• २६ वैशाख २०८१, बुधबार

जुम्लामा पचास करोडको स्याउ उत्पादन

blog

रमेशकुमार बोगटी 

कालीकोट, भदौ १९ गते । यस वर्ष जुम्लामा करिब ५० करोड रुपियाँको स्याउ उत्पादन भएको छ । एक नगरपालिकासहित सातवटा गाउँपालिका रहेको जुम्लामा यस वर्ष स्याउको उत्पादन राम्रो भएको हो ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष जुम्लामा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ फलेको अनुमान गर्नुभयो । 

अहिले जुम्लाको स्याउ निर्यातको तथ्याङ्क राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरी चौकी र जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्याङ्क सङ्कलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ । 

कृषक भरत रावतले अहिले स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको बताउनुभयो । 

कृषि विकास कार्यालय, जुम्लाका कृषि प्रवद्र्धन अधिकृत ट्रमबहादुर शाहीले जुम्लाभन्दा बाहिरका व्यापारी आएर स्याउ खरिद गरिरहेको जानकारी दिनुभयो । कृषि विकास कार्यालयले स्याउको मूल्य नतोकेकाले किसानसँग आपसी समझदारी किनेर लैजाने गरेको बताउनुभयो । 

खासगरी बजारमा अहिले ग्रेड ‘सी’ लेभलको स्याउप्रति केजी ४० रुपियाँ र ‘ए’ ग्रेडको स्याउ प्रतिकेजी ६० रुपियाँभन्दामाथि बिक्री 

भइरहेको छ । 

यसैगरी कालीकोटको तिलागुफा नगरपालिकामा पनि पछिल्लो समय स्याउको उत्पादन राम्रो 

भएको छ । 

स्थानीयवासी गोविन्द शाहीका अनुसार स्याउ किसानले भदौ पहिलो साता नै बिक्री सुुरु भएको छ । जिल्लाको तिलागुुफा नगरपालिका–४ को राचुली र रताडामा उत्पादित स्याउले अहिले भारतीय स्याउ आयात रोकिएको छ ।

फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले सबै ठाउँमा स्याउ उत्पादन राम्रो भएकाले सबैले स्याउ सिजनमा ४० देखि ५० हजार रुपियाँसम्म आम्दानी लिएको बताउनुभयो । 

कृषि विकास कार्यालय, कालीकोटका बागवानी अधिकृत बुद्ध विश्वकर्माले कालीकोटमा एक हजार तीन सय हेक्टर क्षेत्रफल ओगटेको स्याउको बगैँचाले अहिले नौ सय हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन दिइरहेको बताउनुभयो । नौ सय हेक्टर क्षेत्रफलमा अहिले सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

बगैँचामै अहिले किसानले प्रतिकेजी ६० देखि ७० रुपियाँमा बिक्री गर्ने गरेका छन् । स्याउ उत्पादन राम्रो हुँदा किसान आत्मनिर्भर हुन थालेका छन् । 

कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालाराम देवकोटाले प्रत्येक वर्ष किसानलाई ७० प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गर्ने गरिरहेको बताउनुभयो ।