• १३ साउन २०८१, आइतबार

सडकहरू मर्मत गरिँदै

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असोज ८ गते । सिन्धुली जिल्लामा स्थानीय तहहरूले यो वर्ष बाढीपहिरोका कारण क्षति भएका सडकहरूको मर्मत सुरु गरेका छन्। दशैँसम्ममा गाउँपालिकाभित्रका मुख्य र सहायक सडक सबैमा सहज यातायात सञ्चालन गर्ने उद्देश्यले मर्मत कार्य सुरु गरिएको पालिकाहरूले जनाएका छन्। तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले पालिकाको ११ वटै वडामा पर्ने मुख्य सडक र भित्री सडकको मर्मत कार्य भइरहेको बताउनुभयो। 

पालिकाको मर्मतसम्भार कोषबाट जीर्ण सडकलाई मर्मत गर्न सुरु गरेको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “एउटै वडामा २०/२२ वटा सडक छ। गाउँपालिकाको एउटा जेसीबी छ, अर्को भाडामा लिएर कामा सुरु गरेका छौँ।” उहाँले भन्नुभयो, “यो बीचमा वर्षाले अवरोध नगरे दशैँसम्ममा टोलटोलमा यातायातका साधन पु¥याउने योजनासहित काम गरिरहेका छौँ।” कमलामाई नगरपालिका–४ का वडाध्यक्ष महेन्द्र ढकाल पनि वर्षाका कारण बिग्रेका सडकको मर्मत धमाधम भइरहेको बताउनुहुन्छ। दशैँसम्म वर्षाले भत्काएको सबै सडक मर्मत गरी यातायात सञ्चालन गर्ने योजना छ। आवश्यकताअनुसार ग्राभेल गर्ने, खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाउनेलगायतका काम भइरहेको उहाँले बताउनुभयो। 

त्यस्तै गोलन्जोर गाउँपालिकाले पनि वर्षामा बाढीपहिरोबाट क्षतिग्रस्त ग्रामीण सडकहरू मर्मत कार्य भइरहेको जनाएको छ। गाउँपालिका अध्यक्ष शङ्कर बरालले पालिकाको सातवटै वडामा सडक मर्मतका लागि पालिकाले बजेट छु्ट्याई काम भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “आवश्यकताअनुसार १० देखि २० हजार रुपियाँसम्म प्रतिवडा बजेट छुट्याएका छौँ। जिल्लाका मरिण, हरिहरपुरगढी, गोलन्जोरलगायतका पालिकाले पनि भत्किएको सडक मर्मत सुरु गरेको जनाएका छन्।”