• ४ जेठ २०८१, शुक्रबार

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध

blog

पहिरो जाँदा लोहोरेमा रोकिएका गाडी । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, भदौ १९ गते । अविरल वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको दैलेख लोहोरे सडकखण्डको सिमाडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

सडकमा ठूलो पहिरो खसेकाकारण एक सातादेखि जिल्लाको भगवतिमाई गाउँपालिका र नारायण नगरपालिकाका –११ मा जाने यातायात ठप्प भएको छ । पहिलो चरणमा गएको पहिरो नारायण नगरपालिकाले डोजरमार्फत पन्छाए पनि पुनः ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । 

नारायण नगरपालिका –८ का श्यामबहादुर रावलले पहिरो कारण भगवतिमाई गाउँपालिकामा आउने गाडी समेत लोहोरेमै रोकिएको बताउनुभयो । उहाँले भगवतिमाइको बेस्तडा, नारायणको विन्ध्यवासिनी र बडा भैरवबाट आउने गाडी लोहोरेसम्म आउने र त्यहाँबाट गाडी सिफ्ट गरेर नागरिकहरू सदरमुकाम पुग्नेगरेको बताउनुभयो । 

मध्यपहाडी राजमार्ग योजना कार्यालयका नायव सुब्बा तीर्थ जिसीले वर्षा लगातार भइरहेको र पहिरो हटाउँदा झन् ठुलो समस्या हुने भएकाकारण पहिरो नपन्छाइएको बताउनुभयो । पहिरो पन्छाउने हो भने त्यहाँ नजिकैको बस्ती झन् जोखिममा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा कम हुने बित्तिकै पहिरो हटाउन सम्बन्धित ठेकेदारलाई भनेका छौँ ।” 

भगवतिमाई गाउँपालिका –३ का बखत शाहीले पहिरो पन्छाउन सम्बन्धित निकायले ध्यान नदिएको बताउनुभयो । नागरिकहरू बिरामी हुँदा समेत छिट्टै अस्पताल पुर्‍याउन समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अर्को लोहोरे चुप्रा हुँदै दैलेख सदरमुकाम जाने सडक भए पनि लामो दूरी भएकाकारण लोहोरेबाट अर्को गाडी रिजर्भ गर्नुपर्ने समस्या भएको बताउनुभयो ।