• ७ मंसिर २०८१, शुक्रबार

अभिव्यक्ति स्वतन्त्रताको चाड

blog

गाईजात्रा एउटा उत्सव हो । यसलाई हाँसो, रोदन अनि शान्ति मिश्रित एउटा चाडका रूपमा लिइन्छ । गाईजात्रा काठमाडौँ उपत्यकाका तीन सहर ललितपुर, भक्तपुर र काठमाडौँमा तीन पृथक् शैलीमा मनाइन्छ तर सबैले मनाउनुको उद्देश्य एउटै हो, बितेको दुःख बिर्सनु र नयाँ दिनको खुसीमा उत्साह थप्नु । गाईजात्रा खानपानको चाड होइन । गाईजात्रा आराम र विश्रामको मेलो पनि होइन । 

गाईजात्रामा तीन कुरा स्पष्ट सँग जोडिएर आएका छन्– सङ्गीत, साजसज्जा र रूपकला । गाईजात्रा रमाइलो चाड भए पनि यसमा नरमाइलोसँग अतीतको एउटा दुःखद पाटो पनि जोडिएर आउँछ, त्यो हो स्मृति । बितेका मान्छेको स्मृति वा श्रद्धास्मरण । 

छाडेर जानेको यादमा मनाइने एक विरक्तिपूर्ण चाड हो यो तर यो चाडमा एकरत्ति दुःख वा अवसाद देखिँदैन । गाईजात्रामा धेरै कला एकसाथ देखिन्छ, मानवीय उद्वेग वा वेदनाको अर्को स्तर, जातीयताको पहिचान अनि सम्बोधनको उन्माद । अर्को थाहा नहुने गरी देखिने एउटा सामूहिक सहकार्य, नाचगान, भेटघाट र कामनाको आदानप्रदान । 

पश्चिमी जगत्मा मनाइने व्याकरणगत शैलीको ‘फेसन सो’ जस्तो लाग्ने वेशभूषा प्रदर्शन पनि गाईजात्रामा देखिन्छ । थरीथरीका लत्ताकपडा, साजसजावटका साथ झन्डा, तोरण, बाजाको वस्तुपरक प्रदर्शन हेर्दा ग्रिसेली राज्यमा फेसन सुरु हुनुभन्दा अढाई सय वर्षअघि नै हामीकहाँ यस किसिमको संरचना आइसकेको थियो भन्ने बुझिन्छ । गाईजात्रामा सेता रङको कम र अरू रङको बहुतायत रूपमा प्रदर्शन गरेर सडकमा भेला निस्कँदा यो एक किसिमको रङ्गीचङ्गी -याली जस्तो देखिन्छ । 

काठमाडौँको वसन्तपुर, मरुढोका, लगन, यँगाल, जैसीदेवल हुँदै सारा सहर नै ढकमक्क ढाकिने गरी गल्लीगल्लीमा चोकचोकमा निस्किँदा यसले विशिष्ट रूपको एउटा महोत्सवको रूप लिन्छ । गाईजात्रा नेवार जातिले मनाउने धेरै चाडमध्ये एउटा अभिव्यक्तिपूर्ण चाड हो भने यो अन्य जात्रा जस्तै यात्रामय स्वरूप भएको एउटा अनौठो चाड पनि हो । 

नेवार जातिको गीत गाउँदै यात्रा गरिने सिलु चर्हे जस्तै गाईजात्रामा निर्दिष्ट गीतचाहिँ हुँदैन तर ध्वनिसँग यसको ठीक ताल जोडिएको हुन्छ । नेवारहरूको घनाबस्ती भएको क्षेत्र कीर्तिपुर, बनेपा, काठमाडौँ, भक्तपुर, ललितपुरबाहेक पाल्पा, पोखरा, इलाममा पनि यो चाड मनाइन्छ । ललितपुरमा गाईजात्राको भोलिपल्ट ‘मतया’ मनाइन्छ भने भक्तपुरमा ‘तायामचा’ निकाल्ने चलन छ । 

