• १३ साउन २०८१, आइतबार

माछाको अवैध आयात रोक्न माग

blog

चितवन समाचारदाता

चितवन, असोज ८ गते । माछाको अवैध आयात रोक्न सरकारसँग माग गरिएको छ। शुक्रबार नारायणगढमा विभिन्न सात संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी माछामा नेपाल आत्मनिर्भर भइसकेको अवस्थामा अवैध रूपमा भारतबाट आउने माछाले नेपाली किसानलाई प्रत्यक्ष असरसँगै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको बताएका हुन्। 

कार्यक्रममा नेपाल मत्स्य व्यवसायी सङ्घका केन्द्रीय महासचिव जोगेन्द्र महतोले दैनिक ५० टन अवैध माछा भारतबाट आउने गरेको बताउनुभयो। अवैध रूपमा आउने माछाबाट लाखौँ रुपियाँ राजस्व छली भइरहँदा नेपाल सरकारका निकाय मौन रहेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। 

उहाँले भन्नुभयो, “वैध रूपमा आउने माछाका लागि हाम्रो आपत्ति होइन अस्वस्थकर र कर छली गरेर आउनेसँग हाम्रो विरोध हो व्यवसायीको पहलमा भएको आन्दोलनबाट अवैध ल्याएको प्रमाण फेला पार्दा समेत कारबाही नगरिएकोमा आपत्ति छ।” 

चितवन उद्योग सङ्घ, रत्ननगर उद्योग वाणिज्य सङ्घ, उद्योग वाणज्य सङ्घ खैरहनी, नेपाल चेम्बर अफ कमर्स, चितवन मत्स्य व्यवसायी सङ्घलगायतका संस्थाले गरेको पत्रकार सम्मेलनमा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले अवैध रूपमा आउने माछा, कुखुराका चल्ला तथा अन्य सामग्री पूर्ण रूपमा रोक्नका  लागि सरकारसँग माग गर्नुभयो।