• १३ पुस २०८१, शनिबार

पत्रकारको बीमा गराउने विषयमा सम्झौता

blog

मधेश प्रदेश सरकार र राष्ट्रिय बीमा कम्पनीविचमा पत्रकारको बीमा गराउने विषयमा शुत्रबार भएको सम्झौता कार्यक्रममा सहभागीहरु । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, पुष १२ गते । मधेश प्रदेशका पत्रकारलाई एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गर्ने विषयमा मधेश प्रदेश सरकार र राष्ट्रिय बीमा कम्पनीविचमा शुत्रबार सम्झौता भएको छ । 

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले मधेश प्रदेशको राजधानी जनकपुरधाममा मधेश प्रदेशका पत्रकारको सामुहिक दुर्घटना तथा औषधी उपचार (स्वास्थ्य) बीमा सम्झौता कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र राष्ट्रिय बीमा कम्पनीका बजार विभाग प्रमुख एवम व्यवस्थापक देवराज घिमिरेविचमा सम्झौता भएको हो । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालय मातहतका निकाय आम सञ्चार प्राधिकरण मधेश प्रदेशले प्रतिव्यक्ति स्वास्थ्य बीमाका लागि दुई हजार सातसय र दुर्घटना बीमाका लागि एक हजार दुईसय ७५ पैसागरी जम्मा तीन हजार सातसय दुई रुपियाँ प्रिमियम बीमा कम्पनीलाई बुझाउने कार्यक्रममा जानकारी गराइएको छ । 

कार्यक्रमलाई सम्बोधन गदै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले सञ्चारकर्मीको पीडा र कठिनाइ आफूले राम्ररी बुझेको कारण सञ्चारकर्मीको बीमा, सुरक्षा र सवलीकरणका लागि केही कामकाज अघि बढाएको बताउनुभयो । उहाँले देशको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतलाई सम्मान गर्नुपर्नेमा जोड दिदै पत्रकारलाई सम्मानका लागि समेत आफनो मन्त्रालयले छिटै कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामी निष्ठापूर्वक काम गर्न चाहन्छौ । त्यसमा सञ्चारकर्मीको साथ र सहयोग आवश्यक छ । तपाईहरु सहयोग गर्नुस् । पत्रकारजस्तै मधेश प्रदेशका शहिद परिवारलाई समेत बीमा कार्यक्रममा सहभागी गराउने मन्त्रालयले लक्ष्य लिएको छ ।’ 

कार्यक्रममा मधेश प्रदेशका प्रदेशसभा सदस्य एवम पत्रकार महासंघ धनुषाका पूर्व सभापति रामअशिष यादवले पत्रकारको योगदानका कारण देशमा संघीयता र गणतन्त्र आएको भन्दै राज्यले पत्रकारको हकहितका लागि सदैव तत्पर हुनुपर्नेमा जोड दिनुभयो ।

आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले प्राधिकरणले गत वर्ष १५० जना महिला पत्रकारको स्वास्थ्य बीमा गराएकोमा तीन जना पत्रकारले लाभ लिएको भन्दै यस वर्ष महिला र पुरुष गरी ७५० पत्रकारको स्वास्थ्य र दुर्घटना बीमा गराउने लक्ष्य आम सञ्चार प्राधिकरणको राखेको बताउनुभयो । 

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साहले बीमा कम्पनीहरुले सेवाग्राहीलाई लाभ दिने बेलामा प्रक्रिया नै असहज पार्ने गरेको भन्दै सुधारका लागि सम्बन्धित दुवै पक्षलाई आग्रह गर्नुभयो । राष्ट्रिय बीमा कम्पनीका बजार विभाग प्रमुख एवम व्यवस्थापक देवराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा बीमा कम्पनीका व्यवस्थापक निरञ्जन आर्चायले बीमा पोलिसीवारेमा जानकारी गराउनुभयो ।