• ११ मंसिर २०८१, मङ्गलबार

छोराको आशामा चौध छोरी

blog

रजनी योगी 

सुर्खेत, भदौ २० गते । दैलेखको दुल्लु नगरपालिका–३ का अम्मरबहादुर बुढा ५० वर्षको हुनुभयो। उहाँ श्रीमतीभन्दा पाँच वर्ष जेठो हुनुहुन्छ। उहाँहरूको विवाह भएको तीन दशकभन्दा बढी भयो। यो बीचमा उहाँहरूका १४ सन्तान जन्मिए।

छोरी धेरै जन्मनुका कारण छोराको आशा र आफन्तको दबाब नै थियो। उहाँहरूलाई थोरै सन्तान भए जीवन सहज हुन्छ भन्ने थाहा नभएको पनि होइन तर छिमेकी र समाजले बाँझो, अपुतोजस्ता खिन्न लाग्ने शब्द सुन्नबाट बच्न उहाँहरूले १४ सन्तान जन्माइसक्नुभएको छ। 

उहाँहरूका जन्मिएका सबै छोरी बाँचेनन्। चौधमध्ये नौ छोरी मात्र जीवितै छन्। आमा इन्द्रकला बुढा भन्नुहुन्छ, “मैले धेरै दुःख भोग्नुप-यो। श्रीमान्को साथ पाइनँ। छिमेकीको अपहेलना सहिरहेँ। श्रीमान्को दिनहुँको कुटाइ बर्सेनि सन्तान जन्माउनुपर्ने, कसैको साथ पाइएन, अपहेलनाबाहेक। छिमेकीले श्रीमान्लाई उक्साएर मारपिट गर्न लगाउँथे।” 

उहाँ भन्नुहुन्छ, “सन्तानका रूपमा चौध छोरी जन्मिए तर सबैलाई जीवित राख्न सकिएन। अशिक्षा, गरिबी, चेतनास्तरका कमीका कारण धेरै दुःख झेल्नुप-यो। केही सन्तान अकालमै गुमाउनुप-यो।” धेरै पटक श्रीमान्ले गाउँलेको उक्साहटमा दोस्रो विवाह गर्ने सुर गर्नुभयो तर घरमा ल्याउने वातावरण थिएन। मजदुरी गरेको पैसा श्रीमान्ले जाँडरक्सी खाएर सिध्याउने गर्नुहुन्थ्यो। मेलापात, मजदुरी गरेर छोरी हुर्काएको उहाँको अनुभव छ। छवटी छोरी सबैको बालविवाह भयो। घरको आर्थिक स्थिति नाजुक हुँदा विद्यालयको अनुभव गर्न पाएनन् । इन्द्रकला शारीरिक मानसिक रूपमा अशक्त भइसक्नुभयो। 

बर्सेनि जस्तो परिवारमा खाने मुख र पेट बढ्ने तर आम्दानीको स्रोत जस्ताको तस्तै हुँदा उहाँहरू सङ्कटमा हुनुहुन्छ। पोषणयुक्त खानपान नहुँदा आमा र छोरीहरू कमजोर हुनुहुन्छ। अहिले उहाँको साथमा चार छोरी हुनुहुन्छ। बाँकी चार छोरी जन्मनेबित्तिकै बितेका हुन्। उहाँकी जेठी छोरी २८ वर्षकी हुनुभयो भने कान्छी तीन वर्षकी। जेठी छोरीको बिहावारी भई चार सन्तान भइसकेका छन्। यी दम्पतीले छोराको आशामा के मात्रै गरेनन् ? धार्मिक परम्पराअनुसार देवीदेवता, पूजापाठ, ज्योतिषसँग मन्त्र जपाए। 

छोराकै आशामा दम्पतीले अहिलेसम्म परिवार नियोजनको अस्थायी तथा स्थायी साधन प्रयोग गरेका छैनन्। उहाँहरूका छोरीहरू शिक्षाबाट वञ्चित मात्र भएनन् बालविवाहमा समेत परे। घरमा रहेका बाँकी चार छोरी भने घर नजिकैको सामुदायिक विद्यालयमा पढ्न जान्छन्। उहाँहरूको घर चलाउने मुख्य पेसा कृषि हो। खेतीपाती उब्जनी र मजदुरी गरेर परिवार पालिएको छ।