• २४ पुस २०८१, बुधबार

दक्षिण कोरिया, भारत र पाकिस्तानमा कोरोना सङ्क्रमित घट्दै

blog

सोल, भदौ २२ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनीय रुपमा घटेको छैन । 

मङ्गलबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार यस देशमा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । यद्यपी सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार ८३७ जना नयाँ सङ्क्रमित थपिएका थिए । सोमबारको तुलनामा मङ्गलबार सङ्क्रमित घटेका छन् ।   

हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३७ लाख ९१ हजार ९६१ पुगेको स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका छन् ।

मङ्गलबार कोरोना सङ्क्रमणको कारण ४६ जनाको मृत्यु भएसँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार २४९ पुगेको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन ।

यसैबीच भारतमा एकै दिनमा पाँच हजारभन्दा बढी कोरोना सङ्क्रमित भएका छन् । यहाँ २४ घण्टाको समयावधि अर्थात् मङ्गलबार मध्यरातिसम्म पाँच हजार ३७९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४४ लाख ७२ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात् आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा चार हजार ४१७  जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमित ५० हजार ५९४ जना छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

चौबीस घण्टाको समयावधि अर्थात् मङ्गलबार मध्यरात कोरोना सङ्क्रमणबाट भारतमा २७ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २८ हजार ५७ जनाको मृत्यु भएको छ ।

भारतमा हिजो एक दिनमा सात हजार ९४ जना कोरोनामुक्त भएका छन् । यसैसँगै कुल चार करोड ३८ लाख ९३ हजार ५९० जना कोरोनामुक्त भएका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। । सो समयबाट हालसम्म दुई अर्ब १४ करोडभन्दा बढी मात्रा खोप लगाइएको छ ।

भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ७० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । यसैबीच भारतको छिमेकी देश पाकिस्तानमा मङ्गलबार थप एक सय  ५८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

यसैसँगै पाकिस्तानमा १५ लाख ७० हजार चार सय ६२ जना कोरोना कुल सङ्क्रमित भएका छन् । पाकिस्तानमा मङ्गलबार कोरोना सङ्क्रमणको कारण १०५ जनाको मृत्यु भएको छ । कोरोना सुरु भएयता पाकिस्तानमा ३० हजार ५९४ जनाले ज्यान गुमाएका छन् । रासस/सिन्ह्वा