• २ असार २०८१, आइतबार

वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्नुपर्छ : श्रममन्त्री कुँवर

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर । फाइल तस्बिर

काठमाडौं, भदौ १९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरूसँग बोल्नुहुँदै मन्त्री कुँवरले सरकारले शून्य लागतमा पठाउने भनिएका देशहरूमा समेत एजेन्टहरूमार्फत जताततै श्रमिकहरू ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘कल सेन्टरमा श्रमिकका समस्या तत्काल पनि समाधान गरेका छौँ । कल सेन्टर कल सेन्टरको लागि मात्रै होइन । तत्काल समाधान गर्ने माध्यम पनि भएको छ । श्रमिकहरूबाट आएका जटिल खालका गुनासा भए केही समय लाग्छ । सामान्य प्रकारका गुनासा कल सेन्टरले पनि गर्छ । बाँकी विभागहरू र मन्त्रालयले गर्ने गरेको छ । धेरै गुनासाहरू समाधान नभएर थन्किएका छैनन् । केही जटिल प्रकारका भएकाले केही समय लाग्छ ।’’

उहाँले शून्य लागतमा वैदेशिक रोजगारीमा जानसक्ने सम्झौता भएका देशहरूमा समेत एजेन्टहरूले साढे तीन लाखसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगमन सुरु गरेको बताउनुभयो ।

मन्त्री कुँवरले भन्नुभयो, ‘‘मन्त्रालयले रोमनियाको लागि साढे ३ लाख लिएर पठाइँदै छ भनेर सुनौँ । शङ्का लागेको व्यक्तिलाई मन्त्रालयले एक घण्टाभित्र बोलाएर स्पष्टीकरण सोधेका छौँ ।  शङ्का गरेको व्यक्तिहरूले अन्त पनि देखाएको छ । मन्त्रालयका यस्ता जानकारी आउँदैन । अब अलिअलि अप्ठ्यारो पनि लाग्न थाल्यो । शून्य लागतमा पठाउने भनेका छौँ जताततै पैसा असुल भएको छ । त्यसको नियन्त्रण भएको छैन ।’’

मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरूलाई मन्त्रालयले सहजीकरण गर्ने पनि मन्त्री कुँवरको भनाइ छ । वैदेशिक रोजगारी पठाउने नाममा जताततै ठगी हुँदा सरकारलाई अप्ठ्यारो लागेको छ । ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्न समेत नसकिएको मन्त्री कुँवरको भनाइ छ । कुँवरले ठगी भएको प्रमाण नभई कारबाहीको दायरामा ल्याउन नसकिएको पनि बताउनुभयो ।

‘‘त्यसको नियन्त्रणको लागि अनुगमन टोली पठायौँ । टोलीले केही पनि भेटाउँदैन । पैसा र प्रमाण केही भेटाउँदैन । प्रमाण नभई कारबाहीको दायरामा कसरी ल्याउने सरकारलाई समस्या परेको छ । त्यस्तो भइरहेको सबै ठाउँबाट जानकारी आउनुपर्‍यो । सबै मन्त्रालय,प्रहरी पत्रकार सबै जना जाऔँ मेनापावरले अफिसमा पैसा असुल गर्दैन । त्यस्ता एजेण्टका कहाँ छ बस्ने ठाँउहरु त्यसको सोधी खोजी गरौँ । वैदेशिक रोजगारीमा पठाउने नाउँमा जताततै ठगीको कामलाई नियन्त्रण गर्नुपर्छ । अहिले घर जग्गामा दलाली छ । अहिले फोहोर उठाउने विषयमा समेत दलाली चल्न थालेको छ । यो सबैको समाधानको लागि राज्यको मात्रै काम हो भनेर बस्दा समाधान गर्न सकिँदैन । त्यसको लागि सबैको भूमिका महत्त्वपूर्ण हुन्छ ।’’ मन्त्री कुँवरले भन्नुभयो ।

उहाँले अब सरकारले ठगी गर्ने एजेण्टहरु कहाँ बस्छन् खोज अनुसन्धान गरेर कानुनी कारबाही गरिने जानकारी दिनुभयो । मन्त्री कुँवरले कल सेन्टरमार्फत श्रमिकका गुनासाहरू तत्काल र केही समय लगाएर भए पनि समाधान मन्त्रालयले गरिरहेको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्र, घरजग्गा कारोबार हुँदाहुँदै फोहोर व्यवस्थापनमा समेत दलाली हुन थालेको बताउनुभयो ।

यसैगरी, मन्त्री कुवरले आइतबार चार जना श्रमिकहरूको गुनासो सुन्नुभएको छ । उहाँले वैदेशिक रोजगारीमा लैजान्छु भनेर महिनौँ नलगिएको, वैदेशिक रोजगारीमा गएर घर आउन नदिएको जस्ता गुनासा श्रमिकहरूले मन्त्री कुँवरलाई गरेका थिए । मन्त्री कुँवर श्रमिकको गुनासो यसरी सुन्नुभयो । श्रममन्त्री कुँवरले हरेक हप्ताको आइतबार एक घण्टा कल सेन्टरमा श्रमिकको गुनासो सुन्ने कार्य गरिरहनुभएको छ ।