• २८ पुस २०८१, आइतबार

कर्मचारीलाई प्रधानमन्त्रीको प्रश्न

यो देशको दुर्गतिमा जिम्मेवार को ?

blog

निजामती सेवा दिवस मूल समारोह समितिका अध्यक्षज्यू, माननीय मन्त्रीज्यू, संवैधानिक निकायका प्रमुखज्यूहरू, राष्ट्रसेवक कर्मचारीज्यूहरू र पत्रकार मित्रहरू,

सर्वप्रथम आज सुरुमा बोल्ने मित्रहरूले जे प्रश्न उठाउनुभएको छ, त्यसमा मात्रै कुरा गर्न चाहन्छु । बेलायतमा एउटा सिरियल थियो कर्मचारीका सम्बन्धमा, एस मिनिस्टर भन्ने । ‘हस् मन्त्रीज्यू’ भन्ने, काम गर्दै नगर्ने । काम त गर्नुप-यो नि । जबसम्म कर्मचारीले सहयोग गर्दैनन्, तबसम्म काम हुँदैन । यो सत्य कुरा हो । स्थायी सरकार हो, कर्मचारी । आवधिक निर्वाचन हुन्छ । हामी अस्थायी हौँ । जनताले भोट दिए जित्छन्, नदिए हार्छन् । 

निजामती कर्मचारी सधैँ रहनुहुन्छ । एक पटक सरकारी सेवामा प्रवेश गरेपछि तपाईंहरू सेवानिवृत्त नभइन्जेल रहनुहुन्छ नि । तपाईंहरूको कुनै दायित्व छैन देशप्रति ? को हो यस देशको दुर्गतिको जिम्मेवार ? आउनुस्, छलफल गरौँ । राजनीतिज्ञ मात्रै हो कि, कर्मचारीतन्त्र पनि हो ? किन काम भइरहेको छैन आज यहाँ ? व्यापक छलफल गरौँ । 

हामी पाँच वर्षलाई आउने हो । हारे हा-यो, जिते काम गर्ने हो । तपाईंहरू त सेवानिवृत्त नभइन्जेल हुनुहुन्छ नि । कहीँ कामै भएको छैन । बेहाल छ देशको । यसमा व्यापक छलफल हुन जरुरी छ । बजेटले बाटो बन्दैन । कर्मचारी जाँदैनन् । बाटो बने पनि सय दिनमा भत्किइहाल्छ । कर्मचारी बस्दै बस्दैनन् । त्यसको समाधान हुनुपर्छ । यो दुर्गतिको को हो जिम्मेवार ? केही काम भएको छैन । एउटा बाटो २५ वर्षदेखि बनिरहेको छ, अझै टुङ्गिएको छैन । बाटो बनाउने कसले हो, हामीलाई थाहा पनि छैन ! इन्जिनियरले बनाउने हो । पैसा पुगेन भने दिन तयारै छ सरकार । देशभरि त्यस्तै अवस्था छ । त्यसो हुनाले यसमा व्यापक छलफल जरुरी छ । राजनीतिज्ञहरूलाई मात्र दोष दिएर केही हुनेवाला छैन । जबसम्म कर्मचारीतन्त्रको सहयोग हुँदैन, तबसम्म देश अगाडि बढ्नै सक्दैन । त्यसो हुनाले ‘एस मिनिस्टर’ भनेर काम हुनेवाला छैन यहाँ । 

कर्मचारीतन्त्र स्थानीय तहसम्म छ । स्थानीय तहमा कर्मचारीतन्त्र छ, प्रदेशमा छ, केन्द्रीय कर्मचारीतन्त्र छ, खोइ ? तै पनि काम भएको छैन ! को हो जिम्मेवार यसको ? त्यस भएको हुनाले यसमा व्यापक छलफल गरौँ । स्थायी सरकार हो तपाईं कर्मचारीहरू । स्थायी सरकारले नै काम गर्दैन त के गर्ने ? कहाँबाट देश अगाडि बढ्न सक्छ ? सरकारले हस्तक्षेप ग-या छ ? खुलेर आउनुस् न कहाँ ग-या छ ? के ग-या छ ? त्यसमा सहयोग गर्न म तयार छु । एउटा कुरा ध्यान दिनुप-यो, महत्त्वपूर्ण कुरा उठाउनुभयो, त्यसैमा जान चाहन्छु । अहिलेको महत्त्वपूर्ण कुरा यो राष्ट्रको हित हो । 

मन्त्रीजीले पनि स्थानीय तहमा ब्युरोक्रेसी छैन भन्नुभयो, त्यहाँ पनि कर्मचारीतन्त्र चाहिएको छ उहाँलाई । नेपालको पैसा केमा बढ्ता खर्च छ ? यति सरकार भइसके, ठाउँठाउँमा (स्थानीय तह, प्रदेश र सङ्घ), पैसै तिर्न सकिँदैन, कहाँबाट पैसा ल्याउने ? 

