• १३ साउन २०८१, आइतबार

प्रदेश सभाका साढे चार वर्ष

अधिकांश सदस्य बैठकमा अनियमित

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, भदौ २३ गते । कर्णाली प्रदेश सभा बैठकको साढे चार वर्षको अवधिको दसौं अधिवेशन अवधिसम्म २१५ वटा बैठक बसेको छ। प्रदेश सभाका अधिकांश बैठकमा प्रदेश सभा सदस्य चाहिँ प्रायः नियमित देखिएनन्।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङका अनुसार यस अवधिमा सबैभन्दा बढी बैठकमा अनुपस्थित पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही हुनुभयो। प्रदेश सभाको बैठक २१५ दिन बस्दा ९७ दिन मात्रै शाही बैठकमा उपस्थित हुनुभएको थियो।

सबैभन्दा बढी बैठकमा उपस्थित हुने प्रदेश सभा सदस्य नेकपा (एमाले)का राजु नेपाली हुनुहुन्छ। उहाँले २१० दिन बैठकमा उपस्थित हुनुभएको थियो। हालका मुख्यमन्त्री जीवनबहादुर शाही यस अवधिमा १७७ दिन उपस्थित हुनुभएको छ। नेपाली कांग्रेस संसदीय दलको नेतासमेत रहनुभएका उहाँ मुख्यमन्त्री बन्नुअघि प्रमुख प्रतिपक्ष दलको नेताको भूमिकामा हुनुहुन्थ्यो। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल १७२ दिन प्रदेश सभा बैठकमा उपस्थित हुनुभएको छ। संसदमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ। प्रतिपक्ष दलकै प्रदेश सभा सदस्यको उपस्थित पनि कमै छ।  नेकपा (एमाले)का प्रमुख सचेतकसमेत रहनुभएका प्रदेश सभा सदस्य गुलाबजङ्ग शाह १९६ दिन उपस्थित हुनुभएको छ। 

यस्तै प्रदेश सभा सदस्य सुशीला शाही १८७ दिन उपस्थित हुनुभएको छ। उहाँ राप्रपाकी एक्ली प्रदेश सभा सदस्य हुनुहुन्छ।  प्रदेश सभामा दुई सय दिनभन्दा बढी उपस्थित हुने तीन जना प्रदेश सभा सदस्य  छन्।

नेपाली कांग्रेसका सचेतकसमेत रहनुभएकी अमृता शाही २०८ दिन, पूर्वमन्त्री तथा माओवादी केन्द्रका प्रमुख सचेतकसमेत रहनुभएका प्रदेश सभा सदस्य गोपाल शर्मा १४७ दिन बैठकमा उपस्थित हुनुभएको छ। प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री र मन्त्रीहरूले प्रदेश सभाको बैठकभन्दा पार्टीका बैठक, प्रशिक्षण, अन्य कार्यक्रमलाई प्राथमिकता दिएका कारण बैठकमा न्यून उपस्थित भएको पाइन्छ। प्रदेश सभा र सरकारका काममा भन्दा पनि उद्घाटन कार्यक्रम र पार्टीका कार्यक्रममा बढी सहभागी हुने गरेको भन्दै आलोचना हुँदै आएको छ। राजनीतिक विश्लेषक अर्जुनबहादुर ऐडीले प्रदेश सभा सदस्यहरू नीतिगत छलफललाई प्राथमिकता दिनेभन्दा पनि विकासे कार्यकर्ताका रूपमा प्रस्तुत भएको टिप्पणी गर्नुहुन्छ।

उहाँले भन्नुभयो, “प्रदेश सभाका सदस्यले प्रदेश सभाको मर्म बुझिदिनुभएन तथा प्राथमिकतामा राख्नुभएन भन्ने लाग्छ। प्रदेश सभा कसरी चलाउने भनेर सबै जिम्मेवार हुनुपर्ने थियो। सोहीअनुसार वास्ता नगरेको देखियो। प्रदेश सभाका सदस्यहरूमा जनताको प्रतिनिधिभन्दा पनि सांसद बन्न र मन्त्री बन्ने जागिरे मानसिकता देखियो।” 

उहाँले उद्घाटनलगायतका कार्यक्रममा गइरहँदा जनतासँग नजिक हुन र आफ्नो राजनीतिक भविष्यलाई सुरक्षित राख्नलाई सहयोग पुग्ने भएकाले सांसदले बाहिरका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो।