• ५ साउन २०८१, शनिबार

अस्पतालबाट निस्किएको फोहोर व्यवस्थापन गर्दै त्रिशूली अस्पताल

blog

काठमाडौं, साउन २७ गते । नुवाकोटस्थित त्रिशूली अस्पतालले ‘बायोग्याँस प्लान्ट’ को माध्यमबाट अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन गर्ने थालेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले सुत्केरी गराउँदा निस्कने साललगायतको फोहोर, शल्यक्रियाबाट निस्क्ने मानव अङ्ग, खेर गएका खानेकुरा र अन्य सड्ने गल्ने फोहोरबाट अस्पतालमा बायोग्याँस प्लान्ट जडान गरी ग्याँस उत्पादन गर्न थालेको बताउनुभयो ।

अव्यवस्थित रुपमा विसर्जन गरिएको फोहोरबाट रोगको महामारी फैलिन सक्ने जोखिम कम गर्ने उद्देश्यले ग्याँस उत्पादन गर्न थालेको डा.पाण्डेले जानकारी दिनुभयो ।

यसबाट फोहोर र दुर्गन्धको समस्या निराकरण हुनुका साथै अस्पताललाई सस्तोमा ऊर्जा प्राप्त गर्ने डा.पाण्डेको भनाइ छ । अस्पतालमा वार्षिक लगभग एक हजार छ सय जना महिलाहरूले सुत्केरी सेवा लिँदै आएको अस्पतालले जनाएको छ ।

उहाँका अनुसार अस्पतालले बायोग्याँस प्लान्टमा सुत्केरी गराउँदाका सालनाल, विभिन्न मानवजन्य अङ्गहरू, शल्यक्रियाबाट निस्किएका मासुका टुक्राहरू, अन्य सड्ने फोहोरहरू प्लान्टमा राखिने र ग्यास उत्पादन गर्ने गर्छ ।

स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको अस्पताल सुदृढ़ीकरण कार्यक्रमको करिब नौ लाख  रुपियाँको लागतमा त्रिशूली अस्पतालले बायोग्यास प्लान्ट निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।

४० घनमिटरको सो प्लान्टबाट दैनिक ७० जना व्यक्तिलाई बिहान बेलुका खाना बनाएर खुवाउन सकिन्छ ।

यो प्लान्टमा निस्किएको ग्याँस अस्पतालको चिकित्सकहरूको मेसमा तथा बिरामीहरूलाई निःशुल्क खाना बनाउने प्रयोजनका लागि प्रयोग गरिने अस्पतालका अध्यक्ष राजु पण्डितले जानकारी दिनुभयो ।

अस्पतालले मासिक १० हजार बराबरको एलपी ग्याँस बिरामीलाई निःशुल्क खाना खुवाउनको लागि खर्च गर्दै आएको छ । अस्पतालले नकुहिने फोहोरमैला पनि मासिक तीन हजारमा बेच्न थालेको छ ।

अस्पतालकी मेट्रोन देवकी खतिवडाले अस्पतालबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापन हुन थालेपछि फोहोरबाटै सर्ने विभिन्न सङ्क्रमणजन्य रोगको जोखिम समेत न्यूनीकरण हुने बताउनुभयो ।