• १ पुस २०८१, सोमबार

अमेरिकी योजनामा फेरिएका सत्ता र नक्सा

blog

इतिहास पल्टाएर हेर्दा दस पटक अमेरिकाले विदेशमा सरकार ढाल्नमा सहयोग गरेको बुझ्न सकिन्छ । अमेरिकाले लामो समयदेखि आफ्नो स्वयंको रणनीति तथा व्यापारिक हित भरणपोषण हुने गरी विदेशी सत्ता परिवर्तनमा साथ दिएको छ । आफ्नो इतिहासमा यी कार्यका लागि अमेरिकाले पटक पटक आफ्नो सेनाको प्रयोग तथा गोप्य अभियान सञ्चालन गरेको थियो।

विदेशी सरकारमाथि अमेरिकी हस्तक्षेपको थालनी तब भयो जब उसले उत्तर अमेरिकामा सार्वभौम ट्राईबल नेसन्स (अमेरिकी क्षेत्रका रैथाने बासिन्दा वा जनजातिका कबिला) माथि हमला गर्ने वा तिनको विस्थापनको कार्य गर्न थाल्यो । सन् १८९० को दशकमा यस प्रकारको साम्राज्यवादी गतिविधि, जो विशेषगरी मेनफिस्ट डेस्टनी (सन् १८४५ मा प्रयोगमा आएको यो वाक्यांशले ईश्वरले अमेरिकालाई भाग्यविधाता बनाएको तथा सम्पूर्ण उत्तर अमेरिकी क्षेत्रमा त्यसका पक्षधरहरूले आफ्नो प्रभुत्व फैलाउने तथा प्रजातन्त्र र पुँजीवाद विस्तार गर्ने कुरामा विश्वास गर्ने मान्यता राख्दछ ।) बाट अभिप्रेरित भएर त्यतिबेला समुद्र पार पुग्यो जब अमेरिकाले हवाई अधिराज्यको सत्ता फ्याँकेर त्यसलाई आफूमा विलय गरायो । अमेरिकाले थप वैदेशिक क्षेत्रलाई आफ्नो साम्राज्यमा जोड्दै जाँदा उसले अन्य विदेशी सरकारमा समेत बारम्बार हस्तक्षेप गर्न सुरु गरेको थियो, विशेषगरी त्यहाँ जो उसका छेउछाउमा थिए ।

ओभरथ्रोः अमेरिकाज सेन्चुरी अफ रेसिम चेन्ज फ्रम हवाई टु इराक, पुस्तकका लेखक तथा ब्राउन युनिभर्सिटीमा वाट्सन इन्स्टिच्युट फर इन्टरनेस्नल एन्ड पब्लिक अफेयरका वरिष्ठ अनुसन्धानकर्ता स्टेफन किन्जर भन्छन्, “२०औँ शताब्दीको सुरुका वर्षमा अमेरिकाले क्यारेबियन क्षेत्रमा निरन्तर हस्तक्षेप गरेको थियो।”

द्वितीय विश्वयुद्धपछि अमेरिकाले भर्खरै स्थापित सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए)लाई विश्वभरि परिचालन गरी निकै गोप्य तवरबाट सत्ता परिवर्तनका लागि प्रयोग ग¥यो। शीतयुद्धका बेला चर्चामा आएको कोल्ड वार डोमिनो थिअरी (कुनै एक देशमा वामपन्थीको प्रभाव पर्‍यो  भने त्यसले छेउछाउका देश वा क्षेत्रमा समेत त्यसको सङ्क्रमण फैलिन सक्छ भन्ने अमेरिकी मान्यता) को तह अमेरिकी नेताहरूले त्यस प्रकारका धेरै हस्तक्षेपलाई साम्यवाद विस्तार रोक्न अत्यावश्यक भएको तर्क राख्दथे । यसैगरी २१औँ शताब्दीका नेताले पछि मध्यपूर्वमा अमेरिकी हस्तक्षेपलाई आतङ्कवादविरुद्ध लड्न आवश्यक भएको जामा पहिल्याउने काम गरेको देखिन्छ ।