गाईजात्रामा प्रायःजसो हिन्दी वा नेपाली भाषाकै गीतको लयमा अर्को शब्द प्रयोग गरेर गीत गाउँदै भ्रमण गर्ने हुनाले गीत लामो शैलीको नै प्रयोग गरिन्छ । यो चाडमा प्रायः बाजा हार्मोनियम, करताल, खैँजडी, मुरली, खिँ आदि प्रयोग गरिन्छ । यस किसिमको साङ्गीतिक कार्यक्रम कसैकसैले परिवारबाटै सबै अभ्यास गर्छन् । परिवारबाट सम्भव नभए क्लब वा कुनै साङ्गीतिक समूहलाई जिम्मा दिने गरिन्छ । 

प्रज्ञा प्रतिष्ठानले एक साता लामो गाईजात्रा महोत्सव आयोजना गर्ने भएपछि यस प्रतियोगितामार्फत कलाकारले मञ्चमा आएर नेतादेखि सरकारी कर्मचारीसम्म, प्रहरीदेखि गुन्डागर्दी गर्ने खलपात्रसम्म खुला रूपमा व्यङ्ग्ययुक्त धनुषवाण हान्न पाउने भव्य छुट पाए ।  

यसरी नगर परिक्रमा गर्न निकालिने साङ्गीतिक -यालीलाई रामायण निकाल्ने भन्ने गरिन्छ । यो लामो यात्रामा जोगी र बादशाह पात्रका रूपमा राखिन्छ भने प्रमुख रूपमा गीत गाउने पात्रलाई लावा (ताय)को माला लगाएर ठूलो छाता ओढाइन्छ । गाईजात्राको यो शैली पाँच सय वर्षअघि मनाउन थालिएको इतिहास पाइन्छ ।

गाईजात्राको पूर्वकथा 

मल्लकालका राजा प्रताप मल्ल जो आफैँ एक बहुभाषी कवि थिए । उनलाई गीतसङ्गीतप्रति रुचि र सांस्कृतिक ज्ञान थियो । यही कारण गाईजात्रा उनकै समयमा सुरु भएको भन्ने ऐतिहासिक प्रमाण पाइन्छ । 

कवि राजा प्रताप मल्लकै सानो छोराको मृत्यु भएर दरबारमा शोक छाएका बेला दरबारको शोक हटाउन ‘दरबारबाहिरका नागरिकका पनि सन्तान मरेका छन् हेर’ भनेर देखाउन राजाले नै मनाउन लगाएकोले यो त्यति बेलादेखि नै राष्ट्रिय चाडका रूपमा मनाउन थालियो । काठमाडौँको वैभव, कला–संस्कृतिका कुशल ज्ञाता राजा प्रताप मल्लले काठमाडौँमा नै यो चाड मनाउन सुरु गरेपछि ललितपुर र भक्तपुरमा पनि भोलिपल्ट अर्कै नामबाट मनाउन थालियो । काठमाडौँ उपत्यकाका पाँच सहरमध्ये काठमाडौँ, ललितपुर र भक्तपुरले सहकाल निम्त्याउन कामख्याबाट ल्याएको देवी मत्स्येन्द्रनाथको जात्रा संयुक्त रूपमा मनाउन थालेको भए पनि गाईजात्रा र घोडेजात्रा फरक–फरक दिनमा मनाउने गरिएको पाइन्छ । 

प्रताप मल्लपछिका राजाहरूले यस चाडलाई जनजीवनमा गहिरोसित जोड्नका लागि धान रोपाइँ, रातो र सेतो मच्छिन्द्रनाथको रथ तान्ने सबै चाड सकेपछि सुरु हुने पारु गुँला (बाजागाजाको पर्व) सँगै लगेर भव्य रूपमा जोडिदिएका छन् । बाजा, छाता, वेशभूषा सबै खुला ठाउँमा प्रयोग हुनुपर्ने भएकोले मौसम सफा भइसकेपछि यो चाड मनाइन्छ । 

गाईजात्रामा गाइने गीतहरू भजन, निर्गुण ख्याल, चुड्का आदि हुन् । काठमाडौँ उपत्यकामा मनाइने गाईजात्रामा सबै जातजातिका व्यक्तिले भाग लिए पनि बज्राचार्य र तुलाधर सहभागी भएको त्यति पाइँदैन । बरु यी जाति गाईजात्राको लगत्तै हुने उपाकू पर्व (दीपयात्रा)मा सहभागी हुने गर्छन् । 

