• ११ मंसिर २०८१, मङ्गलबार

सुरक्षाको अनुभूति गर्दैनन् सीमावासी

blog

दिवाकर पोख्रेल

देउखुरी, साउन २४ गते । गाउँको थोरै तल दक्षिणतर्फ दसगजा क्षेत्र, जुन क्षेत्रलाई नेपाल–भारत दुई देशको साझा भूमिको रूपमा लिइन्छ। दसगजाको माथि उत्तरतर्फ ठाउँ ठाउँमा ससाना झुप्रा खरको फुसले बारेका घर। 

ती घरमा बसेर कष्टकर जीवन विताइरहेका नेपाली नागरिक सीमा क्षेत्रसँगै जोडिएर  बसेकाले आफूहरू नाकाबासी भएको भन्न रुचाउँछन्। सीमा बस्नेहरू नेपाली नागरिक भए पनि सम्पूर्ण भर छिमेकी मुलुक भारतसँग रहेको छ। 

नेपालतर्फ आवतजावत गर्न भरपर्दा सडक छैन। भएका सडक छ महिना सञ्चालन, छ महिना बन्द हुन्छन्। भौगोलिक विकट्ताका कारण सडकसँगै अन्य आधारभूत सेवासमेत छैन सीमावासी नेपालीका लागि।

उनीहरूलाई दैनिक उपभोग्यलगायत अत्यावश्यक पर्ने खाद्यान्नलगायतका वस्तु खरिदका लागि पायक पर्ने भनेकै भारतीय बजार नै हुन्। नेपालको बजार आउन पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। 

यो बाध्यता दाङको राजपुर गाउँपालिका नाका क्षेत्रमा बसोबास गर्नेहरूमा अलि बढी नै रहेको हो। भारतीय बजारबाट सरसामाना खरिद गरी घरसम्म ल्याउन पनि त्यति सहज छैन। जङ्गलको बाटो हिँडेर जानुपर्ने भारतीय सुरक्षाकर्मी हप्काइ, कुटाइ र मानसिक यातना सहिनसक्नु छ। दुई हप्ताअघि मात्रै भारतीय बजारबाट सामान खरिद गरी फर्किंदै गरेका दुई जना नेपाली महिला बलात्कारको सिकार बने। छ जनाको समूहमा रहेका मध्ये अन्य चार जनामाथि कुटपिट र लुटपाटसमेत भएको थियो। 

यस घटनालाई नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीले गम्भीर रूपमा लिए पनि नेपाली नागरितमाथिको अन्याय र अत्याचार सहिनसक्नु भएको स्थानीयको गुनासो छ। सामान गरिद गर्न जाँदा भारतीय नागरिकको कुटपिटबाट सख्त घाइते राजपुर–६, बैरवा नाकाकी मीना घर्तीले उक्त घटना बिर्सन सक्नुभएको छैन। “त्यो घटना सम्झिँदा अहिले पनि डर लाग्छ, हामी बजारबाट फर्कंदै थियौँ, जङ्गलमा अपरिचत व्यक्तिले सँगै रहेका साथीमाथि जबरजस्ती गर्न खोजे छुट्याउन जाँदा मलगायत अन्य साथीहरूलाई कुटपिट गरे,” घटना सम्झाउँदै उहाँले भन्नुभयो। 

नाका क्षेत्रका नागरिक नै असुरक्षित रहेको राजपुर गाउँपालिका–७, भैसाही नाका निवासी पुना विकको भनाइ छ। “दैनिक प्रयोगका लागि सामान खरिद गर्न जाँदा भारतीय सुरक्षाकर्मीबाट समय समयमा सामान लग्न नदिने चेकजाँचको नाममा दुःख दिने त गर्थे तर भारतीय नागरिकबाट असुरक्षाको महसुस गरेका छौँ।” 

नाका क्षेत्रको सुरक्षा व्यवस्थाका सम्बन्धमा स्थानीय सरकारले पहल नगरेको भने होइन। तर पनि सम्पूर्ण निर्भर भारतीय बजारमा पर्नुपर्दाको बाध्यता र पीडा वर्णन गर्न लायक नभएको राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी बताउनुहुन्छ। 

उहाँ भन्नुहुन्छ, “त्यहाँको समस्या भनेकै सडक पूर्वाधार हो, अब पूर्व–पश्चिम सीमा सडकलाई प्रथामिकता दिएर काम गर्नुको विकल्प छैन, सडक भयो भने नेपालमै सर सामान किन्ने अवस्था हुन्छ, जसबाट हाम्रा नेपालीहरू सुरक्षित हुन्छन् भन्ने लागेको।” यस्तै अध्यक्ष बुढाथोकी दाङको नाका क्षेत्रमा सुरक्षासम्बन्धी सचेतना दिन पनि आवश्यक रहेको बताउनुहुन्छ। सीमा क्षेत्र सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका क्याम्पहरू छन्।

सशस्त्र प्रहरी नं २९ गण भालुवाङका सशस्त्र प्रहरी उपरीक्षक (एस्पी) विनोद केसीले दाङको नाकाक्षेत्रमा नेपली असुरक्षित रहेको विषयमा आफूहरू पनि गम्भीर रहेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “पछिल्लो समय हाम्रो सक्रियता बढेको छ, भारतीय सुरक्षाकर्मीलाई जङ्गल क्षेत्रमा गस्ती गर्नको लागि अनौपचारिक आग्रह पनि गरेका छौँ। 

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सीमा क्षेत्र र सीमावासीको सुरक्षाका लागि सुरक्षा सतर्कता बढाएको बताउनुहुन्छ। “दाङको नाका क्षेत्र भौगोलिक विकटताले पनि समस्या हो तर हामी दुई देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने गरेका छौँ, नियमित बैठक पनि बस्ने गरेको छौँ,”  उहाँले भन्नुभयो।