• ४ साउन २०८१, शुक्रबार

जुनार शीतभण्डार प्रयोगविहीन

blog

सिन्धुली समाचारदाता 

सिन्धुलीमाढी, साउन १७ गते ।  कमलामाई नगरपालिका–४, दोभानटारमा एक दशकअघि जापानी दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको जुनार शीतभण्डार प्रयोगविहीन बनेको छ। समितिका अध्यक्ष दीपक कोइरालाका अनुसार उक्त भवन एक करोड रुपियाँको लागतमा २०६६ सालमा जुनार भण्डारणलाई लक्षित गरी बनाइएको थियो।

जापानी राजदूतावासको अनुदान ६० लाख रुपियाँ र बाँकी रकम तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समिति र जुनार उत्पादक किसानबाट जुटाइएको हो। ३६० मेट्रिक टन क्षमताको उक्त शीतभण्डार सुरुका दुई वर्ष प्रयोगमा आए पनि त्यसपछि प्रयोगमा नआएको उहाँले बताउनुभयो।

सिजनअनुसार जुनार, सुन्तला, कटहरलगायतका फलफूल भण्डारण गरी बेमौसममा उपभोक्तामाझ पु-याउने उद्देश्यले शीतभण्डार निर्माण गरिए पनि बीपी राजमार्ग निर्माणसँगै भण्डारण गर्ने कृषिजन्य वस्तुको अभाव भएपछि प्रयोगविहीन भएको शीतभण्डारका अध्यक्ष कोइरालाको भनाइ छ। उहाँले भन्नुभयो, “भण्डारण गर्न कम्तीमा पनि तीन सय टन कृषिजन्य उत्पादन चाहिन्छ तर किसानले आफैँ बीपी मार्ग निर्माणसँगै राम्रो मूल्यमा जुनार, सुन्तला र भुइँकटहर बिक्री गरिरहेकाले शीतभण्डारमा भण्डारण गर्न ल्याउँदैनन्।”

सुरुका दुई वर्षमा जुनार तथा आलु भण्डारण गरिएको थियो। त्यसपछि खर्च धान्नै नसकेर प्रयोगमा आउन नसकेको सञ्चालकको भनाइ छ। अब आउने जुनारको सिजन मङ्सिर/पुसबाट शीतभण्डार प्रयोगमा ल्याउने तयारी गरिएको सञ्चालक समितिका अध्यक्ष कोइरालाले सुनाउनुभयो।

जुनार उत्पादनका लागि नेपालमै पहिलो रहेको सिन्धुली जिल्ला त्यही उत्पादनलाई नै लक्षित गरेर शीतभण्डार निर्माण भएको थियो। शीतभण्डार सञ्चालक समितिका अर्का सदस्य कृष्णप्रसाद गौतमका अनुसार सुरुमा समयमा नै बीमा र विद्युत् मिटर जडान गर्न नसक्दा शीतभण्डार राम्रोसँग प्रयोगमा आउन सकेन। अहिले शीतभण्डारकै जमिनमा जुस उद्योग निर्माण भएको र शीतभण्डारसमेत उक्त उद्योगले चलाउने भने पनि उद्योग आफैँ चल्न सकेको छैन।

शीतभण्डार भवन जुस उद्योगले सञ्चालन गर्ने भनी सम्झौता भएको र उक्त उद्योग निर्माण पूरा नहुँदै आफैँ अलपत्र परेकाले शीतभण्डार प्रयोगमा नआएको हो, उहाँले भन्नुभयो।