• १० मंसिर २०८१, सोमबार

पिङ र चङ्गा उमङ्गको प्रतीक

blog

दशैँ नजिकिन थालेको कुरा मौसमले जनाउ दिन्छ । बर्खाभरि मडारिएको कालो बादलका छिटपुट अंश पनि बिस्तारै हराउँछ । धर्ती उज्यालो अनि आकाश खुला हुन्छ । शरद् ऋतुको आगमनसँगै खेतबारीका डिलमा ढकमक्क सयपत्री फुल्छन् । खेतबारीमा लहलह धान झुल्छन् । आकाश खुलेर नीलो देखिन्छ । निरन्तर बहने हावाको झोक्काले शीतलता थप्छ । आकाशभरि रङ्गी–विरङ्गी चङ्गा उड्न थाल्छन् । आकाशमा चङ्गा उड्दा मनै फुरुङ्ग हुन्छ । गाउँघरमा ठाउँठाउँमा राखिएका लिङ्गे पिङले दशैँ आएको जनाउ दिन्छ । गाउँघर र सहरबजारका टोलटोलमा भएका सरसफाइले दशैँको रौनकलाई बढाउँछ । दशैँमा थपिने रौनक र मनोरञ्जनको माध्यममा चङ्गा र पिङ अग्रपङ्क्तिमा आउँछन् । यद्यपि यसको महिमा मनोरञ्जनसँग मात्र सीमित छैन । 

ऐतिहासिक महत्व 

चङ्गाको आविष्कार तीन हजार वर्ष पहिले चीनमा भएको मानिन्छ । चिनियाँहरू चङ्गा उडाउने र आविष्कार गर्नेमा अग्रपङ्क्तिमा आउँछन् । चीनका दार्शनिक मोजी र लुबानले रेशमको कपडाको चङ्गा बनाएर रेशमकै धागोले उडाएको इतिहास छ ।

त्यसपछि चङ्गा विश्वभरि सोख र रमाइलोका लागि उडाउने परम्परा सुरु भयो । विश्वमा प्रतियोगितात्मक खेलका रूपमा तीव्र गतिमा लोकप्रिय हुंँदै गएको चङ्गा उडाउने खेल नेपालमा भने महìवपूर्ण चाड दशैँसँग बढी जोडिएको छ । दशैँमा मात्र सीमित नभएर चङ्गा विस्तारै महोत्सव र प्रतियोगिताका रूपमा बढ्दै गयो । एसिया महादेशका धेरै मुलुकमा चङ्गा महोत्सव प्रसिद्ध मानिन्छ । थाइल्यान्डमा व्यावसायिक चङ्गा प्रतियोगिता आयोजना गरिन्छ । भारतमा पनि चङ्गा महोत्सव हुन्छ । संस्कृति तथा धर्मविद्हरूका अनुसार चङ्गा गौतमबुद्ध जन्मनुअघि नै प्रचलनमा आएको मनोरञ्जनको सामग्री थियो भन्ने गरिन्छ । 

परापूर्वकालमा मानिसहरू चङ्गा उडाएर भगवान्सँग प्रार्थना गर्ने चलन पनि थियो । यसबाहेक चङ्गालाई स्वर्ग र धर्तीबीच सुखद सन्देश लिनेदिने विश्वासमा उडाउने मनोरञ्जनको साधनसमेत मानिएको छ । आकाशमाथि चङ्गा उडेको देख्दा आँखा तेजिलो हुने विश्वास छ भने धेरै पहिलेदेखि नै चरा धपाउने बुख्याचाका रूपमा, मौसमसूचक सामग्रीका रूपमा र दुष्ट आत्मा भगाउने विश्वासमा चङ्गामा उडाउने गरिन्थ्यो । अहिले पनि विभिन्न मुलुकमा चङ्गा उडाउनु सुख, समृद्धि कायम राख्नु हो भन्ने विश्वास छ । 