गाईजात्रा र अभिव्यक्ति स्वतन्त्रता 

गाईजात्रालाई सङ्घीय राजधानीमा भव्य रूपमा मनाइने प्रसङ्गमा यसका दुई रोचक पक्ष छन् । एउटा यसको सांस्कृतिक महत्त्व र अर्को मानवीय संवेदनाको उच्च सम्मान व्यक्त गर्दै अभिव्यक्तिको मञ्च । 

गाईजात्रा एक जातिगत सांस्कृतिक चाड मात्र नभई यसलाई काठमाडौँका रैथाने नेवार जातिले आफ्नो उन्मुक्ति, स्वतन्त्रता र विचार बहन गर्ने एक विशेष दिनका रूपमा पनि लिने गरेका छन् । 

राणाकालमा छिटपुट रूपमा यो जेजस्तो गरेर मनाउने गरिएको भए पनि नेपालमा प्रजातन्त्र प्राप्ति भएर राणाकालबाट देश मुक्त भएपछि मातृभाषामा दमन सुरु भएपछि नेपाली भाषालाई मातृभाषा नमान्ने विशेष रूपमा नेवार जातिले मुनासः नामक संस्था खोलेर त्यस संस्थाबाट गाईजात्रालाई ख्याली कु (प्रहसन प्रतियोगिता) भनेर मनाउन सुरु गरे । यही प्रतियोगितामार्फत व्यङ्ग्य कलाकार रामशेखर नकर्मी, नगेन्द्र हाडा, भृगुराम श्रेष्ठ, श्रीकृष्ण अणु, पद्मरत्न तुलाधर, मदनकृष्ण श्रेष्ठ आदि देखा परे । 

मुनासःको आयोजनामा हुने कार्यक्रममा सत्यमोहन जोशीलाई पनि प्रमुख अतिथिका रूपमा बोलाइएको कारण उहाँ नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सहसदस्यका रूपमा गएपछि प्रज्ञा प्रतिष्ठानमा सप्ताहव्यापी गाईजात्रा महोत्सव मनाउने परम्परा सुरु भयो । जोशी स्वयं नेवारभाषी भएको हुनाले सो गाईजात्रा महोत्सवमा भाषिक स्वतन्त्रताको आधारमा सत्ता सञ्चालकदेखि समाजका लब्धप्रतिष्ठित कुनै पनि करतुतलाई भण्डाफोर गर्न पाउने प्रहसन, हास्य नाटक, प्यारोडी अनि व्यङ्ग्य गीत प्रस्तुत गर्न पाउने सुविधा बनाइयो । 

प्रज्ञा प्रतिष्ठानले एक साता लामो गाईजात्रा महोत्सव आयोजना गर्ने भएपछि यस प्रतियोगितामार्फत कलाकारले मञ्चमा आएर नेतादेखि सरकारी कर्मचारीसम्म, प्रहरीदेखि गुन्डागर्दी गर्ने खलपात्रसम्म खुला रूपमा व्यङ्ग्ययुक्त धनुषवाण हान्न पाउने भव्य छुट पाए । कलाकारको त्यो प्रस्तुतिमा शोषित, पीडित, दमित जनताले आफ्नो सन्तुष्टिको आकार देखे । यही सफलताले गाईजात्रा महोत्सव जनचासोको विषय भयो । टिकट बिक्री बढ्दै गयो । प्रज्ञा प्रतिष्ठानबाहेक बाहिरिया सङ्घसंस्थाले यस प्रवृत्तिको कार्यक्रमको आयोजना गर्न थाले जसमा जेसिजलगायत अन्य सङ्घसंस्थाले रुचि लिन थाले । 

तीस र चालीसको दशकमा गाईजात्रा महोत्सवले पाएको सफलताले अरू क्षेत्रलाई पनि असर पार्‍यो । विशेषतः चित्रकलामा । चित्रकला विधामा फस्टाइरहेको कार्टुन कोर्ने कलाकारले गाईजात्रा महोत्सव पारेर भाँडभैलो, गाईजात्रा जस्ता पत्रिका निकाल्न थाले ।  

