• ११ मंसिर २०८१, मङ्गलबार

जयपृथ्वीबहादुर सिंहको जन्मजयन्ती मनाइयो

blog

जयपृथ्वीबहादुर सिंहको अर्ध कदको सालिकमा माल्यार्पपछि सम्मान व्यक्त गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी । तस्बिर : शेखर चौलागाईं

काठमाडौं, भदौ ७ गते। गोरखापत्र संस्थानद्वारा जयपृथ्वीबहादुर सिंहको जन्मजयन्ती मनाइएको छ। नेपाली समाजको ऐतिहासिक धरोहरका रुपमा प्रकाशित गोरखापत्र प्रकाशनको पृष्ठभूमिसँग उहाँको विशिष्ट योगदान जोडिएको छ। 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले राष्ट्रिय विभूति सिंहको संस्थान प्राङ्गणमा रहेको अर्ध कदको सालिकमा माल्यार्पण गर्नुभयो। संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सिंहको सालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गर्नुभयो। यसैगरी संस्थान प्रकाशनका प्रमुख, विभागीय प्रमुख, पत्रकार तथा कर्मचारीले सालिकमा मल्यार्पण गरेर उहाँप्रति सम्मान प्रकट गर्नुभयो।


जयपृथ्वीबहादुर सिंहको अर्ध कदको सालिकमा माल्यार्पण गर्नुहुँदै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी । 

अर्थ विभाग प्रमुख यमप्रसाद कँडेलले गोरखापत्रको प्रकाशनमा सिंहको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभयो। उहाँले हरेक वर्ष भदौ ७ गते मानवतावादी व्यक्तित्व सिंहको जन्म जयन्ती मनाउने गरिएको जानकारी गराउनुभयो। गोरखापत्रको ९८ औं तथा संस्थानको ३६ औं वार्षिकोत्सवको उपलक्ष्यमा वि.सं. २०५५ वैशाख २४ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गोरखापत्रका संस्थापक सिंहको सालिक अनावरण गर्नुभएको थियो।

नेपालको एकीकरण पूर्व राजा रजौटालाई सम्मान स्वरुप मुख्तियारी दिने प्रचलन रहेअनुसार नै बझाङ्गी राजा शक्ति सिंहपछि २० सौं पुस्ताका राजा जयपृथ्वीबहादुर सिंह हुनुहुन्थ्यो। राणाकालमा शिक्षा र मानवताको चिराग बनेर उहाँले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। 

सिंहद्वारा लिखित बालबालिकाका लागि ‘अक्षराङ्क’ नामक पुस्तकले १९५८ सालमा नेपाली समाजमा नयाँ क्रान्ति ल्याएको थियो। बालबालिकालाई नेपाली भाषाका माध्यमबाट प्रारम्भिक शिक्षा दिनुपर्छ भन्नेमा उहाँ लाग्नुभएको थियो। 

उहाँले ‘अक्षरमाला’, ‘पदार्थ तत्त्व विवेक’, ‘बालबोध-भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, ‘श्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’, ‘प्राकृत व्याकरण’, ‘भूगोलविद्या’, ‘अमानवतावाद सम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ जस्ता दार्शनिक पुस्तक लेख्नुभएको छ। यी पुस्तकको अध्ययन गर्दा सिंह लेखनमा अब्बल रहेको प्रष्ट हुन्छ। व्यक््

यद्यपि यस्ता उदार व्यक्तित्व सिंहलाई राणा शासनले सहन सकेन र देश निकाला गर्‍यो। फलस्वरुप, जीवनको अन्तिम कालमा भारतको निर्वासनमा रहँदा त्यहाँको ब्रिटिस कम्पनी सरकारले राजबन्दी बनाएर राखेकै अवस्थामा वि.सं. १९९७ असोज १ गते बेङलोरमा उहाँको निधन भयो। मृत्युपछि भने उहाँको योगदानको सम्झना हुन थालेको हो। 

मानवतावादी नेता सिंहको बुवा विक्रमबहादुर सिंह र आमा रुद्रकुमारीको कोखबाट वि. सं. १९३४ भदौ ७ गते जन्म भएको थियो।