जयमान बुढामगर
रुकुमपूर्व, साउन २५ गते । जिल्लाका अधिकांश गाउँ सडक सञ्जालमा नजोडिएकाले दैनिक जीवनयापन कष्टकर बनिरहेको छ । सिकिस्त बिरामीलाई समेत स्वास्थ्य संस्थामा बोकेरै पु-याउनुपर्ने बाध्यता छ । गाउँमा कोही बिरामी परे भने स्वास्थ्य संस्थामा ल्याउन डोको, झोलुङ्गो र स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्थासम्म पु-याइन्छ । भुमे, पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिका गरी तीन पालिकाले बनेको जिल्लामा यातायातको सहज पहुँच नहुँदा समस्या भोग्नुपरेको हो ।
दुई स्थानीय तहको तुलनामा पुथाउत्तरगङ्गा गाउँपालिका विकट रहेको छ । सिस्ने र भुमेका मुख्य बस्तीमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र शहीद मार्ग सञ्चालनमा रहेकाले यहाँका बासिन्दालाई राहत भएको छ । पुथाउत्तरगङ्गामा भने शहीद मार्गले पूर्णता पाउन सकेको छैन ।
३१ वटा वडा रहेको जिल्लामा पुथाउत्तरगङ्गाका–९ र सिस्नेका दुई गरी ११ वटा वडामा अझै सडक पुगेको छैन । १४ वडा रहेको पुथाउत्तरगङ्गाको १ देखि ९ नम्बर वडासम्म सडक पुगेको छैन । यसैगरी नौ वडा रहेको भुमेमा सबै वडामा सडक पुगेको छ तर नियमित सडक सञ्चालन नहुँदा स्थानीयले सास्ती खेपिरहेका छन् । ८ नम्बर वडा रहेको सिस्नेमा १ र २ नम्बर वडामा सडक पहुँच छैन । पुथाउत्तरगङ्गाका अधिकांश बस्ती र भुमे अनि सिस्नेका केही बस्तीमा सडक सञ्जालले नजोडिएकाले यहाँका बिरामीलाई सास्ती भइरहेको हो ।
गत असोजमा पुथाउत्तरगङ्गा–२ पेल्माकी रमिता बुढालाई सुत्केरी बेथाले च्यापे पनि स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उहाँका श्रीमान् वसन्त बुढासहित छिमेकी युवाले गाउँपालिकाको वडा नम्बर १२ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोलमा डोकोमा बोकेर पु-याए । यहाँका अधिकांश बिरामीलाई यसैगरी डोको, झोलुङ्गो र स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्थामा पु-याउनुको विकल्प छैन । सडक नपुगेको र पुगेको ठाउँमा पनि सवारीसाधन नियमित नभएका कारणले यस जिल्लाका बिरामीलाई बोकेरै दिनभरिको बाटोबाट स्वास्थ्य संस्थामा पु-याउने गरेको पुथाउत्तरगङ्गा–१ का अमर पुनले बताउनुभयो ।
सडक नपुगेकाले जोखिमपूर्ण गोरेटो बाटोमा बिरामी बोकेर हिँड्नै मुस्किल हुने गरेको पुनको गुनासो छ । “हिमाली जिल्ला भएकाले भीरको बाटोमा हिँड्नै मुस्किल छ,” उहाँले भन्नुभयो, “बिरामी तथा उपभोग्य वस्तु ओसारपसार गर्नुपर्दा डर मर्नु छ ।” त्यसैगरी सिस्ने गाउँपालिका–२, सुदृका सुनीता रोका सोही वडाको नायगाड स्वास्थ्य चौकीतर्फ यात्रा गर्र्दै हुनुहुन्थ्यो ।
आफ्नो पाँच महिनाको बच्चालाई डोकोमा बोकेर हिँड्दै गर्नुभएको अवस्थामा ठेस लागेर लडिने हो कि भन्दै निकै सतर्क देखिनुहुन्थ्यो । साँघुरो र भीरको बाटो हिँड्दा उहाँको गुनासो पनि उस्तै थियो । भौगोलिक विकटताका कारणले गोरेटो बाटोसमेत जोखिमपूर्ण रहेकाले डराउँदै हिँड्नुपरेको उहाँले बताउनुभयो । ठेस लागी लडेर मृत्युसमेत भएको यहाँका स्थानीयले जानकारी दिएका छन् । “त्यसैले यहाँका बाटोमा हिँड्दा याद गरेर हिँड्नुपर्छ,” रोकाले भन्नुभयो । ‘केहीले सडकले छुला र हाम्रो समस्या पार लाग्ला भन्ने थाहा छैन, विगतदेखि नै हाम्रा समस्या जस्ताको त्यस्तै छन्,” उहाँले भन्नुभयो ।