वासुलिङ समाचारदाता
वासुलिङ (बैतडी), वैशाख १४ गते । बैतडीको पुर्चौडी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविरबाट ज्येष्ठ नागरिकलगायत सयौँ नागरिक लाभान्वित भएका छन् । ग्रामीण भेगमा बसोबास गर्ने तथा नियमित रूपमा उपचार सेवा पहुँचबाहिर रहेका बिरामीलाई लक्षित गरेर सञ्चालन गरिएको सो शिविरमा १२२ जनाको आँखा शल्यक्रिया गरिएको छ ।
शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा आँखा जाँच, औषधी वितरण, चस्मा उपलब्ध गराउनेदेखि शल्यक्रियासम्मका सेवा प्रदान गरिएको बताइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरका अनुसार शिविरमा २३० जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने ४३५ जनालाई आवश्यक औषधी उपलब्ध गराइएको छ ।
शिविरबाट पुर्चौडी नगरपालिकाका सात सयभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुँवरले ग्रामीण क्षेत्रमा आँखासम्बन्धी समस्या भएका नागरिकले समयमै उपचार सेवा नपाउने अवस्थालाई दृष्टिगत गर्दै शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । सेवा लिन आएका अधिकांश बिरामीमा उमेरका कारण हुने दृष्टिसम्बन्धी समस्या देखिएको कुँवरले बताउनुभयो ।
घरनजिकै नै विशेषज्ञसहितको सेवा उपलब्ध भएपछि स्थानीयवासी, विशेषगरी वृद्धवृद्धा निकै खुसी भएका छन् । पुर्चौडी नगरपालिका–८ की झिमा बोहोराले शिविरमार्फत आफ्नो आँखाको ज्योति फर्किएको बताउनुभयो ।
शिविर पुर्चौडी नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालन गरिएको धनगढी नेत्रालयले प्राविधिक सहयोग प्रदान गरेको नेत्रालयका प्रमुख गजेन्द्रबहादुर चन्दले बताउनुभयो । शिविर सञ्चालनअघि वडास्तरमै पुगेर आँखाको परीक्षण गरिएको थियो र सो क्रममा शल्यक्रिया आवश्यक भएका बिरामीलाई पहिचान गरी शिविरमा ल्याएर निःशुल्क उपचार गरिएको नगरप्रमुख दीपकबहादुर बमले बताउनुभयो ।
यसले सेवा प्रभावकारी र लक्षित समूहसम्म पुग्न सहज भएको नगरप्रमुख बमको भनाइ छ ।