सन् १९३३, क्युबा

अमेरिकाले हवाईलाई आफ्नो आधिपत्यमा लिएकै वर्ष सन् १८९८ मा स्पेनी–अमेरिकी युद्धमा उसको विजयले गुआम, प्युर्टो रिको र फिलिपिन्ससमेत अमेरिकी भूखण्ड बन्न पुगे। साथै क्युबामाथि सैन्य कब्जा थालनी गर्ने बहाना पनि अमेरिकालाई मिल्यो । राष्ट्रपति थियोडोर रुजवेल्टद्वारा सन् १९०४–५ मा ल्याटिन अमेरिकी क्षेत्रमा सैन्य कारबाहीका लागि अमेरिकासँग अधिकार भएको दाबी गरिएपछि अमेरिकाले डोमिनिकन रिपब्लिक, निकारागुवा, मेक्सिको, हैटी, होन्डुरस र क्युबालगायतका क्यारेबिन क्षेत्रका देशमा बारम्बार त्यस प्रकारको हस्तक्षेप गर्न सुरु गरेको थियो ।

सन् १९०२ मा क्युबालाई स्वतन्त्र देशका रूपमा मान्यता दिएपछि अमेरिकाले भविष्यमा आफ्नो स्वार्थ रक्षार्थ सैन्य कारबाही गर्न सक्ने सर्तनामा राखेर क्युबाबाट आफ्ना सैनिक फिर्ता लिएर गयो । त्यसपछिका तीन दशक अमेरिकाले तथाकथित ‘बनाना वार्स’ को बहानामा पटक पटक क्युबा र अन्य क्यारेबियन देशमा हमला ग¥यो, उसको स्वार्थ थियो– अमेरिकी स्वामित्व भएका चिनी, फलफूल र कफी व्यवसायलाई जोखिममा पारिरहेका श्रमिक हडताल र क्रान्तिको दमनमा सहयोग गर्ने ।

सन् १९३३ मा अमेरिकाले क्युबाली सरकारलाई अपदस्थ गर्न सैनिक शासक फाउजेन्सियो बाटिस्टाको ‘कु’ लाई सहयोग ग¥यो। फिडेल क्यास्ट्रोले हिंसात्मक आन्दोलनद्वारा बाटिस्टालाई सत्ताच्यूत गरी पश्चिमी गोलार्द्धमा प्रथम वामपन्थी सरकार गठन गरेपछि राष्ट्रपति जोन एफ केनेडीले सन् १९६१ मा ‘बे अफ पिग्स’ हमला गरी क्यास्ट्रो सरकार अपदस्थ गर्ने प्रयास गरेका थिए तर क्युबाको दक्षिणपश्चिम तटीय क्षेत्रमा थल सैनिक पठाएर सञ्चालन गरिएको सो अभियान असफल भयो ।

सत्ता हत्याउने यस असफल कोसिसले आफ्ना दक्षिणी छिमेकीप्रति अमेरिकाको साम्राज्यवादी दृष्टिकोणको मात्र प्रतिनिधित्व गरेन यसले नव हस्तक्षेपवादी शक्ति सिआईएलाई समेत विश्वसामु प्रदर्शित गर्‍यो ।

सन् १९५४, ग्वाटेमाला

सन् १९५४ मा सीआईएले अर्को ‘कु’ को योजना बनाएर प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता ग्वाटेमालाका राष्ट्रपति जेकोबो अर्बेन्जलाई अपदस्थ गर्न भूमिका खेल्यो। ‘अपरेसन पिबिसक्सेस’ गुप्त नाम दिइएको सीआईएको यस ‘कु’ बाट जननिर्वाचित राष्ट्रपति अपदस्थ भएर सैनिक तानाशाह कार्लोस कास्टिलो अर्मासको हातमा सत्ता पुग्यो । यस ‘कु’ लाई साम्यवाद विस्तार रोक्न चालिएको कदम बताइयो । तथापि राष्ट्रपति अर्बेन्जलाई सीआईएले सत्ताच्यूत गराउनुको मुख्य उद्देश्यचाहिँ उनको भूमिसुधार कार्यक्रमले अमेरिकी स्वामित्वमा रहेको युनाइटेड फ्रुट कम्पनीको स्वार्थमा असर पर्ने डर थियो । ग्वाटेमालाको ४२ प्रतिशत भूमिमा यस कम्पनीको स्वामित्व थियो र यसले कर समेत तिर्दैनथ्यो ।

राष्ट्रपति आइजनआवर प्रशासनका उच्च पदस्थ अधिकारीको त्यस कम्पनीसँग घनिष्ट सम्बन्ध थियो । अमेरिकी विदेशमन्त्री जोन फस्टर डलेसले युनाइटेड फ्रट्सको अमेरिकी ‘ल फर्म’ मा काम गरेका थिए तथा उनका भाइ सीआईएका निर्देशक एलन डलेस त्यस कम्पनीको बोर्ड सदस्य भइसकेका थिए।

