• २२ असार २०८१, शनिबार

म्यादी प्रहरीमा युवाको आकर्षण

blog

कलैया समाचारदाता 

बारा, असोज ७ गते । बारामा नौ हजार ४५२ जना युवाले बुधबारसम्म म्यादी प्रहरीमा आवेदन दिएका छन्। सरकारले समयमा रोजगारी सिर्जना नगर्दा बेरोजगारी समस्या बढ्दै गएकाले म्यादी प्रहरीमा बेरोजगार युवाको आकर्षण बढेको हो।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका इलाका प्रहरी कार्यालयमा बुधबार १३९ जना महिला र एक हजार १९० जना पुरुषले एकै दिन आवेदन दिएका हुन्। आउने मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनमा शान्ति सुरक्षाको लागि नेपाल प्रहरीबाट आह्वान भएको म्यादी प्रहरी भर्नामा आठवटै जिल्लाबाट बुधबारसम्म महिला, पुरुष गरी ५८ हजार ६८८ जनाले आवेदन दिएका छन्। यता बाराबाट दुई हजार २१५ महिला, सात हजार २३७ पुरुष गरी नौ हजार ४५२, पर्साबाट एक हजार १६१ महिला, पाँच हजार ३८७ पुरुष गरी छ हजार ५४८, रौतहटबाट एक हजार ७९ महिला, छ हजार ३८८ पुरुष गरी सात हजार ४६७, सर्लाहीबाट एक हजार ४५५ महिला, छ हजार २६५ पुरुष गरी सात हजार ७२० जना आवेदन दिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सूचना अधिकारी प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो। 

यस्तै सप्तरी जिल्लामा एक हजार ४८० महिला, छ हजार ५१२ पुरुष गरी सात हजार ९९२, सिरहा जिल्लामा एक हजार १९७ महिला, चार हजार ९२८ पुरुष गरी छ हजार १२५, धनुषा जिल्लामा एक हजार ३१ महिला, पाँच हजार ८६९ पुरुष गरी छ हजार नौ सय र महोत्तरी जिल्लामा एक हजार २३० महिला, पाँच हजार २५४ पुरुष गरी छ हजार ४८४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको उहाँले जानकारी दिनुभयो।

नेपाल प्रहरीको प्रधान कार्यालयबाट भदौको ३० गतेदेखि असोज ६ गतेसम्म म्यादी प्रहरीमा भर्ना हुन दरखास्त आह्वान गरेको तथा कुन जिल्लामा कति म्यादी राख्ने बारे केन्द्रले यकिन नगरेकाले भर्नाको मिति समाप्त भएपछि आवश्यकताअनुसार कुन जिल्लामा कति म्यादी प्रहरी राख्ने निर्णय हुने उहाँले बताउनुभयो।