• १३ साउन २०८१, आइतबार

बियर माल्ट आयातमा तीन गुनाले वृद्धि

blog

जानु पाण्डे

कपिलवस्तु, भदौ २२ गते । खाद्यान्न र बियर बनाउने माल्टको आयात बढेसँगै कृष्णनगर भन्सार कार्यालय हुँदै नेपाल आयातमा रकम वृद्धि भएको छ । कृष्णनगर भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार चामल, फलफूल, कोइला, बियरका खाली बोतल, बियर माल्ट (बियर बनाउने कच्चा पदार्थ) को आयातमा अत्यधिक वृद्धि भएको बताउनुभयो । 

कार्यालय प्रमुख पौडेलका अनुसार बियर माल्ट आयात २७५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा ८१ करोड २७ लाख ६७ हजार रुपियाँको बियर माल्ट आयात भएको थियो । त्योभन्दा अघिल्लो वर्ष २१ करोड ६८ लाख ३१ हजार रुपियाँको आयात भएको थियो । यसैगरी बियरको खाली बोतल आयात १२० प्रतिशतले बढेको छ । 

गत आर्थिक वर्षमा १ अर्ब २० करोड ३४ लाख १ हजार रुपियाँको बोतल आयात भएको थियो । त्योभन्दा अघिल्लो वर्ष ५४ करोड ५६ लाख ५१ हजार रुपियाँको बोतल आयात गरिएको थियो । यता फलाम बनाउने कच्चा पदार्थ, कोइलाको खरानी, जिप्सम (सिमेन्ट बनाउन प्रयोग गरिने कच्चा पदार्थ) को आयात भने घटेको छ । 

आर्थिक वर्ष २०७८–७९ मा भन्सार हुँदै ६ अर्ब ३३ करोड १ लाख ४६ हजार रुपियाँको चामल आयात भएको थियो । अघिल्लो वर्षभन्दा ७८ प्रतिशतले चामल आयात बढेको छ । आ.व. २०७७–७८ मा ३ अर्ब ५४ करोड ६३ लाख २० हजार रुपियाँको चामल आयात भएको थियो । गत आर्थिक वर्षमा २ अर्ब ९६ करोड ५० लाख ३५ हजार रुपियाँको फलफूल निर्यात भएको थियो । सो रकम अघिल्लो आ.व. भन्दा ४६ करोड ९७ लाख १३ हजार रुपियाँले बढी हो ।

समग्रमा गत आर्थिक वर्षमा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयको आयात ९.५ प्रतिशतले बढेको छ । कार्यालयबाट गत आर्थिक वर्षमा २६ अर्ब ८१ करोड ३८ लाख ९४ हजार ५५ रुपियाँको सामग्री आयात भएको छ । आ.व. २०७७–७८ मा २४ अर्ब ४९ करोड ९ लाख ९ हजार २८८ रुपियाँको आयात भएको थियो । यसैगरी गत वर्ष निर्यातमा ६५ प्रतिशतले बढोत्तरी भएको छ । 

प्लाइउड, रोजिन र काठले बनेका सामग्रीको निर्यात बढेको कार्यालयले जनाएको छ । कार्यालयले ५ अर्ब ४३ करोड ४४ लाख ३७ हजार राजस्व असुली गरेको थियो । गत वर्षभन्दा १६ करोड ३८ लाख ८१ हजार बढी राजस्व असुली गरेको कार्यालयले जनाएको छ ।