• ८ वैशाख २०८१, शनिबार

चाडपर्व लक्षित सुरक्षामा प्रहरी सक्रिय

blog

सुर्खेत, असोज ११ गते । ठुला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा प्रहरी सक्रिय बनेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार एक सय ४१ प्रहरी खटाएको हो । 

यसैबिच चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित शङ्कास्पद स्थानमा पहिचान गरी जाँच गरिने भएको छ । प्रदेश प्रहरीले जारी गरेको कार्य योजनामा एक सय २५ नियमित क्युआरटी परिचालन गरिएको छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिएको छ । 

त्यसै गरी ट्राफिकसहित संयुक्त रूपमा ५३ स्थानमा आकस्मिक जाँच तथा चोरी, तस्करी, लागु औषध कारोबारलगायत अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरेको छ । झैझगडा, जुवा तास, चोरी, लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा जाँच गरिने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । यसैबिच सम्पत्तिको सुरक्षा, जनधनको सुरक्षा, उपभोक्ताको अधिकार, महिला बालबालिका, अपाङ्गता भएका एवं ज्येष्ठ, नागरिकको सुरक्षाका अधिकार सुनिश्चित गर्न कार्य योजना बनाइएको छ ।

यो कार्य योजना असोज ९ गतेदेखि लागू भएको छ,। कर्णाली प्रदेशअन्तर्गतका जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकको जनजीवन सामान्य तुल्याउन बैङ्क तथा वित्तीय सङ्घसंस्थामा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्यसम्म जाने यात्रुसमेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको र सुरक्षा मापदण्डसमेतलाई लक्ष्य गरी यस प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्लामा सुरक्षा योजना बनाई लागू गरिएको हो । 

चाडपर्वको नाममा हुनसक्ने सबै प्रकारका अवाञ्छित/आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्दै नागरिकले सुरक्षित र उल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्न उक्त कार्य योजना तयार गरिएको हो ।

Author

नवीन सुवेदी