• १३ साउन २०८१, आइतबार

निर्वाचन पछि पनि गठबन्धन रहन्छ : मन्त्री राई

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई आइतबार नेपालगञ्जमा आयोजित कार्यकर्ता भेटघाटमा । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, भदौ १९ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले लोकतन्त्र र कानुनी शासनको रक्षाका लागि सत्तारुढ गठबन्धन बनेकाले निर्वाचनपछि पनि गठबन्धनले निरन्तरता पाउने बताउनुभएको छ । 

“पाँच दलीय गठबन्धनको शीर्ष नेतृत्व आगामी निर्वाचनको सिट बाँडफाँटमा सहमति नजिक छ” आइतबार नेपालगन्ज उपमहानगरपालिकाको मनिकापुरमा आयोजित कार्यकर्ता भेलामा जनता समाजवादी पार्टीका नेता समेत रहनुभएका मन्त्री राईले सो कुरा बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा यो गठबन्धनमा समस्या आउन नदिन शीर्ष नेतृत्व सजग र सचेत छ, रहन्छ ।” 

मन्त्री राईले सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल भइरहेकाले केही दिनमै टुङ्गो लाग्ने बताउनुभयो । मन्त्री राईले मङ्सिर ४ गते हुने निर्वाचनमा कुनै पनि जातजाति, भाषाभाषी वा धर्म र क्षेत्रका आधारमा नभई विकास र समृद्धिको आधारमा जनताले मतदान गर्ने बताउनुभयो । 

मन्त्री राईले भन्नुभयो, “अहिले नेपाली जनताको चाहना विकास र समृद्धि रहेको छ” । धार्मिक रूपमा जनतालाई एकापसमा भिडाएर राजनीति गर्न खोज्ने पार्टी र नेतृत्वबाट नागरिक सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

नेपालगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मन्त्री राईले आफूहरूले विकास र समृद्धिको सपना मात्रै नदेखाउने वल्कि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री राईले नेपालगन्जमा गत साता शिलान्यास भएका सबै आयोजनाको बजेत सुनिश्चित भइसकेको बताउनुभयो । टेण्डर प्रक्रिया पूरा भएपछि तत्काल काम सुरु हुने उहाँको भनाइ छ ।  

विकास निर्माणको सन्दर्भमा पार्टीगत आस्थाबाट सबै जना माथि उठ्नु पर्नेमा जोड दिँदै अबको निर्वाचनमा विकास प्रेमी नेतालाई जनताले भोट दिनुपर्ने मन्त्री राईले बताउनुभयो । परम्परागत आधारमा अब राजनीति अघि बढ्न नसक्ने भन्दै उहाँले जनतालाई झुक्काएर राजनीति गर्नेलाई निर्वाचनमा बदला लिन सक्नुपर्ने चर्चा गर्नुभयो ।