• १३ साउन २०८१, आइतबार

पहिरोले सडक बन्द

blog

पहिरोले अवरुद्ध अरनिको राजमार्गको जुरे खण्ड । तस्विरः गोरखापत्र

सिन्धुपाल्चोक, भदौ १७ गते । निरन्तर परेको वर्षाका कारण जुरे पहिरोले अरनिको राजमार्गको जुरे खण्ड दिनहुँ अवरुद्ध हुन थालेको छ । उक्त सडक दिनहुँ अवरुद्ध हुदैं आएको बलेफी गाउँपालिका –८ वडा अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो । अवरुद्ध जुरे खण्ड डोजरको माध्यमले पहिरो पन्छाएर खुलाउदैं आएको उहाँले बताउनु भयो ।

निरन्तरको वर्षाका कारण बाह्रबिसे सुनकोसी, धुस्कुन, पिस्कर सडक बन्द भएको छ । त्यस्तै घोर्थली कर्थली पुग्ने सडक पनि बन्द भएको छ । बाह्रबिसेको बजार छेउमा ठुलो पहिरो आएका कारण उक्त क्षेत्रमा पुग्ने यातायातका साधन पाँच दिनदेखि पूर्ण रूपमा बन्द भएका छन् । वैकल्पिक मार्ग नहुँदा पैदल यात्रा समेत रोकिएको छ । सडकमा पहिरो थुप्रिएका कारण पाँच दिन देखि त्रिपुरा सुन्दरी गाउँपालिका बासी बजार क्षेत्र आउन सकेका छैनन् । 

पहिरोका कारण सुनकोसी माध्यमिक विद्यालय र अरनिको कलेज पाँच दिनदेखि पूर्ण रूपमा बन्द भएको छ । सडकमाथिबाट पहिरो झरिरहेका कारण त्रिपुरा सुन्दरी गाउँपालिका नाकाबन्दीमा परेको छ । खाद्यान्न र अन्य सामाग्री लैजान रोकिएको छ ।

बाह्रबिसे नगरपालिकाले सडक खुलाउने प्रयास गरिरहेको मेयर बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । तर पहिरो निरन्तर झरिरहेकोले सडक खुलाउन नसकिएको उहाँले पीडा सुनाउनु भयो । सोही पहिरोले बाह्रबिसे नगरपालिका –४ को बाहुन गाउँका २० बढी घर जोखिममा परेको हरिशरण पौडेलले पीडा व्यक्त गर्नु भयो ।  

Author

चित्र मिजार