• १७ असार २०८१, सोमबार

तीर्थबहादुरलाई म्याराथन उपाधि

blog

गोरखा समाचारदाता

गोरखा, भदौ २६ गते । नेपाली सेनाका तीर्थबहादुर तामाङले शनिबार लिगलिगकोट सिरानचोक गोरखा दरबार म्याराथनको उपाधि जित्नुभएको छ। उहाँले ४० किलोमिटर लामो दौडमा ९२ जना प्रतिस्पर्धीलाई उछिन्ने क्रममा तीन घण्टा ११ मिनेट एक सेकेन्ड समय लगाउनुभयो।

भारतीय सेनामा कार्यरत अनिश थापामगर तीन घन्टा १२ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी दोस्रो हुनुभयो। नेपाली सेनाका मोहनदेव जोशी (तीन घण्टा १५ मिनेट १५ सेकेन्ड) तेस्रो हुनुभयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपियाँ पुरस्कार पाएका छन्। दसौँ नम्बरसम्मका खेलाडीलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

‘नेपालको उत्पत्तिदेखि जगसम्म्म’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दौड नेपालको उद्गम थलो पालुङटारको ऐतिहासिक लिगलिगकोटबाट सुरु भएको थियो। 

तत्कालीन समयमा एकीकरणका लागि प्रयोग भएको बाटोआसपास बनेको सडकलाई ट्र्याक बनाएर आँप–पीपल, सिरानचोकको हर्मी, चित्रेपोखरी, छोप्राक, चोरकाटे हुँदै गोरखा नगरपालिकाको छेवेटार, पस्लाङ, सतिपिल र गोरखा दरबारको हनुमाने चौतारामा पुगेर सकिएको हो। 

गोरखा राज्यको स्थापना भएपछि तत्काल लिगलिग राज्यका राजा द्रव्य शाहले विसं. १६१६ भदौ २५ गते गोरखाको पस्लाङ चौतारामा राज्याभिषेक गरेको इतिहास छ। सोही दिनको सन्दर्भ पारेर 

बर्सेनि दौड गर्ने आयोजकले बताएको छ। लिगलिगकोटमा दशैँको अवसरमा बर्सेनि दौड प्रतियोगिता हुँदै आएको छ।