• १४ वैशाख २०८१, शुक्रबार

दशैँका लागि खसीबोका बजारमा

blog

सर्लाही समाचारदाता

सर्लाही, असोज १० गते । दशैँ सुरु भएसँगै सर्लाहीमा खसीबोकाको व्यापार बढेको छ। किसानले गाउँबाट खसीबोका बिक्रीका लागि बजारमा ल्याउन थालेका छन्। वर्षभरि पालेको खसीबोका बेचेरै किसानले दशैँ, तिहारजस्ता मुख्य चाडपर्वको खर्च टार्ने गरेका छन्। 

लालबन्दी नगरपालिका–१३, नारायण डाँडाका किसान बलबहादुर थिङले खसीबोका बेचेरै बर्सेनि दशैंको खर्च टार्दै आइरहेको बताउनुभयो। “दशैँका लागि मरमसला, लुगाफाटा र दक्षिणाको जोहो खसीबोका बेचेरै गर्ने हो,” थिङले भन्नुभयो, “हाम्रोतिरबाट किसानले धमाधम खसीबोका बिक्रीका लागि बजार झार्न थालिसकेका छन्।” जिल्लाको लालबन्दी, हरिवन, बयलबास, बरहथवालगायतका बजारमा हाटबजार लागेको दिन खसीबोकाको उल्लेख्य व्यापार बढेको छ। खसीबोका किन्न व्यापारी आफैँ पनि किसानको घरघरमै पुग्ने गरेका छन्। 

सर्लाहीको उत्तरी चुरे भेगमा व्यावसायिक रूपमा बाख्रापालन हुने गरेको छ। वर्षभरि पालेको खसीबोका बेचेर किसानले यो दशैँको समयमा ५०÷६० हजार रुपियाँदेखि एक लाख रुपियाँभन्दा बढी आम्दानी गर्छन्। खसी व्यापारी हरि थापाले गाउँका किसानबाट खरिद गरेर ल्याएको खसीबोका बजारमा ल्याई बिक्री गर्न थालिसकिएको बताउनुभयो। 

“हामी आफैँ गाउँमा पुगेर किसानसँग खसीबोका किन्छौँ, हामीले दिएको खसीबोकाको पैसाबाटै किसान बजार भरेर फर्किनुहुन्छ,” उहाँले भन्नुभयो। व्यापारीका अनुसार दशैँको महाअष्टमीको दिनसम्म नै खसीबोकाको राम्रो व्यापार हुन्छ।