• ११ पुस २०८१, बिहिबार

दिवा खाजाले विद्यार्थी नियमित

blog

कालीकोट समाचारदाता

कालीकोट, भदौ २३ गते । सरकारी विद्यालयमा घट्दो विद्यार्थी सङ्ख्यालाई रोक्न सरकारले आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम ल्याएको छ। साना बालबालिका विद्यालयमा भर्ना भई नियमित पढ्न आएबापत दैनिक २० रुपियाँका दरले खाजा रकम उपलब्ध गराउने वा विद्यालयमै खाजा खुवाउने गरिएपछि भर्ना दर बढेको पाइएको छ। खाजाले विद्यालयमा भर्ना मात्र होइन नियमित पनि हुन थालेका छन्।

शुभकालिका गाउँपालिका–२, सालडाँडा आधारभूत विद्यालयमा दिवा खाजा सुरु भएदेखि विद्यार्थी पनि नियमित आउन थालेका छन्। विद्यालयका प्रधानाध्यापक प्रेमध्वज चौलागाईंले खाजा सुरु भएसँगै भर्ना दर विस्तारै बढ्दै गएको बताउनुभयो। पैसा दिँदा पनि विद्यार्थी नियमित रूपमा विद्यालय नआएपछि विद्यालयमै खाजा खुवाउन सुरु गरेको र यसपछि मात्र विद्यार्थी सहभागिता ९५ प्रतिशतले बढेको जानकारी दिनुभयो। सालडाँडा आधारभूत विद्यालय कक्षा ६ सम्म सञ्चालनमा छ। त्यहाँ अहिले २५० जना विद्यार्थी सङ्ख्या छ। यसमा खाजाका कारण करिब २३० जनाभन्दा बढी विद्याथी नियमित हुने गरेको प्रअ चौलागाईंको भनाइ छ।

रास्कोट नगरपालिका–२ को मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद बरालले पनि विद्यालयमै खाजा खुवाउन सुरु गरेदेखि विद्यार्थी नियमित हाजिर हुन थालेको बताउनुभयो।

खाँडाचक्र नगरपालिका शिक्षा शाखा प्रमुख जसिप्रसाद चौलागाईंले यो कार्यक्रम जिल्ला शिक्षा कार्यालयकै पहलमा अघि बढेको र यसको प्रभाव राम्रो भएको बताउनुभयो। उहाँले आफू जिल्ला शिक्षा कार्यालयमा हुँदा अनुगमनमा सबैभन्दा राम्रो यही खाजा कार्यक्रम रहेको बताउँदैै विद्यालयमा दरबन्दी कम र माथिल्लो तह सञ्चालन गर्दा खाजाबापतको रकम शिक्षकको तलब भत्तामा जाँदा सोचेअनुसारको प्रतिफल नआएको जानकारी दिनुभयो।