• २७ वैशाख २०८१, बिहिबार

एसईईमा जिपिए चार ल्याउने गुल्मीकै एक्लो आशिष

blog

गुल्मी जिल्लाको रेसुङ्गा माध्यमिक विद्यालयका चार जिपिए ल्याएका छात्र आशिष बस्नेत । तस्बिर: रमेश विश्वकर्मा

गुल्मी, साउन १३ गते । सामुदायिक विद्यालयबाट एसईईमा जिपिए चार ल्याउने गुल्मी जिल्लामै एक्लो आशिष बस्नेत बन्नुभएको छ । रेसुङ्गा माध्यमिक विद्यालयमा अध्यनरत बस्नेतले जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याउनुभएको छ । 

विद्यालयले निरन्तर रुपमा आफ्नो वर्चस्व कायम गर्दै सामुदायिक विद्यालयतर्फ जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । सामुदायिक तथा संस्थागत विद्यालयतर्फ ४.० जिपिए प्राप्त गर्ने यस विद्यालय जिल्लामै प्रथम भएको प्रधानाध्यापक प्रेमनारायण भण्डारीले जानकारी दिनुभयो । 

जिल्लाको इस्मा गाउँपालिका–६, अमरपुर निवासी बस्नेत त्यस विद्यालयमा कक्षा चारदेखि निरन्तर रुपमा अध्ययन गर्दै आउनुभएको थियो । सामान्य परिवारका बस्नेत मेहेनती, लगनशील र अनुशासित विद्यार्थी भएको प्रधानाध्यापक भण्डारीले बताउनुभयो । 

विपन्न परिवारका बस्नेत विद्यालयको सहयोगमा छात्रवृत्ति तथा सहुलियतमा अध्ययन गर्दै आउनुभएको थियोे । यसअघि २०७५ सालमा सञ्चालित एसईई परिक्षामा पनि राष्ट्रियस्तरमा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । २०७८ सालमा लुम्बिनी प्रदेश शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जिल्लाकै सर्वोत्कृष्ट विद्यालयको रुपमा दुई लाख ५० हजार राशीसहित यो विद्यालय पुरस्कृत भएको विद्यालयका प्रधानाध्यापक भण्डारीले जानकारी दिनुभएको छ । 

प्रकाशित एसईईको नतिजाअनुसार लुम्बिनी प्रदेशमा ४ जिपिए ल्याउने दुईवटा मात्रै सामुदायिक विद्यालय छन् भने ५ वटा संस्थागत विद्यालय छन् ।  

Author

रमेश विश्वकर्मा