मञ्चमा हुने यस्तो कार्यक्रममा पाल हाडा (राजपाल थापा र ध्रुव हाडा) मास्टर केशव मानन्धर, गोपालराज मैनाली, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, रवीन्द्र खड्का, नवराज कार्की, सुशील दीक्षित, वसन्त सापकोटा, हरिवंश आचार्य, वर्षा सुब्बा, शारदा बस्नेत, लक्ष्मी श्रेष्ठ, हेमन्त श्रेष्ठ, सरुभक्त श्रेष्ठ, शैलेन्द्र सिंखडा, परीक्षित ढुङ्गाना, शम्भुजित बास्कोटा आदि व्यावसायिकतापूर्वक सफल रूपमा देखा परे । 

यो समय कलाकारले पञ्चायतकालका नेताहरूको धज्जी उडाए । राजदरबारका नातागोताको सक्रियतामा पोखरामा भएको नमिता–सुमिता हत्याकान्डको हास्य गीतमार्फत खिल्ली उडाए । 

पञ्चायतकालका अर्थमन्त्रीले चलचित्र नायिका मीनाक्षी आनन्दको इसारामा गरेको डलरकाण्ड अनि त्यस बेलाको अर्को चर्चामा रहेको गलैँचाकाण्डलाई पनि गाईजात्रामा समाविष्ट गर्दै पञ्चायतको खाल उतारे । 

पञ्चायतकालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहलाई नै लक्ष्य गरेर गालामा कालो कोठी हुनेले घुस खान्छ । उनी आफैँ प्रमुख अतिथि भएर सुनेको इतिहास पनि छ । 

तीस र चालीसको दशकमा गाईजात्रा महोत्सवले पाएको सफलताले अरू क्षेत्रलाई पनि असर पा-यो । विशेषतः चित्रकलामा । चित्रकला विधामा फस्टाइरहेको कार्टुन कोर्ने कलाकारले गाईजात्रा महोत्सव पारेर भाँडभैलो, गाईजात्रा जस्ता पत्रिका निकाल्न थाले । यति बेलासम्म नेपालका प्रसिद्ध कार्टुनिस्टहरू खोकना (मोहनकृष्ण डङ्गोल), वात्स्यायन (दुर्गा बराल), जीवन आचार्य, साप्ताहिक पत्रिकामा सीमित थिए । यसपछि गाईजात्राको सन्दर्भ पारेर यी कलाकारले गाईजात्रा चित्रकला प्रदर्शनी गर्न थाले जसमा मोहन खड्का, शरद रञ्जित, गेहेन्द्र अमात्य, बलराम थापा, राजेश केसी, अविन आदि विशेष भूमिकासहित देखा परे । गाईजात्रा महोत्सवलाई लक्षित गर्दै कार्टुनिस्टहरूले चित्रकला प्रदर्शनी पनि गर्न थाले । 

गाईजात्रा यति लोकप्रिय चाड बन्न पुग्यो कि चालीस, पचास र साठीको दशकमा मनोरञ्जनप्रधान पत्रिकाले समेत गाईजात्रा विशेष अङ्क निकाल्न थाले । 

गाईजात्राको उपलब्धि भनौँ वा यसको परम उद्देश्यले गर्दा गम्भीर कविहरू लक्ष्मण लोहनी, कालिप्रसाद रिजाल, नवराज कार्की, वसन्त सापकोटा, हेमन्त श्रेष्ठ पनि यस्ता कार्यक्रममा मुक्तक पढ्न सरिक भए । 

गायनका हिसाबले नेपाली साङ्गीतिक आकाशमा प्यारोडी गायकका रूपमा चिनिने वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायिका सुकमित गुरुङ पनि सहभागी हुन थाले । आज गाईजात्रा नेपाली जनसमाजमा एक उत्सवधर्मी, विचारप्रधान चाडका रूपमा अघि बढेको स्वीकार्न सकिन्छ ।