पैसा आम्दानी हुनुप-यो नि, पैसा छैन । कति विदेशबाट ऋण माग्ने ? कर्मचारीको तलब दिनलाई पनि विदेशबाट पैसा माग्नुपर्ने अवस्था भइसक्यो । काम त हुनुप-यो नि, आम्दानी हुनुप-यो नि देशको । त्यसो हुनाले अहिलेको महत्त्वपूर्ण कुरा भनेको कर्मचारीतन्त्रको सहयोग नभई कुनै पनि देश अघि बढ्न सक्दैन भन्ने हो । अमेरिकामा ह्वाइट हाउसले कर्मचारीतन्त्रमा प्रभावकारी नियन्त्रण गर्छ, बेलायतमा क्याबिनेट नियन्त्रित हुन्छ । त्यसकारण कर्मचारीतन्त्रको ठूलो भूमिका हुन्छ । पहिलो सम्पर्कबिन्दु नै कर्मचारीतन्त्र हो, जुन देशको पनि । राजनीतिज्ञले के गर्छ ? काम गर्ने कर्मचारीले हो । 

जनताको काम गर्ने सवालमा 

‘फस्र्ट कन्ट्याक्ट पोइन्ट’ कर्मचारीतन्त्र हो नि, कर्मचारीले गरेन भने कहाँ देश बन्छ ? कर्मचारीतन्त्र जिम्मेवार छ कि छैन देशमा ? कर्मचारीतन्त्रले जबसम्म ड्राइभ गर्दैन, अघि बढ्दैन, तबसम्म कुनै देश अगाडि बढेको छैन । धेरै बोल्नु छैन आज । महत्त्वपूर्ण कुराहरू उठाइदिनुभयो र मैले बोल्ने मौका पाएँ, धन्यवाद दिन चाहन्छु र व्यापक छलफल गरेर देश त बनाउनुप-यो नि । बन्नै सक्दैन भनेर देशको दुर्गति बनाउने हो ? काम त गर्नुप-यो नि । 

दुर्गममा कर्मचारी बस्दैनन् । इन्जिनियर छैनन् । ओभरसियर छैनन् । अर्को कर्मचारी छैनन्, अनि कहाँबाट हुन्छ ? प्रमुख जिल्ला अधिकारी पनि कहिलेकाहीँ जान्छन्, बीचैमा फर्किएर आइहाल्छन्, काम गर्दैनन् । त्यस्तो अवस्था छ । त्यसो भएकाले यो विषयमा व्यापक छलफल हुनुपर्छ । कर्मचारीलाई देशको चिन्ता हुनुप¥यो, हामीलाई पनि चिन्ता छ । जनताले भोट दिएर पत्याए हामी आउने हो, नत्र हामी गइहाल्छौँ । सम्हाल्ने कर्मचारीतन्त्रले नै हो । देश नै कर्मचारीतन्त्रको हातमा छ । त्यसो भएकाले म अनुरोध गर्न चाहन्छु, तपाईंहरू आफ्नो कामलाई ध्यान दिनुहोस् । आफ्नो अन्तरहृदयबाट काम गर्नुहोस् । 

तपाईंहरूको काम उदाहरणीय भए देश अघि बढ्छ । त्यसका लागि के–के सुविधा चाहियो भन्नुस्, हामी गर्न तयार छौँ तर कर्मचारीतन्त्र अघि बढ्नैपर्छ, काम गर्नैपर्छ । यही कुरा तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु । 

धन्यवाद ! जय नेपाल !

(प्रधानमन्त्री शेरबहादुर देउवाले १९औँ निजामती कर्मचारी दिवसका अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई गर्नुभएको सम्बोधन ।)