वर्षको एक पटक जमिन छाड्नु पर्छ

संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ 

चङ्गा उडाउने प्रचलनको आरम्भ दक्षिण एसियाबाट सुरु भएको हो । इन्डोनेसियाको प्राग ऐतिहासिक गुफामा चङ्गाकोे चित्र छ । यस गुफामा भएको चङ्गाको चित्रले पनि प्रस्ट हुन्छ कि आजभन्दा दस हजार वर्ष पहिला चङ्गा उडाउने प्रचलन सुरु भएको थियो । चङ्गा उडाउने प्रचलन चीनबाट भएको हो भनेर उसले दाबी गर्दै आएको छ । त्यस्तै नेपाल र भारतमा पनि परापूर्वकालदेखि नै चङ्गा उडाउने गरिन्थ्यो । चङ्गाको इतिहास धेरै पुरानो छ । नेपालमा जुन बेलादेखि दशैँ मनाउन सुरु गरियो त्यसको आसपासबाट चङ्गा र लिङ्गे पिङ खेल्ने चलन सुरु भएको मानिन्छ । चङ्गा उडाउँदा स्वर्गमा बसेका पितृसँग समेत सम्बन्ध स्थापित हुन्छ भन्ने विश्वास रहँदै आएको छ । सोह्रश्रद्धा सकिएपछि दशैँ आरम्भ हुन्छ, यही समयमा इन्द्रजात्रा मनाउने प्रचलन छ । आठ दिनसम्म मनाइने इन्द्रजात्राको इन्द्रध्वजको स्तम्भमा जनैपूर्णिमामा हातमा लगाएको डोरो बाँध्ने गरिन्छ । जसको अर्थ यस लोकमा सुख, समृद्धि प्राप्त गरी मृत्युपछि मोक्ष प्राप्त होस् भन्ने मान्यता छ । 

इन्द्र स्वर्गका राजा हुन् । चङ्गा उडाउँदा लौकिक जीवन र परलौकिक जीवनबीच सेतुको रूपमा चङ्गा स्थापित भएको छ । यही समयमा कम्तीमा वर्षको एक पटक जमिन छोड्नुपर्छ भन्ने सन्देश छ । दशैँमा पिङ र चङ्गा एकअर्काबीच अन्तरसम्बन्धित छन् । पिङ र चङ्गा दुवै उल्लास, उमङ्ग, खुसी, सद्भाव आदिका प्रतीक हुन् । दशैँमा सुरु भएको चङ्गा र पिङको समापन तिहारको भाइटीका लगाएपछि मात्र हुने प्रचलन रहँदै आएको छ । 


चङ्गाजस्तै दशैँमा खेलिने पिङले पनि मनोरञ्जन प्रदान गर्नुका साथै समाजमा सामाजिक सद्भाव र भाइचारा कायम गर्ने माध्यम हो । वर्षमा एक पटक धर्ती छोड्नुपर्छ भन्ने मान्यताका साथ दशैँमा पिङ खेलिन्छ । पिङ खासमा मनोरञ्जनकै लागि खेल्ने खेल हो । 

दशैँको बेला खानपान नियन्त्रित हुँदैन । दशैँमा माछा, मासु, र चिल्लो खानेकुरा खाइन्छ । पिङमा मच्चिने क्रममा शरीरको सम्पूर्ण अङ्गको व्यायाम हुन्छ । दशैँको समयमा खासै धेरै शारीरिक श्रम नगरिने भएकाले हाम्रो शरीरलाई चलायमान गराउन पिङको अवधारणा विकास भएको मानिन्छ । 

पिङमा मच्चिँदा खासगरी पेट खुम्चने र तन्कने गर्छ । यसले पाचन यन्त्रलाई बलियो बनाउन सहयोग गर्छ । लिङ्गे पिङ खेल्ने आफ्नै तरिका छन् । पिङ मच्चाउने क्रममा उठिन्छ, बसिन्छ । विभिन्न तरिकाले पिङ खेलिन्छ । जे गरे पनि दशैँको बेला पिङले मनोरञ्जन दिनुको साथै व्यायामको पनि काम गर्छ । 


