• २२ असार २०८१, शनिबार

सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

blog

सप्तकोसी, साउन १९ गते । सप्तकोसी बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बाढी पीडितका लागि राहत पठाएको हो ।

बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानवबस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ ।  

मन्त्री केदार कार्कीका अनुसार मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहतका सामग्री पठाइसकेको छ । मन्त्री कार्की भन्नुहुन्छ, ‘‘हामी यहाँका नागरिकलाई मर्न दिन्नौँ, सरकार उद्धार र राहतको काममा जुटिरहेको छ । स्थानीय सरकारले  नागरिकलाई सुरक्षित ठाउँको पहिचान गर्ने तथा सङ्घ संस्थालगायत सबै नागरिक जिम्मेवार बनेर विपद्को प्रतिकार्यमा जुटौँ ।’’ 

बुधबार कानुनमन्त्री कार्की र सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीसहित उदयपुर सुनसरी, मोरङका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिहरू घटनास्थलमा नै पुगेर सरकारी संयन्त्रलाई परिचालित गराई विपदमा फसेकाहरूलाई उद्धार गराएका हुन् । 

अहिले कोसीले बाँध भत्काएर मानवबस्ती प्रवेश गरेको स्थानमा २०४५ सालअघि कोसी बग्ने गथ्र्यो । २०४५ सालको भूकम्पपछि कोसीले विस्तारै धार परिवर्तन गरी पूर्वतर्फ धकेलिएपछि स्थानीयले २०५१ सालदेखि घर बनाएर बस्न थालेका थिए ।