• १३ साउन २०८१, आइतबार

भीड थाम्न प्रशासनको टोकन

blog

कावासोती समाचारदाता

कावासोती, भदौ २९ गते । पूर्वीनवलपरासीमा राहदानी बनाउन आउनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली सुरु गरेको छ। वैदेशिक रोजगार र उच्चशिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन्। 

कोभिडका कारण रोकिएको विदेश भ्रमण यति बेला सहज रूपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको सङ्ख्या बढेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो।

चालू आर्थिक वर्षको सुरुवातदेखि नै राहदानी बनाउनेको सङ्ख्या ह्वात्तै बढेको छ। घिमिरेका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नौ हजार ६७५ जनाले राहदानी बनाएकोमा चालू आर्थिक वर्षको साउनसम्ममा दुई हजार ६८४ जनाले राहदानी बनाउन फाराम भरेका छन्। 

राहदानी बनाउन आउनेको सङ्ख्या बढेको तर बायोमेट्रिक गर्ने कर्मचारी र मेसिन पर्याप्त नहुँदा राहदानी पाउनका लागि लामो समय लाग्ने गरेको छ। यसैबीच राहदानीबाट मात्रै जिल्ला कार्यालयले गत एक वर्षमा मात्रै पाँच करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

गत आर्थिक वर्ष २०७८/७९ मा पाँच करोड एक लाख ३८ हजार पाँच सय राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो।