• ६ साउन २०८१, आइतबार

बहुउद्देश्यीय ताल निर्माण गरिँदै

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, भदौ ६ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले सामुदायिक वन ‘ख’ मा ‘हिले जलजले बहुउद्देश्यीय ताल’ निर्माण गरिने भएको छ। हिले सामुदायिक वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी स्थानीय नागरिक तथा वडाको आर्थिक विकासमा सहयोग पु-याउने उद्देश्यले बागमती प्रदेश सरकारको सहयोगमा बहुउद्देश्यीय ताल निर्माण गर्न लागिएको हो। 

प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका इन्जिनियर दीपक थापाले प्रदेश पर्यटन विकास आयोजनाले सुरुमा ताल निर्माणको लागि काम सुरु गरे पनि आयोजनाले गत असारमा विस्तृत परियोजना रिपोर्ट (डीपीआर)सहित डेढ करोड रुपियाँ बजेट कार्यालयलाई हस्तान्तरण गरेको बताउनुभयो। 

उहाँले बनाइएको डीपीआर पुनरवलोकन गर्नुपर्ने देखिएपछि कार्यालयले डीपीआरलाई पुनरवलोकन गरेको भन्दै पहिलो चरणमा १८ महिनाको समयावधिमा ताललगायतका केही भौतिक संरचना निर्माण गरिने बताउनुभयो। उहाँले ताल निर्माणका लागि हाल कार्यालयले ५० लाख रुपियाँ रकमान्तर गरेर राखेको र थप बजेट प्रदेश सरकारले विनियोजन गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो। 

बहुउद्देश्यीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र १८२ मिटर लामो रहने र तालको कुल क्षेत्रफल भने चार हजार ९०५ वर्गमिटरको रहनेछ। ताल निर्माण गर्न बोलपत्र आह्वान भइसकेको र चालू आर्थिक वर्षबाट ताल निर्माणको काम सुरु हुने कार्यालयले जनाएको छ। उक्त ताल एक सय वर्षभित्र आउन सक्ने बाढीलाई लक्षित गरेर निर्माण गरिने भन्दै थापाले दोस्रो चरणमा पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचना, टिकट घरलगायतका अन्य पूर्वाधार निर्माण गरिने बताउनुभयो। ताल आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, बाल उद्यानका साथै सौन्दर्यीकरणको कामसमेत गरिने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ। 

तालसहितको पार्क निर्माणमा कुल १६ करोड ९४ लाख ४५ हजार रुपियाँ लाग्ने र निर्माणपछि वार्षिक करिब साढे दुई करोड आम्दानी हुने अनुमान गरिएको छ। प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार ताललगायतका अन्य संरचना निर्माणका लागि ठूला–साना गरी ४८२ वटा रुख कटान गर्नुपर्ने छ। ताल निर्माण भएपछि काठमाडौँको नजिकको पर्यटकीय गन्तव्य बन्नुका साथै नगरकोट जाने पर्यटक नजिकैको दूरीको यात्राबाट ताल पुग्न सक्नेछन्। हिले जलजल सामुदायिक वनमा बहुउद्देश्यीय ताल निर्माण भएपछि तालभन्दा तल्लो भागमा रहेका खानेपानीको मुहानका लागि पुनर्भरणमा समेत सहयोग पुग्ने जनाइएको छ।