सीआईएले ल्याटिन अमेरिकी सरकारहरू बारम्बार अपदस्थ गरायो। केनेडी प्रशासनको प्रथम वर्षमा सीआईए डोमिनिकन रिपब्लिकमा एक राजनीतिक हत्याको पक्षधर देखियो तथा लिन्डन बी जोन्सन राष्ट्रपति छँदा सीआईएले सन् १९६४ मा ब्राजिलमा सत्ता कब्जा कार्यलाई साथ दियो।

सन् १९६०–१९६५, कङ्गो

सन् १९६० मा गणतन्त्र कङ्गो (हाल डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो)ले बेल्जियमको अधिपत्यबाट आफू स्वतन्त्र भएको घोषणा गरी प्रजातान्त्रिक पद्धतिबाट आफ्नो प्रथम राष्ट्रपतिका रूपमा प्याट्रिस लुमुम्बालाई चयन गरेको थियो । लुमुम्बाले सत्ता ग्रहण गरेको केही समयपछि नै राष्ट्रपति जोसेफ कसावुबुले बेल्जियमको सैन्य हमलाका बीच उनलाई सत्ताच्यूत गरिदिए। यस घटनाले उत्पन्न गर्ने अशान्तिको फाइदा उठाउँदै सोभियत सङ्घको घुसपैठ हुने आशङ्काले चिन्तित सीआईएले लुमुम्बा क्युबाका क्यास्ट्रोसरहका वामपन्थी नेता भएको तर्क राख्दै उनको हत्या गर्न उत्प्रेरणा दिने तथा सहयोगी भूमिका खेल्यो । सीआईएको सहयोगमा सन् १९६० मा लुमुक्बा पक्राउ परे र सन् १९६१ मा उनको हत्या भयो ।

यी कदमले अनपेक्षित रूपमा कङ्गो सङ्कट (सन् १९६०–१९६५)को थालनी गरायो। यस अवधिमा सैनिक शासक मोबुतु सेसी सिकोले देशमा आफ्नो शक्ति सुदृढ बनाएर लगे। अनि सन् १९६५ मा साम्यवाद विस्तारको बहाना गरी सीआईएले कङ्गो गणतन्त्रमा सिकोलाई सत्ता कब्जा गर्न साथ दियो। कङ्गोमा सिको एक क्रुर तानाशाहका रूपमा उदाए र उनले सन् १९९७ सम्म त्यहाँ शासन गरे।

सन् १९६३, दक्षिण भियतनाम

भियतनाममा अमेरिकाको युद्धसम्बन्धी विस्तृत जानकारी भएको पेन्टागन पेपर्सलाई सन् १९७१ म न्युयोर्क टाइम्सले सार्वजनिक गरिदिँदा खैलाबैला नै भयो। खुलस्त पारिएको एक तथ्य के थियो भने दक्षिण भियतनामका राष्ट्रपति एनगो डिन डियामविरुद्ध सन् १९६३ मा सत्ता कब्जा र उनको हत्याका लागि सीआईएले लगानी गर्ने र उक्साउने काम गरेको रहेछ।

उत्तरी भियतनाममा रहेको राष्ट्रपति हो ची मिन्हको वामपन्थी सरकारविरुद्ध लड्नका लागि अमेरिकाले सन् १९६३ मा हजारौँ अमेरिकी सैनिक भियतनाम पठाएको थियो। अमेरिकाले सुरुमा त दक्षिण भियतनामका राष्ट्रपति डियामलाई साथ दियो किनभने उनी उत्तरी भियतनामका वामपन्थीविरुद्ध लडिरहेका थिए। तर बौद्धमार्गीहरूप्रति डियामको अत्याचारले उनलाई अलोकप्रिय शासक बनायो। यस कारण केनेडी प्रशासन डियामले वामपन्थीविरुद्धको लडाइँ जित्ने विषयमा सशङ्कित भयो ।

त्यसपछि सन् १९६३ नोभेम्बरको सुरुमा डियामलाई सत्ताच्यूत गरी हत्या गरियो, यस घटनाको केही हप्तामै केनेडीको समेत हत्या भएको थियो।

सन् १९७३, चिली

जब चिलीले सन् १९७० मा समाजवादी नेता साल्भाडोर अलेन्डीलाई आफ्नो राष्ट्रपति चयन गर्यो अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सन सुरुमा उनलाई पदभार ग्रहण गर्न नदिने वा अलेन्डीले राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै उनलाई अपदस्थ गर्ने पक्षमा थिए ।

