साधन घर्ती
म्याग्दी (दरबाङ), वैशाख १४ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लाका विभिन्न वडामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण गर्ने अभियानअन्तर्गत मालिका गाउँपालिकाका वडा नं. ३, ४ र ५ का नागरिकलाई वडामै परिचयपत्र उपलब्ध गराइएको छ ।
शनिबार मालिका गाउँपालिका–३ डाँडागाउँमा ३० जना र वडा नं. ४ मा १२ जनालाई परिचयपत्र वितरण गरिएको थियो । त्यसैगरी आइतबार वडा नं। ५ देविस्थानमा ६२ जना सेवाग्राहीलाई बस्तीमै पुगेर परिचयपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयकी कम्प्युटर अपरेटर विष्णु खत्रीले बताउनुभयो ।
स्थानीय जनप्रतिनिधिको समेत समन्वय भएकाले काम सहज भएको कम्प्युटर अपरेटर खत्रीको भनाइ छ । जिल्ला प्रशासन कार्यालयमै पुगेर परिचयपत्रका लागि विवरण दिएका व्यक्तिहरूको कार्ड वितरण भइरहेको छ । परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने व्यवस्था छ ।
जनशक्ति र उपकरणको अभावका कारण सबै पालिकामा एकैपटक राष्ट्रिय परिचयपत्र वितरण गर्न नसकिए पनि आवश्यक समन्वयमा सेवा निरन्तर अघि बढाइने प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो ।