• १३ साउन २०८१, आइतबार

व्यापारीको सामान बोक्न प्रयोग हुँदै सरकारी मोटरसाइकल

blog

पलाँताको सरकारी मोटरसाइकल ब्यापारीको समान ढुवानीमा प्रयोग हुँदै । तस्वीर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट भदौ १५ गते । कालिकोटको स्थानीय तहले खरिद गरेका सरकारी सवारी साधन व्यक्तिगत प्रयोगमा रहेको पाइएको छ । पलाँता गाउँपालिकाले खरिद गरेको  मोटरसाइकल व्यापारीको समान ढुवानीमा प्रयोग भएको स्थानीयको भनाइ छ ।

पलाँताको घाटाचौरदेखि सामानका बोरा ढुवानी गरिरहेको क। प्र ०२–००१ ब ०५२३ नम्बरको मोटरसाइकल व्यापारीको सामान बोकेको भेटिएको छ । स्थानीय नमराज न्यौपानेका अनुसार प्राय पलाँता गाउँपालिकाले खरिद गरेका मोटरसाइकल र गाडी व्यक्तिगत रूपमा प्रयोग हुँदैआएको छ । 

“हामीले भनेको कसैले सुन्दैन । सरकारी गाडी कता के कामका लागि प्रयोग भएका छन, थाहा छैन” न्यौपानेले भन्नुभयो, “मोटरसाइकल व्यापारीले प्रयोग गरिरहेका छन्, बिग्रेको बेला गाउँपालिकामा खबर हुन्छ र बनाउने गरिन्छ ।” 

पालिकाका अध्यक्षका छोरादेखि आफन्तले सरकारी गाडी प्रयोग गर्नेगरेको स्थानीयको भनाइ छ । सरकारी मोटरसाइकल दुरुपयोग भए नभएकोबारेमा ट्राफिक  प्रहरीले पनि निगरानी राख्नुपर्ने स्थानीयको सुझाव छ । 

रास्कोट नगरपालिकामा कार्यरत एक कर्मचारीका अनुसार आफूले कामका लागि मोटरसाइकल माग्दा मोटरसाइकल कार्यालयमा भेटिएन । केही भनौँ भने भएको जागिर जाने डर हुन्छ, त्यो भन्दा चुप बस्यो आनन्द उहाँले भन्नुभयो ।

पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले चार गाडीमध्ये दुई गाडी हालै मर्मत गरेर सञ्चालनमा ल्याइएको बताउनुभयो । मोटरसाइकल खोजिइरहेको उहाँले बताउनुभयो ।