• २१ पुस २०८१, आइतबार

नौ किलोमिटरको भाडा एक हजार

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ २४ गते । राष्ट्रिय सडक सञ्जालमा जोडिएको दक्षिणी हुम्लामा नौ किलोमिटर सडकमा मोटरसाइकल चढेको एक हजार रुपियाँ भाडा लिने गरेको पाइएको छ। सर्केगार्ड गाउँपालिकाको केन्द्रदेखि चङ्खेली गाउँपालिकाको सलीसल्लासम्म यात्रुले मोटरसाइकल चढ्दा उक्त भाडादर तिर्नुपरेको छ। मोटरसाइकलवालाले आफूले तोकेको भाडा नदिए नजाने जवाफ दिने हुँदा यात्रुले बाध्य भएर चर्को भाडा तिर्नुपरेको हो।

सर्केगार्डबाट सलीसल्लासम्म मोटरसाइकलमा यात्रा गर्नुभएका यात्रु पवन बुढाले मोटरसाइकलवालाले मनलाग्दी भाडा लिने गरेको बताउनुुभयो। जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकबाट निर्णय गरी उक्त सडकखण्डको भाडादर प्रतियात्रु ८० रुपियाँ सिफारिस गरेर पठाएको थियो। उहाँले सडक निर्माण भएपछि यात्रुहरू हतारका बेला जति पनि भाडा तिर्न बाध्य हुने गरेको बताउनुभयो। 

यता सर्केगार्डबाट दुल्लीकुना र स्याल्तडीसम्म पनि सात किलोमिटरकै एक हजार रुपियाँ लिने गरेका छन्। उहाँले गाउँपालिका र सुरक्षाकर्मीबाट अनुगमनसमेत नहुने भएपछि मोटरसाइकलवालाले जथाभावी भाडा लिने गरेको बताउनुभयो। हाल मोटरसाइकलवालाको दैनिक कमाइ १५ हजार रुपियाँसम्म हुने गरेको पाइएको छ। अहिले सर्केगार्डमा १५ वटा मोटरसाइकलले चर्को भाडा लिएर यात्रु बोक्दै आएका छन्। यस्तै सलीसल्लादेखि ताँजकोटसम्मको ३९ किलोमिटर यात्रा गर्दा २० हजार रुपियाँसम्म भाडा लिने गरेको सो गाउँपालिकाका स्थानीय जङ्गबहादुर शाहीले बताउनुभयो।

यसरी चर्को भाडा तिर्नुपरेको उजुरी कसैले पनि नदिने र मोटरसाइकलमा आफ्नै मान्छे पछाडि राख्न सकिने भएका कारण जाँच गर्न कठिन भएको प्रहरीले बताएको छ। ती मोटरसाइकल सर्केगार्ड दुल्ली कुना, सर्केगार्ड, सलीसल्ला, पिप्लाङ, सलीसल्ला बालुकुना, अदानचुली, दोमुख, पैमा, कवाडी र बाजुराको कोल्टीसम्म सञ्चालन हुने गरेका छन्। अन्य यातायात नियमित सञ्चालन नहुने भएका कारण मोटरसाइकलमा महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ।