• ११ मंसिर २०८१, मङ्गलबार

सद्भावको पर्व बन्दै मोहर्रम

blog

नारद कोहार/सिराज खान

तौलिहवा/नेपालगञ्ज, साउन २५ गते । मुस्लिम समुदायले मनाउने महान् पर्व मोहर्रम केही वर्षयता हिन्दु समुदायले पनि मनाउन थालेपछि सद्भावको पर्व बन्दै गएको छ । हिन्दुले समेत मनाउन थालेपछि धार्मिक सद्भावको पर्वका रूपमा विकसित हुँदै गएको हो । तराईका हिन्दु र मुस्लिम समुदायले एकैसाथ मनाउन थालेपछि छुट्टै रौनक थपिएको छ । 

भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोकामना पूरा हुने विश्वास रहेकाले मोहर्रम पर्व विगत पाँच वर्षदेखि मनाउन थालेको कपिलवस्तु नगरपालिका–५ का रामचरन बरईले बताउनुभयो । साथै यो पर्व श्रद्धापूर्वक मनाउनाले परिवारिक सुख शान्ति मिल्नुका साथै बिग्रेको कामसमेत बन्ने धार्मिक विश्वास रहेको छ ।

“यो पर्व मनाउनाले पारिवारिक सुख र मनोकामना पूरा हुने भएकाले मनाउन थालेको हो,” बरईले भन्नुभयो । दुई हजारको तहजिया किनेर परिवार मिलेर यो पर्व मनाउने गरेको बताउनुभयो । मुस्लिम दाजुभाइसँगै यो पर्व मनाउन पाउँदा आफूलाई निकै खुसी लागेको उहाँले व्यक्त गर्नुभयो । केही वर्षअघिसम्म मुस्लिम समुदायले मात्र मनाउने यो पर्वमा अब भने हिन्दुको सङ्ख्या पनि बढ्दै गएको छ । यसले गर्दा धार्मिक सद्भावसमेत कायम राख्ने धर्मगुरुहरूको भनाइ छ । 

अहिले यो पर्वलाई मधेशका हिन्दु समुदायले समेत अँगालेकाले सद्भाव कायम गर्न मद्दत मिलेको अधिकारकर्मी रवि ठाकुरले बताउनुभयो । “मुस्लिमको दोस्रो ठूलो बाहुल्य रहेको जिल्लामा दुवै समुदायले सामूहिक रूपमा यो पर्व 

मनाएकाले आपसमा भाइचारा कायम गरेको छ,” उहाँले भन्नुभयो । धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झनास्वरूप मनाइने यो चाडमा गुरुको प्रतीकस्वरूप तहाजियाको पूजा गरिने प्रचलन रहेको छ । इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि यो एकदेखि १० तारिखसम्म मनाइने गरिन्छ । घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुर्हरमका दिन करबलामा लगेर सेलाइने चलन छ । 

हिन्दुले घरमा पूजा गर्दा ढोल, तासा, झाझलगायतका बाजा बजाउने गर्छन् । मुस्लिम समुदायले भने मुहर्रमका दिन साहसिक प्रदर्शन गर्ने गर्छन् । १४ सय वर्ष पहिले इमामे हुसेनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जनाको परिवारले प्राण आहुति दिएको सम्झनास्वरूप मुहर्रम मनाउँदै आएको मुस्लिम धर्मगुरुहरू बताउँछन् । अरबी क्यालेन्डरअनुसार दस मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ । 

इस्लामिक नयाँ वर्ष हिजरी संवत्को एकदेखि १० दिनसम्म यो पर्व मनाइने मुस्लिम मौलानाको भनाइ छ । मोहर्रमको १०औँ दिनलाई आसुरा भनिने तथा त्यसै दिन मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताउनुभयो । मोहर्रम पर्व मङ्गलबार घरमा बनाएका तहजियालाई करबलामा सेलाएपछि समापन हुने गरेको छ । 

बाँके जिल्लामा हिन्दु र मुस्लिम समुदायले आपसमा मिलेर मोहर्रम पर्वलाई धार्मिक सद्भाव र सामाजिक एकताका रूपमा मनाएका छन् । बाजागाजाको जुलुससहित मङ्गलबार स्थानीय करबलमा पुगेर ताजिया विसर्जन गरिएको मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो । रातभर स्थानीयले सहरका विभिन्न भागमा पुगेर ताजिया र सहरको झिलिमिली अवलोकन गरेको मोहर्रम कमिटी धम्बोझीका अध्यक्ष मेराज अहमद हिमालयले बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ का कारण तीन वर्षदेखि राम्ररी मनाउन नसकेको यो पर्वलाई यस वर्ष निकै धुमधामसाथ मनाइएको छ ।