• १३ साउन २०८१, आइतबार

पादुकास्थानका सम्पदा उच्च जोखिममा

blog

विशाल सुनार

दुल्लु (दैलेख), भदौ १२ गते । नेपाल सरकारले तोकेका एक सयवटा पर्यटकीय गन्तव्यमा सूचीकृत पञ्चकोसीका पाँच थानमध्ये एक पादुकास्थान संरक्षणविहीन बनेको छ। सरोकार निकायको ध्यान संरक्षणमा नजाँदा ऐतिहासिक कला र सम्पदा उच्च जोखिममा परेका छन्। 

वैष्णव र शिव पुराणका अनुसार पादुकास्थान देवी सतीको पाउ पतन भएको स्थान मानिन्छ। कुनै बेला १६० वटा मन्दिर रहेको पादुकामा अहिले सबै भत्किसकेका छन्। मन्दिर क्षेत्र आसपासमा भग्नावशेष यत्रतत्र छरिएका छन्। मूर्तिसमेत हराउँदै गएका छन्। भएका मूर्तिको समेत उचित संरक्षण हुन सकेको छैन। मन्दिरमा झारपात उम्रिएको छ। त्यो क्षेत्रमा नयाँ कालिका मन्दिर निर्माण गरिएको छ। धुनीघरलाई मर्मत गरिएको छ। जहाँ मन्दिरमा आएका धर्मावलम्बी र मन्दिरका पुजारी बस्ने गर्छन्।  

धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सो स्थान दुल्लु नगरपालिकामा–९ मा पर्छ, जुन पञ्चकोसी तीर्थस्थलमध्ये अन्तिम तीर्थस्थल हो।

दुल्लु नगरपालिका प्रमुख भरतप्रसाद रिजालले सम्पदा संरक्षणको कार्य स्थानीय तहको क्षमताभन्दा धेरै माथिको विषय भएको बताउनुभयो। उहाँले स्थानीय तह सम्पदामा हात हाल्न नसक्ने र यसमा प्रदेश र सङ्घीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो। 

धार्मिक तथा सांस्कृतिक सहिष्णुताका हिसाबले उदाहरणीय मानिने यस क्षेत्र सम्पदा मात्र नभएर हिन्दु, जैन र बौद्ध धर्मावलम्बीको एकै तीर्थका रूपमा लिइन्छ तर उचित व्यवस्थापनको अभावमा कैयौँ महत्त्वपूर्ण मानिएको मूर्ति जोखिममा परेका छन्। 

मन्दिरका महन्त देवीनाथ योगीका अनुसार प्राचीन मन्दिर भग्नावशेषका रूपमा रहँदा आस्थाका देवता छरपस्ट खुला आकाशमुनि छन्। छरिएर रहेका अधिकांश मूर्ति भाँचिएका छन्। बाँकी रहेका मूर्तिमा लेउ, झ्याउ लागेका छन्।

उहाँका अनुसार खुला आकाशमुनि छरपस्ट मूर्ति हुँदा पादुकास्थानबाट अहिलेसम्म सातवटा मूर्ति चोरी भइसकेका छन्। चोरिएका मूर्ति अहिलेसम्म फेला परेका छैनन्।

जिल्ला सदरमुकामबाट मध्यपहाडी लोकमार्ग भएर जाँदा एक घण्टामै पादुका मन्दिर क्षेत्रमा पुगिन्छ। पादुका मन्दिरमा कुनै कालखण्डमा बौद्ध विहारसमेत रहेको त्यहाँका अवशेषले देखाएका छन्। मन्दिरका महन्त योगीका अनुसार श्रीस्थान र नाभिस्थान जस्तै पादुका मन्दिरमा सदियौँदेखि निरन्तर बल्ने ज्वाला भएको विक्रम संवत् २०१३ मा खोलाले बगाएपछि ज्वाला हराएको हो। अशोक चल्लको पालामा पादुकाको दुई मिटर अग्लो ४५ सेन्टिमिटर चाक्लो ढुङ्गाको स्तम्भमा इ.सं. १२४० मा कँुदिएको एसियाकै दुर्लभ मानिने बुद्धको मूर्तिसँगै दुर्लभ चार हाते गणेशको मूर्तिसमेत यहाँ छ। पाँच थान पञ्चकोसी तीर्थस्थलमध्ये सबैभन्दा बढी मूर्ति रहेको मन्दिर पादुकास्थान हो। खुला आकाशमुनि मूर्ति रहेकाले मन्दिरमा पुग्ने भक्तजनले चलाउँदा मूर्ति भाँचिएका छन्।