• २३ पुस २०८१, मङ्गलबार

भारतीय सेनाध्यक्ष पांडे स्वदेश फिर्ता

blog

भारतका स्थल सेनाध्यक्ष मनोज पांडेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्की । तस्बिर नेपाली सेना

काठमाडौं, भदौ २३ गते । भारतका स्थल सेनाध्यक्ष मनोज पांडे पाँच दिने नेपाल भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्किनुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाण्डे आइतबार पाँच दिने नेपाल भ्रमणका लागि नेपाल आउनुभएको थियो ।  उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीलगायतले बिहीबार बिदाई गर्नु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जनाएको छ । 

नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग भेटवार्ता गर्नुभएको थियो । भदौ २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पांडेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो । 

सोमबार बिहान भद्रकालीस्थित जङ्गी अड्डामा दुई देशका सैनिक प्रमुखबीच भेटवार्ता भएको थियो ।  प्रधानसेनापति शर्मालाई भेट्नुअघि सेनाध्यक्ष पांडेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । पांडेले  शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्डको समेत भ्रमण गर्नु भएको थियो ।