• ८ वैशाख २०८१, शनिबार

कांग्रेस प्रवक्ता डा. महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण

blog

पहिरो प्रभावित क्षेत्रमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत । तस्बिर : रासस

नुवाकोट, साउन २७ गते। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नम्बर १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ।

साउन २४ गते रातिको भीषण वर्षाले तादी खोलामा आएको बाढीले नुवाकोट क्षेत्र नम्बर १ का कतिपय स्थानमा क्षति पु¥याएको छ। नुवाकोटको दुप्चेश्वर-३ राउतबेंसी, तादी- ४ सातबिसे र पञ्चकन्या- ४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या- २ आप्र र तादी- ५ बाहुनबेंसी जोड्ने पक्की पुल, पञ्चकन्या- १ को सिमारा फाँट र लिखु- ३ सूर्यमति र १ ढिकुरे जोड्ने पक्की पुल बाढीका कारण क्षतिग्रस्त भएका छन्।

पञ्चकन्या र तादी जोड्ने पुलको क्षति अवलोकन गरेपछि प्रवक्ता डा. महतले सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन पुनः सञ्चालनमा ल्याउन र बाढी पहिरो प्रभावित क्षेत्रका लागि थप बजेट उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो।

आफ्नो गृह जिल्लाका प्राकृतिक प्रकोप पीडितलाई भेट्न पुग्नुभएका पूर्वमन्त्री डा महतले बाढीले सातबिसे र थप्रे जोड्ने तादी खोलामाथिको पुल पनि क्षतिग्रस्त बनाएको अनुगमनपछि आवागमन सहज बनाउन जतिसक्दो छिटो यसको पुनर्निर्माण गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।

पहिरो नथामिएको र सिमसिम पानी परिरहेका बेलामा बाढी पहिरो प्रभावितसँग प्रत्यक्ष भेट्ने, राहत, क्षतिपूर्ति, पुनःस्थापना तथा पुनर्निर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा डा. महत पुग्नुभएको थियो। 

उहाँले पहिरोबाट अधिक प्रभावित राउतबेँसीको निरीक्षण भ्रमणपछि प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरुलाई राहत तथा विपदबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाको पुनर्निर्माणका लागि शीघ्र कदम चाल्न सरकारसँग माग गर्नुभयो।

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकसँगको भेटपछि डा. महतले स्थानीय जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र पुनर्निर्माणको बारमा छलफल गर्नुभएको थियो। उहाँले स्थानीय जनप्रतिनिधिहरुलाई पहिले पहिरो र बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न, प्रभावितको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनामध्ये सानातिना र थोरै रकमले हुने मर्मतसम्भार पालिकाको बजेटबाट सम्पन्न गराउन सुझाव दिनुभयो। 

प्रवक्ता डा. महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाका हकमा प्रदेश सरकार र सङ्घीय सरकारसँग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिनुभएको थियो।