• ६ कात्तिक २०८१, मङ्गलबार

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं–१ बाट चुनाव लड्ने

blog

काठमाडौं, असोज १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का  वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गुर्नभएको छ ।

शुक्रबार औपचारिक उम्मेदवारी घोषणा गर्नुहुँदै उहाँले आगामी निर्वाचनका लागि आफ्नो मूल एजेण्डा प्रस्तुत गर्नुभयो । उहाँलै संविधानले बाँधेर राखेको राजसंस्था पुनःस्थापित हुनुपर्ने मान्यता रहेको र यसरी चुनावमा जाँदा भोट नपाए पनि खुसीसाथ मतदातालाई धन्यवाद दिने बताउनुभयो ।

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले भन्नुभयो, “म गणतन्त्रवादी होइन, राजसंस्थावादी पनि होइन । म धर्मनिरपेक्षतावादी पनि होइन । म नेपालवादी हुँ । म नेपालवादी भएकै कारणले नेपालको हित गर्नका लागि यो देशमा कुनै न कुनै रुपमा संविधानले बाँधेर राजसंस्था पुनःस्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु । यही कुरा लिएर म मतदाता कहाँ जान्छु, भोट पाए पाउँछु । पाईन भनेदेखि खुशी साथ म धन्यवाद व्यक्त गर्छु । यसमा म प्रष्ट छु ।”

उहाँले गर्न नसकिने झुटा वचनबद्धता नजनाउने र मतदाताले एजेण्डाको बलमा सशक्त ढङ्गले विजयी गराउनुहुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै राप्रपा पूर्वअध्यक्ष डा. प्रकाशचन्द लोहनीले देश र जनताका लागि केही गरौं भन्ने भावका साथ राजनीतिमा आएका मिश्रलाई आगामी निर्वाचनमा विजयी गराउन काठमाडौं क्षेत्र नम्बर १ का जनतालाई आग्रह गर्नुभयो । अहिलेका ठूला दलका विकल्पमा आएको राप्रपा पार्टीलाई विजयी गराउनुपर्ने भनाइ उहाँले राख्नुभयो ।