• १५ असार २०८१, शनिबार

समानुपातिकतर्फ निवेदन आह्वान

blog

काठमाडौँ, भदौ ८ गते । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फका लागि निवेदन आह्वान गरिएको हो।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले भदौ १० देखि १२ गतेसम्म राजनीतिक दललाई निवेदन दर्ता गर्न आह्वान गरिएको जानकारी दिनुभयो। आयोगले गत साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल दर्ता भएका थिए। दर्तामध्ये १२ वटा दलले तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न चारवटा समूह बनाएका छन्। दर्ता दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ। 

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै स्थापना भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकमा भाग लिन मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ। एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउने जानकारी भट्टराईले दिनुभयो। 

दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ प्रत्येक प्रदेशका लागि छुट्टै निवेदन दिनुपर्नेछ। आयोगको निर्वाचन कार्यतालिकाबमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आगामी असोज २ र ३ गते पेस गर्नुपर्नेछ।