• १० मंसिर २०८१, सोमबार

उत्तर कोरियामा नोभेम्बरबाट कोरोनाविरुद्ध खोप अभियान सुरु हुने

blog

सोल, भदौ २४ गते । उत्तर कोरियाले आगामी नोभेम्बरमा कोभिड–१९ विरुद्ध आफ्ना जनतालाई खोप दिने घोषणा गरेको छ । राज्यले भाइरसमाथि विजय भएको घोषणा गरेको करिब एक महिनापछि शुक्रबार राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले उक्त घोषणा भएको जनाएको हो ।

विश्वको मानचित्रबाट नै पृथक् रहेको भान हुने उत्तर कोरियाले महामारी सुरु भएदेखि पहिलो पटक आधिकारिक रूपमा खोपका लागि आफ्नो योजना घोषणा गरेको छ । ‘जिम्मेवार खोप प्रशासनका साथै, हामीले नोभेम्बरदेखि सबै नागरिकहरूले आफ्नो स्वास्थ्यको रक्षा गर्न मास्क लगाउन सिफारिस गर्नुपर्छ’ नेता किम जोङ उहाँले भन्नुभएको प्योङयाङको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसिएनए) ले जनाएको छ ।

केसिएनएले शुक्रबारको जारी गरेको प्रतिवेदनमा खोपहरू कहाँबाट आएको हो भन्ने विस्तृत विवरण नदिएको उल्लेख गरिएको छ । साइड इफेक्टको चिन्ताका कारण विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स् योजनाद्वारा व्यवस्था गरिएको एस्ट्राजेनिका खोप योजनाबद्ध ढुवानीलाई गतवर्ष सरकारले अस्वीकार गरेको थियो ।

महामारीको सुरुवातदेखि नै कडा नाकाबन्दी कायम गर्ने यस राष्ट्रको राजधानी प्योङयाङमा करिब चार महिना अगाडि नै ओमिक्रोन भेरियन्टको प्रकोप पुष्टि भएको थियो । यस प्रकोपको क्रममा नेता किमसमेत बिरामी पर्नुभएको थियो ।  गत महिना भाइरसमाथि विजयको घोषणा गरेको र आधिकारिक रूपमा दर्ता भएका केसहरू शून्यमा झरेको बताइएको  थियो  ।

उत्तर कोरियाले आफ्ना दुई करोड २० लाख जनसङ्ख्यामध्ये कसैलाई पनि खोप नलगाएको विश्वास गरिएको छ ।  सोलको एनके न्युजले  प्योङयाङले आफ्नो प्रमुख सहयोगी चीनबाट केही खोप प्राप्त गरेको हुन सक्ने जनाएको छ । उत्तर कोरियाले कोभिड बिरामीहरूलाई ज्वरोका बिरामी बताउने गरेको थियो । रासस/एएफपी