• १३ पुस २०८१, शनिबार

प्रमुख साहबाट एक सय दिने कार्यकालको सम्झना (पूर्णपाठसहित)

महानगरका समस्याको दिगो समाधान नभए अन्यत्र मोडिदैनौँ : प्रमुख साह

blog

काठमाडौं, भदौ १९ गते । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले महानगरका समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको बताउनुभएको छ । आइतबार महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिनको अवधिमा नागरिकलाई आसा जगाउने कामको सुरुवात गरेको बताउनुभएको छ ।

प्रमुख साहले आफ्नो विगत सय दिनको कार्यकाल कस्तो रह्यो भन्ने बारेमा आफैँले मूल्याङ्कन गर्नेभन्दा पनि आम मानिसले कसरी हेर्नु भयो भन्ने बढी अर्थपूर्ण हुने बताउनुभयाे ।

उहाँले अहिले सय दिनको दौरानमा रहे पनि आफूसँग पाँच वर्षका लागि योजना रहेको जानकारी दिनुभयो । अझै केही समय गाली र आलोचना मात्रै सहन तयार रहेको  बताउनुहुँदै उहाँले हतार गरेर महानगरका समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको सुनाउनुभयो ।  

अवैध संरचना हटाउने कामका कामपा निरन्तर लागिरहेको स्मरण गर्दै प्रमुख साहले भन्नुभयो, “जुन प्रयोजनका लागि उपयोग गर्ने निर्माण भएको छ त्यहीँ रूपमा प्रयोग हुनुपर्छ, हामीले चाहेको यति मात्रै हो, कुनै पनि सर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ, फुटपाथ हटाएको सन्दर्भ वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहीँ गर्यो, फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रीका लागि हो, सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ, महानगरले पहिले फुटपाथका व्यापारीलाई अन्यत्र राखेर खुल्ला गर्ने कोसिस गरेको थियो, जुन पूर्णरुपमा असफल भयो ।”

फुटपाथ हटाएको प्रभाव बानेश्वर तथा असनलगायत क्षेत्रमा सकारात्मक रूपमा देखिन थालेको उहाँको भनाइ छ । ई–स्पोर्टसका लागि लागि एक करोड  रुपियाँ बजेट छुट्याइएको उहाँले बताउनुभयो ।

फोहोर व्यवस्थापनको सवालमा आशा गरे जति काम हुन नसके पनि झण्डै दुई दशकदेखि कुहिएर रहेको समस्यालाई सतहमा ल्याउन सफल भएको भन्दै प्रमुख साहले त्यसबाट वास्तविक समस्याको पहिचान गरी दिगो समाधानका उपाय खोज्न सकिने बताउनुभयो ।

प्रमुख साहले भनाइको पूर्णपाठ

हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौँ । त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरूमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरू गर्‍यौँ भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौँ । यसैले एक सय दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केही सन्दर्भहरू सम्झिन जायज हुनेछ भन्ने लाग्छ ।

१) फुटपाथबाट मकैको ठेला हटाएको

यो सन्दर्भले अझै पनि सही, वास्तवमा के हो भन्ने एक किसिमको धर्मसङ्कट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मकता मात्रै भएर हुन्न । फुटपाथको आधारभूत निर्माण नै पैदल यात्रीहरूका लागि हो । सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरूलाई अन्यत्र राखेर खुल्ला गर्ने कोसिस गरेको थियो । जुन पूर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुनः फुटपाथमा नयाँ व्यापारीहरू आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यही गरियो र गरिँदैछ । यदि हामी महानगरमा नभएर सङ्घीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । यो भन्दा अलग किसिमले राष्ट्रिय स्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यही ग¥यौ । जसको नतिजा बानेश्वर तथा असनलगायतका क्षेत्रहरूमा सकारात्मक रूपमा देखिन थालेको छ ।

२) ई–स्पोर्टसका लागि लागि एक करोड

गीत गाउने, नाच्ने जस्ता कलाकारहरूप्रति केही पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरूका लागि त सम्मान भन्दा पनि अप्ठ्यारा बढी थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि, यस्ता विषयसँग सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । ई–स्पोर्टस पनि खेलका रूपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको विषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसात गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुटायौँ । बजेट छुट्ट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरूले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरू फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भएपछि हामीले बजेट छुटाउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।


३) यमबुद्धको सालिक

एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा ईस्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप सङ्गीतमा नयाँ विद्या हो । यमबुद्ध सो विद्याका लागि अत्यन्तै सम्मानित नाम हो । आफू त्यो विद्या नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भूमिका हुनुपर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरैभन्दा धेरै पारदर्शिता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केही फेरबदल गर्‍यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठूलो सङ्ख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ ।


४) कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन

मान्छे एउटै जीवनभित्र फरक फरक भूमिकामा हुन्छ । म कार्यालयमा प्रमुख भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रूपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरूसँग जिस्किँदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक ठाउँमा एकसँग अर्को भूमिका विपरीत हुनु पर्ने पनि हुन सक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनिक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरूले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।


५) फोहोर व्यवस्थापनमा ढिलाइ

यसमा के स्विकार्नु पर्दछ भने १०० दिन भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ । हुबहु हुन सकेन । तर झण्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरूको पहिचान भएर दिगो समाधानका योजनाहरू बनाउन सक्ने भएका छौँ ।


६) नर्भिकलगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा

जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यही रूपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि सर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्ति सामु चर्का स्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज सम्बन्धित ठाउँसम्म पु¥याउने सेतुका रूपमा मात्रै हामीले ती कार्यहरू गरेका छौँ । सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यही हो ।


अन्त्यमा, हामी एक सय दिनको दौडमा छैनौँ । हामीसँग ५ वर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।