो । 

टाईब्रेकरमा धनकुटाकी गोलकिपर सजिया क्षेत्री, कप्तान अन्जना थुलुङ राई र समीक्षा पौडेलले गरेको प्रहार जुनताराकी गोलकिपर जसदा लावतीले बचाउ गर्न सक्नुभएन । सन्ध्या रम्तेलको प्रहार भने उहाँले विफल बनाउनुभएको थियो ।

जुनताका खेलाडी अन्जना राई, लक्ष्मी श्रेष्ठ र नेहा चौधरी तिनै जनाको प्रहार भने गोलमा परिणत हुन नसक्दा टिमले पराजय भोग्नुपर्‍यो । अन्जनाको प्रहार धनकुटाकी गोलकिपर सजिया क्षेत्रीले विफल बनाइ भने लक्ष्मी र नेहाले प्रहार गरेको गोल पोष्टमा ठोकिएर फर्किएको थियो ।

जितसँगै विजेता धनकुटाले नगद एक लाख एक हजार १११ रुपियाँसहित ट्रफी हात पारेको छ । उपविजेता बनेको आयोजक टिम जुनताराले नगद ५५ हजार ५५५ रुपियाँसहित ट्रफी पाएको छ । प्रतियोगितामा बेस्ट गोलकिपर धनकुटाकी सजिया क्षेत्री, बेस्ट डिफेन्स जुनताराकी सुस्मिता चौधरी, हाइ स्कोरर जुनताराकी अनिता लम्जेल र वमेन अफ दी टुर्नामेन्ट धनकुटाकी कप्तान अन्जना थुलुङ राई घोषित हुँदै नगद पाँच हजार रुपियाँ पाउनुभयो  । त्यस्तै, प्रतियोगितामा जाइरिङ यूथ प्लेयरको उपाधि आयोजक जुनताराकी कप्तान ममता राउतले प्राप्त गर्नुभयो । उहाँले नगर पाँच हजार हात पार्नुभयो ।

विजयी तथा उपबिजयी महिला फुटबल टिमलाई प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामीले नगद र ट्रफि प्रदान गर्नुभयो ।

अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपलाई च्यारिटी यूथ क्लबले आयोजना गरेको हो भने सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता सञ्चालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो वर्ष महिला फुटबल प्रतियोगिता सञ्चालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भएको थियो ।