• १९ असार २०८१, बुधबार

दलित बालबालिकामा कुपोषणको समस्या

blog

हरिकृष्ण एडी

मुगु, भदौ १४ गते । सरकारी तथा गैरसरकारी संस्थाले मुगु जिल्लामा कुपोषण न्यूनीकरणका लागि अभियान सञ्चालन गर्दै आएका भए पनि न्यूनीकरण हुन सकेको छैन।

मुगुम कार्मारोङ गाउँपालिकाको मुगुगाउँका अधिकांश दलित बालबालिका कुपोषित पाइएको जिल्ला अस्पताल मुगुको तथ्याङ्कमा उल्लेख छ। कर्णाली प्रदेशको विश्व खाद्य कार्यालयको सर्वेक्षण तथ्याङ्कअनुसार सो गाउँपालिका–२, मुगुगाउँका दलित बालबालिकामा कुपोषण बढेको पाइएको हो। सर्वेक्षणमा दलित समुदायका महिलाले तीन/चार जना बच्चा जन्माउने गरको र तीमध्ये अधिकांश कुपोषित रहेको पाइएको छ। सो गाउँमा लामा समुदायका पाँच सय घरधुरी र दलितका २१ घरधुरीको बसोबास रहेको छ। स्थानीय मिन्जु कामीले आफ्नो सात महिने छोरालाई कुपोषण भएको बताउनुभयो। उहाँको बच्चाको तौल कम छ। अनुहार मलिन छ। अरू बालबालिकाजस्तो राम्रोसँग बोल्न र शारीरिक रूपमा राम्रोसँग खेल्न नसक्ने उहाँले बताउनुभयो।

त्यसो त मिन्जुको आफ्नै अनुहारमा पनि कुनै चमक छैन। लामाको घरमा गई ज्यालादारी गरी आफू र बालबच्चाको पालनपोषण गर्नु उहाँको दैनिकी हो। उहाँले छ सन्तान जन्माए पनि तीमध्ये दुई सन्तान खेर गएका छन्। उहाँका श्रीमान् पनि ज्यामी काम गर्नुहुन्छ। दलित बस्तीका अधिकांश परिवारको आफ्नो जग्गाजमिन नभएकाले परिवार पाल्नका लागि बाह्रै महिना गाउँमा ज्याला मजदुरी गर्नुपर्ने अवस्था रहेको मिन्जुले बताउनुभयो।

यसैगरी १८ महिनाका उर्गिन सुनारको अवस्था पनि उस्तै छ। मुगु स्वास्थ्य चौकीका स्टाफ नर्स सोनाम लामाले यहाँका दलित समुदायका महिला र बालबालिका कुपोषित रहेको बताउनुभयो। जनस्वास्थ्य अधिकृत रितिजा रावलका अनुसार सोरु गाउँपालिकामा २८ जना, खत्याड गाउँपालिकामा १८ जना, छायाँनाथ रारा नगरपालिकामा २६ र मुगुमकार्मारोङ गाउँपालिकामा तीन जना कुपोषित बालबालिका रहेका छन्। 

यता विश्व खाद्य कार्यक्रम र नेपाल सरकारको आर्थिक सहयोगमा र सप्रोस नेपालको प्राविधिक सहयोगमा पोषणसम्बन्धी जिल्लाभर कार्यक्रम सञ्चालन भएको छ। संस्थाले गर्भवती महिला, सुत्केरी आमा र छ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकालाई स्वास्थ्य चौकीमा प्रत्येक महिनाको १ गतेका दिन तीन केजीको पौष्टिक आहार लिटो वितरण गर्दै आएको छ।