• १३ वैशाख २०८१, बिहिबार

एकचालीस प्रतिशतमा पुग्यो बीमा

blog

भेषराज बेल्बासे

काठमाडौँ, साउन ३० गते । पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्ममा बीमाको पहुँच (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमासहित) ४१.२० प्रतिशत पुगेको हो । 

आव २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष १३.६८ प्रतिशतले बीमा पहुँच बढेको हो । २०७८ को असार मसान्तसम्ममा बीमाको पहुँच २७.५२ प्रतिशत जनसङ्ख्यामा पुगेको थियो ।

आव २०७८/७९ को असार मसान्तसम्ममा जीवन बीमालेखको सङ्ख्या पनि ५२ प्रतिशतले बढेको छ । २०७९ को असारसम्म यस्तो जीवन बीमालेख एक करोड ३० लाख ९९ हजार ६३२ रहेको छ । २०७८ को असारमा जीवन बीमालेख ८६ लाख १२ हजार ८५० रहेको थियो । 

यस्तै निर्जीवन बीमा लेख सङ्ख्यामा भने २.०६ प्रतिशतको मात्रै वृद्धि भएको छ । २०७९ असार मसान्तसम्ममा २७ लाख ८८ हजार १८ रहेको निर्जीवन बीमालेख २०७८ असारमा २७ लाख ३१ हजार ७७३ रहेको थियो ।

सुस्त विस्तार

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरेका अनुसार बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशत मात्रै हुनु अहिलेको समयमा कम हो । जुन रूपमा बढ्नुपर्ने हो, त्यो हुन नसकेको भन्दै उहाँले अहिलेको सन्दर्भमा ६० प्रतिशतसम्म पुग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

निर्जीवन बीमालेख सङ्ख्यामा जीवन बीमाको तुलनामा कम देखिनुमा कोरोना बीमाको भुक्तानीमा भएको ढिलाइले असर गरेको उहाँले बताउनुभयो । “कोरोना बीमाको दाबी भुक्तानी दिन बाँकी भएका कारण जीवन बीमाको तुलनामा निर्जीवन बीमालेखको वृद्धिदर न्यून भएको हो,” डा. घिमिरेले भन्नुभयो । 

शुल्क सङ्कलन १६ प्रतिशतले वृद्धि

आव २०७८/७९ मा जीवन बीमा शुल्क सङ्कलनमा १४.६३ प्रतिशतले वृद्धि भएको छ भने निर्जीवन बीमा शुल्क सङ्कलनमा २३.५६ प्रतिशतले वृद्धि देखिएको छ । 

समग्रमा कुल बीमा सङ्कलनमा १६.४८ प्रतिशतको वृद्धि देखिएको छ ।

२०७९ असारसम्म जीवन बीमा शुल्क सङ्कलन एक खर्ब ३८ अर्ब ६४ करोड पाँच लाख १० हजार रुपियाँ भएको छ । यो २०७८ असारमा एक खर्ब २० अर्ब ९५ करोड रुपियाँ रहेको थियो । 

म्यादी बीमामा आकर्षण

बीमा समितिका अनुसार म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखको पहुँच गत आर्थिक वर्ष ३८.२६ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा २५.२३ प्रतिशत मात्रै रहेको थियो । पछिल्लो समय म्यादी बीमा लेखमा आकर्षण बढेपछि दायरा विस्तार थप सहयोग पुगेको छ ।

बैङ्किङ क्षेत्र सँगसँगै अर्थात् झन्डै साढे आठ दशकको यात्रा तय गरेको बीमा क्षेत्रको विस्तार पछिल्ला दशकमा तीव्र भएको छ तर पनि बीमा क्षेत्रको वृद्धिदर सन्तोषजनक नभएको विज्ञहरू बताउँछन् ।

बीमा कार्यालय १५ प्रतिशतले वृद्धि

२०७९ असारसम्म देशभर बीमा कम्पनीका कार्यालय सङ्ख्या तीन हजार ३६६ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७६ प्रतिशतले बढी हो । 

यस्तै बीमा कम्पनीको कर्मचारी सङ्ख्या पनि ११ हजार ८६१ पुगेको छ । यो पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.३१ प्रतिशतले बढी हो ।

राणा शासनको अन्त्यतिर नेपालमा उद्यम व्यवसाय खुल्ने क्रम सुरु भएसँगै बीमाको प्रचलन सुरु भएको हो । वि.सं. १९९४ सालमा नेपालको पहिलो बैङ्क नेपाल बैङ्क स्थापना भएपछि संस्थागत व्यापार व्यवसाय सुरु भएको हो । 

खासगरी आयात निर्यात व्यापारका लागि बीमा कम्पनीको पनि आवश्यकता महसुस गर्न थालियो र नेपालमा बीमा व्यवसायको थालनी भएको थियो ।