निक्सनको आदेशमा सीआईएले समाजवादी राष्ट्रपतिलाई अपदस्थ गर्नका लागि चिलीका अनेक समूहलाई सहयोग गर्न थाल्यो। अनि सन् १९७३ मा सैनिक नेता अगस्तो पिनोसेले ‘कु’ गरी अलेन्डीलाई सत्ताच्यूत गरे । अर्को वर्ष पिनोसेले एकलौटी शासन सुरु गरी सन् १९९० सम्म चिलीमा तानाशाही व्यवस्था लागू गरेको थिए।

पिनोसेको सत्ताकब्जामा सीआईएको प्रत्यक्ष वा परोक्ष सहभागिता बारेमा अझै पनि विवाद छ तर जसरी सीआईएले सत्ता कब्जाका लागि पहिले साथ सहयोगको काम गरेको थियो त्यसले त्यहाँ राजनीतिक अस्थिरता निम्तियो र पिनोसेले त्यस अवस्थाको फाइदा उठाउँदै शक्ति हातमा लिएको चाहिँ भन्न सकिन्छ। निक्सन र राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरबीच पिनोसेको सत्ता कब्जाका बारेमा भएको फोन वार्ताको ध्वनि अभिलेखले    सत्ता कब्जाप्रति अमेरिकी सञ्चारमाध्यमहरू सकारात्मक नभएको गुनासो किसिन्जरले गरेको स्पष्ट पार्दछ ।

प्रतिउत्तरमा निक्सनले भनिरहेका थिए, “आइजनआवरका बेलामा हामी नायक थियौँ। ठीक छ, हामीले गरेनौँ तपाईंलाई अवगत छ। यस घटनामा हाम्रो भूमिका देखिँदैन।”

किसिन्जरले स्पष्ट पार्छन्, “मेरो भनाइ के हो भने हामीले उनीहरूलाई सहयोग गर्यौँ.. सक्दो परिस्थिति सिर्जना गर्याै”

सन् १९८१–१९९०, निकारागुआ

निकारागुआमा अमेरिकी हस्तक्षेपको लामो इतिहास रहेको छ। सन् १९१२ र १९३३ बीचमा अमेरिकी सेनाले निकारागुआमाथि कब्जा नै गरेको थियो।

सन् १९८१ र १९८६ बीच अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगन प्रशासनले कन्ट्रेसलाई आर्थिक सहायता उपलब्ध गराउन गोप्य र अवैध रूपमा इरानलाई हतियार बिक्री गर्यो। डेनियल अर्टोगाको नेतृत्वमा रहेको समाजवादी सान्डिनिस्टा सरकारविरुद्ध लड्न सीआईएले भर्ना र सङ्गठित गरेको समूह थियो कन्ट्रेस। सन् १९८६ मा इरान–कन्ट्रेस मामिलाको विस्तृत विवरण सार्वजनिक हुँदा कंग्रेसले छानबिनसमेत गर्नुपर्यो। अर्टेगाको सान्डिनिस्टा सरकार सन् १९९० को निर्वाचन पराजित हुँदा राष्ट्रपति पदमा निर्वाचित विपक्षी नेता भायोलेटा चामोरोलाई अमेरिकाले उनको पक्षमा वातावरण तयार पार्न आर्थिक सहयोग गरेको चर्चा भएको थियो।

सन् २००३, इराक

सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण ग¥यो र सद्दाम हुसेनको सरकार ढाल्यो। अफगानिस्तानमा गरेको सरह अमेरिकाले इराकमा एक अन्तरिम, सङ्क्रमणकालीन तथा बढी स्थायी सरकार गठन गर्ने प्रयास गर्यो । अमेरिकाले सन् २०११ मा औपचारिक रूपमै इराकमा आफ्नो युद्ध समाप्त भएको घोषणा गरेको थियो। त्यसपछिका वर्षमा इराकी सरकारले स्थिरता प्राप्त गर्न सकेको छैन। 

सन् १८९३, हवाई

सन् १८९३ मा हवाईमा रहेका अमेरिकी दूतको सहयोगमा गोरा व्यापारी र ठूलो क्षेत्रमा खेतीकिसानी गर्नेको एक सानो समूहले  सत्ता कब्जाको नेतृत्व गरी हवाईको सम्राट रानी लिलिओक्लानीलाई अपदस्थ गरियो । यो घटना रानीका पूर्ववर्ती उनका भाइ राजा डेभिड कलाकाउआलाई बन्दुकको नाल देखाएर नयाँ संविधानमा हस्ताक्षर गर्न बाध्य पारेको छ वर्षपछि भएको थियो। नयाँ संविधान जारी भएपछि उनको धेरै शक्ति खोसियो तथा उनीहरू गोरा किसान वर्गको सदस्यको हैसियतमा राखिए।

