• २२ असार २०८१, शनिबार

तातोपानी र रसुवागढी नाका बन्द

दुई खर्बको आयात, ८० करोडको निर्यात

blog

लक्ष्मी सापकोटा/चित्र मिजार

काठमाडौँ, भदौ ८ गते । नेपाल–चीनको तातोपानी र रसुवागढी नाका बन्द भए पनि चीनबाट २०७८/७९ मा मात्र दुई खर्ब रुपियाँ बराबरको सामान आयात भएको छ भने नेपालबाट ८० करोड रुपियाँको समान मात्र निर्यात भएको छ । 

चालू आर्थिक वर्षको साउन महिनामा मात्र १८ अर्ब ७६ करोड रुपियाँ बराबरको समान आयात भएको छ भने छ करोड रुपियाँ बराबरको समान निर्यात भएको छ । 

नेपालबाट कार्पेट, हस्तकलाका सामान, तयारी पोसाक, छाला पश्मिनालगायतका सामान निर्यात हुने गर्छन् । चीनबाट टेलिकमका सामग्री, तयारी पोसाक र कपडा, अन्य मेसनरी, इलेक्ट्रिकल सामग्री, कम्प्युटर र पार्टस् आयात भएका छन् । चीनले नेपाललाई आठ हजारभन्दा बढी उत्पादनमा भन्सार छुटको सुविधा दिएको छ । तर, न्यून मात्र निर्यात हुने गरेको विभागको तथ्याङ्क छ । 

हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले भन्सार छुट दिए पनि प्रक्रियागत झन्झटले कम निर्यात हुने गरेको बताउनुभयो । निर्यात हुने वस्तुमा नभएर अन्य वस्तुमा भन्सार छुटको सुविधा दिएको छ, कोभिडपछि उत्तरी नाकाबाट स्वदेशी वस्तुको निर्यात नै नभएको उहाँले जानकारी दिनुभयो । 

प्रक्रियागत झन्झटका कारणले पनि निर्यात कम हुने गरेको उहाँले जानकारी दिनुभयो । भन्सार छुट दिएका वस्तुमध्ये ९८ प्रतिशत वस्तु नेपालबाट निर्यात हुने गरेका छन् । 

हरेक वर्ष नेपालमा तातोपानी र रसुवागढी नाका भएर करिब आठ अर्ब रुपियाँभन्दा बढीको सामान आयात हुने गरेकोमा कोभिडपछि नाकामा बारम्बार अवरोध हुँदा वार्षिक चारदेखि पाँच अर्ब रुपियाँ बराबरको मात्र सामान आउने गरेको सङ्घले जनाएको छ । अरू बाँकी समान समुद्री मार्ग हुँदै भारतको कलकत्ता बन्दरगाहबाट नेपाल आउने गरेको छ । केरुङ र तातोपानीका नाका अवरोध भए पनि चीनका समानहरू समुद्री मार्गबाट आउने गरेको नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले बताउनुभयो ।

नाका अवरोध

चीनको तिब्बत क्षेत्रमा कोरोना भाइरस सङ्क्रमण दर बढेपछि चिनियाँ सरकारले तातोपानी नाका र रसुवागढी नाका बन्द गरेको छ । बन्दका कारण सयौँ कन्टेनर सामान नाकामा रोकिएका छन् । व्यवसायीका अनुसार दुवै नाकामा समान बोकेका चार सयभन्दा बढी कन्टेनर रोकिएका छन् । 

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले साउन २५ गतेदेखि चीनबाट सामान आउन बन्द भएको जानकारी दिनुभयो । “अहिलेसम्म तातोपानी नाकाबाट कुनै पनि सामान आयात भएको छैन,” उहाँले भन्नुभयो, “नाका बन्द हुने र खुल्ने कुनै औपचारिक सूचना प्राप्त भएको छैन यदि खुलेमा भन्सारका कर्मचारी एलर्टमा रहेका छन् ।” 