चङ्गा उडाउनु कला पनि हो

संस्कृतिविद् डिल्लीराम गौतम 

पिङ र चङ्गा दुवै दशैँमा मनोरञ्जनका साधन हुन् । टोलटोलमा चङ्गा र पिङको रौनक सुरु भएपछि दशैँ आएको आभाष हुन्छ । खुला नीलो आकाशमा चङ्गा उडेपछि र टोलका खुला स्थानमा पिङ मच्चिन थालेपछि घरआँगनमा दशैँको आगमन भएको मानिन्छ । समय क्रम फेरिएसँगै हाम्रो समाजमा क्रमिक रूपमा चङ्गा र पिङ अलि कम खेलिने भए पनि लोप भने भएको छैन । नयाँ पुस्तालाई चङ्गा र पिङ खेल्ने संस्कृतिसँग जोड्नु अपरिहार्य भएको छ । अहिले मनोरञ्जन गर्ने वैकल्पिक साधनको विकास भएकाले चङ्गा र पिङलाई कम मात्र प्रयोग गर्न थालिएको हुनसक्छ । 

दशैँमा एक दिन धर्ती छोड्नुपर्छ भन्ने लोकोक्तिले गर्दा हाम्रो समाजमा पिङ खेल्ने चलनले लोकप्रियता पाएको छ । पिङ हाल्ने संस्कृतिले समाजमा सबै व्यक्तिलाई एकै ठाउँमा ल्याउने गर्छ । कोही कसैसँग वैमनस्यता भए पनि पिङ खेल्दा त्यो वैमनस्यता हट्ने विश्वास गरिन्छ । पिङ खेल्दा स्वास्थ्यलाई फाइदा पुग्नुका साथै समाजमा सामाजिक सद्भाव र एकता कायम गर्नसमेत सहयोग पुग्ने गरेको छ । पिङ सामूहिक रूपमा गरिने संस्कृतिजस्तै बनेको छ । यसले समाजमा नौलो आयाम थपेको छ । विजय र वर्चस्वको बोझ लिएर उड्ने चङ्गा एक रोमाञ्चक खेल मात्र होइन, जीवन दर्शन पनि हो । यो उमङ्ग, स्वच्छन्द र उचाइको प्रतीक हो । 

वायुमण्डलमा चङ्गा उडाउँदा हामी आनन्द लिन्छौँ र दुःख, पीर भुल्छौँ । दम्भ, रिस, राग भुल्छौँ । मनमा आनन्द र उमङ्ग छाएको महसुस गर्छौं । विगतमा मनोरञ्जनका लागि सीमित साधनका कारण चङ्गा, पिङ तथा कौडाको प्रचलन रहे पनि अहिले प्रविधिको विकासका कारण मनोरञ्जनका विकल्पसंँगै चङ्गा उडाउने र पिङको सङ्ख्या घट्दै गएको हो । सहरी क्षेत्रमा दशैँको आगमनसँगै सफा आकाशमा फरफराउने चङ्गा उडाउने खुला स्थानको समेत अभाव हुन थालेको छ । चङ्गा उडाउने ठाउँमा बाटो, रुख, बिजुलीको खम्बा, तारले समस्या पार्ने गरेको छ । 

नेपालमा यसको धार्मिक कथन पनि छ, जसअनुसार ‘वर्षा र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीका लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पु¥याउन चङ्गा उडाउने प्रचलन सुरु भएको भन्ने भनाइ छ । चङ्गा एउटा खेल मात्र नभएर यो कला हो । चङ्गा आफैँ उड्दैन, उडाउन कला चाहिन्छ । यसलाई जीवन जिउने कलासँग पनि जोडिएर हेरिएको छ । चङ्गा उडाउने कलाले हामीलाई जीवन र जगत्का धेरै कुरा बोध गराउँछ । धागोले बाँधिएर लट्टाइबाट नियन्त्रण गरिने चङ्गा अनेक मान्यता, अन्धविश्वास र अनौठो प्रयोगको आधार पनि रहेको छ । 

Author

नगेन्द्र सापकोटा