सत्ता कब्जामा नेतृत्व गर्नेहरूले तत्काल अमेरिकालाई हवाईमा आफ्नो नियन्त्रण बनाउन अनुरोध गरे, जुन कार्य अमेरिकाले सन् १८९८ मा सम्पन्न ग¥यो। हवाई सन् १९५९ सम्म एक अमेरिकी क्षेत्रका रूपमा मात्र रह्यो र त्यसपछि अमेरिकाको ५०औँ राज्य बनेको थियो ।

सन् १९९३ मा सत्ता कब्जाको एक शताब्दीपछि अमेरिकी सरकारले हवाईका आदिवासीको राजसंस्था समाप्त पारेको तथा हवाईका आदिवासीको सहमतिबेगर वा मुआब्जाबिना १८ लाख एकड भूमि कब्जा गरेकोमा औपचारिक रूपमै क्षमा मागेको थियो । 


सन् १९५३, इरान

सन् १९४७ मा अमेरिकाले सीआईए स्थापना गरेपछि अमेरिकाले निकै गुप्त तवरबाट यस संस्थालाई विदेशी सरकारहरू ढाल्न वा तिनलाई कठपुतली बनाउनका लागि प्रयोग गर्न थालेको थियो । द्वितीय विश्वयुद्ध पहिले अमेरिकाले विदेशी सरकारहरूमाथि आफ्नो  हस्तक्षेप लुकाउने कोसिस गरेको थिएन तर शीतयुद्ध सुरु भएपछि अमेरिकाले आफ्ना काम कारबाही सोभियत सङ्घबाट लुकाउनमा धेरै नै महत्व दिन थाल्यो ।

शीतयुद्ध आफ्नो उत्कर्षमा रहेको सन् १९५० को दशकमा राष्ट्रपति आइजनआवर र सीआईएका निर्देशक एलन डलेसको प्राथमिकता के थियो भने अमेरिकामा सधैँ गोपनीयता सुनिश्चितता गर्ने। किन्जर भन्छन्, आइजनआवर सम्भवतः अन्तिम राष्ट्रपति होलान् जसले तपाईंले कुनै गुप्त कार्य गर्नुभयो र कसैले त्यसको चाल कहिल्यै पाउन नसकोस् भन्ने मान्यतामा काम गर्नुभयो।

इरानका राजा मोहम्मद रजा पलावीसँगको सम्बन्ध प्रगाढ बनाउन  सन् १९५३ मा सीआईएले इरानमा प्रजातान्त्रिक विधिबाट निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्दालाई सत्ताच्यूत गर्ने योजना बनायो । आन्तरिक रूपमा अपरेसन अयाक्स भनिएको सत्ता कब्जाका बारेमा सीआईएको सार्वजनिक दस्तावेजमा दाबी गरिएको छ, इरानमा सोभियत सङ्घको सम्भावित प्रभाव रोक्नका लागि यो योजना बनाइएको हो। तर इरानी–अमेरिकी इतिहासवेत्ता एभृन्ड इब्राहामियनका अनुसार त्यो सत्ता कब्जाको योजना अमेरिकाको इन्धन स्वार्थबाट बढी अभिप्रेरित थियो। 

सन् २००१, अफगानिस्तान

सन् २००१ मा जब अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गर्यो उसले युद्धरत तालिबान सरकार र विपक्षी उत्तरी गठबन्धनको स्थानमा हमिद कारजायीको नेतृत्वमा एक अन्तरिम सरकार अफगानिस्तानमा गठन गरायो । अफगानिस्तानको सङ्क्रमणकालीन सरकारको सन् २००२ सम्म नेतृत्व गरेपछि उनी सन् २००४ मा अमेरिकी समर्थन प्राप्त इस्लामिक गणतन्त्र अफगानिस्तानको राष्ट्रपति भएका थिए। सन् २०१४ मा उनको स्थान असरफ गानीले लिए । सन् २०२१ मा अमेरिकाले औपचारिक रूपमै अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको घोषणा गरी आफ्ना सैनिक फिर्ता लैजानासाथ तालिबानले पुनः सत्ता कब्जा गर्दासम्म घानी नै राष्ट्रपति थिए।   

–हिष्ट्री च्यानलबाट अनुवादित