रसुवागढी नाकाका भन्सार प्रमुख राम मैनालीले नाका खुल्ने र बन्द हुनेबारे अनविज्ञ रहेको बताउनुभएको छ । चीनले कोरोना भाइरस सङ्क्रमणका कारण आयात रोक्ने कुनै जानकारी नदिएकाले अर्बौंको सामान चिनियाँ भू–भागमा अलपत्र परेको बताउनुभयो ।

दशैँ आउँदा एक/दुई महिनाअघिदेखि नै व्यवसायीले चिनियाँ सामान आयात गर्न सुरु गर्छन् । नेपालमा चिनियाँ सामग्री धेरै आयात हुन्छ । अन्य देशभन्दा चीनबाट आयातित सामान सस्तो पर्ने भएकाले बजारमा यसको खपत धेरै हुने गर्छन् । चाडपर्वको बेला बजारमा खपत बढी धेरै हुने हुँदा व्यवसायीले चीनबाट ठूलो परिणाममा सामान ल्याउने गर्छन् । 

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले केरुङ नाका र तातोपानी नाका बन्द हुँदा झन्डै चार सय सङ्ख्यामा सामान बोकेका कन्टेनर राकिएका हुन् । लत्ताकपडा, जुत्ताचप्पल, कस्मेटिक सामान, झोला, कच्चा पदार्थ र मेसिनरी सामान रोकिएको उहाँले जानकारी दिनुभुयो । 

“केही सामान बोर्डरमा आएर रोकिएका छन्, कति बाटोमै रहेका छन, ती सामान समयमा आउन नसक्दा दशैँमा बजारमा अभाव हुने अवस्था देखिएको छ,” उहाँले भन्नुभयो । भूकम्प, कोभिड, पहिरोको बहाना देखाउँदै बर्सेनि नाका बन्द हुने गर्छ, चीनबाट सामान ल्याउने सिजन नै अहिले हो उहाँले भन्नुभयो, “समयमा सामान आउन नसक्दा बजारमा अभाव भई मूल्य बढ्ने र व्यवसायीको नोक्सान बेहोर्नुपर्छ ।”

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेतले चिनियाँ बाटोमा अलपत्र सामान फेरि उतै फर्काएर समुद्री मार्गमार्फत व्यापारी, व्यवसायीले सामान ल्याउने तयारी गरिरहेको पीडा सुनाउनुभयो । यसले लागत बढ्ने हुँदा व्यापारी र उपभोक्ताहरू मारमा पर्ने उहाँले बताउनुभयो । बाटोमै रोकिएका सामानहरू चिनियाँ सरकारले नाका भित्र्याउन दिनुपर्ने उहाँले चीन सरकारलाई आग्रह गर्नुभएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले नाका बन्द हुँदा बाटोमा रोकिएका सामान खुलाउन औपचारिक रूपमा छलफल गरिरहेको जानकारी दिनुभयो । नाका खुलाउनका लागि सिन्धुपाल्चोकका व्यापारीहरूले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत सरोकारवालालाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् । 

नाका खुल्ने सम्भावना कम

चीनस्थित नेपाली महावाणिज्य दूतावासले कोरोना सङ्क्रमण बढ्दै गएकाले तत्काल चिनियाँ नाका खुल्ने सम्भावना नभएको बताएको छ । सिगात्सो, केरुङ तथा न्यालमजस्ता व्यापारिक मार्गका सहरहरूमा कोरोनाको सङ्क्रमण बढिरहेको र ती स्थानमा पूर्ण लकडाउन जारी रहेकाले तत्काल नाका खोल्ने सम्भावना कम देखिएको महावाणिज्य दूतावासले विज्ञप्ति जारी गरेर जनाएको छ । 

तिब्बतमा हाल स्वास्थ्य क्षेत्रजस्तो अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द रहेको कार्यालयले जनाएको छ ।