• १३ साउन २०८१, आइतबार

पानी शुद्धीकरण गर्न ‘क्लोरिन ट्याङ्क’

blog

दोलखा समाचारदाता

चरीकोट, असोज ७ गते । दोलखाको शैलुङ र कालिञ्चोक गाउँपालिकामा निर्मित पाँचवटा खानेपानी योजनामा क्लोरिफम देखिएपछि क्लोरिन ट्याङ्क निर्माण गरी शुद्ध पानी वितरण गर्न थालिएको छ। 

वाटर एड नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च (सीडीएफ) दोलखाले सञ्चालन गरेको खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाले कालिञ्चोक गाउँपालिकामा करिब १७ लाख रुपियाँमा तीनवटा र शैलुङ गाउँपालिकामा आठ लाखभन्दा बढीको लगानीमा तीनवटा क्लोरिन ट्याङ्की निर्माण गरी पानी वितरण गरेको हो। 

परियोजनाले पहिलो र दोस्रो चरणमा पालिका, उपभोक्ता श्रमदान र वाटर एड नेपालको गरी १३ करोड ३१ लाख ८६ हजार रुपियाँको लागतमा खानेपानी आयोजना निर्माण गरेको छ। शैलुङ गाउँपालिकामा व्यक्तिगत ८१२, संस्थागत १६ र कालिञ्चोक गाउँपालिकामा व्यक्तिगत ७०३ र संस्थागत १२ गरी एक हजार ५४३ वटा धाराबाट छ हजार ६५५ घरपरिवार लाभान्वित भएका सीडीएफका निर्देशक प्रेमप्रसाद अधिकारीले जानकारी दिनुभयो। 

शैलुङ गाउँपालिका–४ स्थित मजुवा–निगाले खानेपानी तथा सरसफाइ योजना निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद ढुङ्गेलले घर–घरमा धारा जडान भएपछि स्थानीयको घण्टाँै लगाएर पानी लिन जानुपर्ने बाध्यता अब हटेको बताउनुभयो। उहाँका अनुसार वाटर एड नेपालको आर्थिक सहयोग र सीडीएफ दोलखाको समन्वयमा व्यक्तिगत ४४ र सामुदायिक दुईवटा धाराबाट लाभान्वित १५८ जना लाभान्वित भएका छन्।

वाटर एड नेपालको ३६ लाख दुई हजार ७१५, गाउँपालिकाको पाँच लाख ८० हजार २७९ र उपभोक्ता जनश्रमदान छ लाख ९४ हजार १०९ गरी ४८ लाख ७७ हजार १०३ रुपियाँ लगानी रहेको जानकारी दिँदै सीडीएफका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “आयोजनालाई दिगो, भरपर्दो र पारदर्शी बनाउन ५७ हजार रुपियाँको मर्मत कोष व्यवस्था गरिएको छ।” घरमै खानेपानीको धारा पुगेपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिएकोमा खुसी व्यक्त गर्दै उपभोक्ता चेतबहादुर नेपालले भन्नुभयो, ‘घरबाट टाढाको अर्बौं खोला भन्ने ठाउँको कुवाको पानी पिउनुपथ्र्यो।” 

लक्ष्मी नेपाल पूर्वस्मरण गर्दै भन्नुहुन्छ, “राति नै जाँदा पनि १० बजेतिर पालो आउँथ्यो कहिलेकाहीँ त। अन्तिमतिर धमिलो पानी पाइन्थ्यो। अहिले त घर–आँगनमै धारो छ। जति पानी प्रयोग गरे पनि हुन्छ।”