सिराज खान
नेपालगन्ज, चैत २८ गते । बाँकेको डुडुवा गाउँपालिका–३ अन्तर्गत पर्ने हल्कारापूर्वा गाउँ जिल्लाकै सबैभन्दा बढी भैँसीपालन हुने गाउँका रूपमा परिचित छ। केवल ३४ घरपरिवार रहेको यादव समुदायको यस गाउँमा अहिले छ सयभन्दा बढी भैँसी छन्।
यहाँ भैँसी नपाल्ने घर भेटिनु दुर्लभ छ। यही कारण स्थानीयले हल्कारापूर्वालाई “दूध उत्पादनको गाउँ” भनेर चिनाउन थालेका छन्। यो गाउँबाट मात्रै दैनिक करिब ६०० लिटर दूध नजिकैको नेपालगन्ज बजारमा पुग्ने गरेको छ।
उमेरले ६ दशक पार गरिसक्नुभएका हल्कारापूर्वाका रामसोहन यादवले सबैभन्दा बढी भैँसीपालन गर्नुभएको छ। उहाँसँग मात्रै पाडापाडीसहित १५० वटा भैँसी छन्, जसमध्ये ५२ वटा दुहुना छन्।
यादवको घरबाट मात्रै दैनिक तीन सय लिटर दूध कम्दीस्थित मिलनचोक बजार हुँदै नेपालगन्जसम्म पुग्छ। भैँसीपालनदेखि दूध व्यवस्थापनसम्मका लागि छोराछोरीदेखि बुहारी र नातिनातिनासम्म परिवारका सबै सदस्य खटिएको उहाँले बताउनुभयो।
भैँसीपालनमा बिहान ३ बजेदेखि सुरु हुने उहाँको दैनिकी बेलुका झमक्क नपर्दासम्म भैँसीकै वरिपरि घुम्छ। पुस्तौँदेखि चल्दै आएको पेसालाई निरन्तरता दिँदै उहाँले गाउँमा सबैभन्दा बढी भैँसी पालिरहनुभएको छ।
हल्कारापूर्वामा पहिलेदेखि भैँसीपालन गरिरहेकासँगै युवाहरू पनि यसतर्फ आकर्षित भएको पाइएको छ। सो गाउँका ३१ वर्षीय विष्णुप्रसाद यादवले १९ वटा भैँसी पाल्नुभएको छ। उहाँका अनुसार भैँसीपालनबाट हुने आम्दानी स्वदेश वा विदेशको जागिरभन्दा बढी छ।
उहाँले भन्नुभयो, “भैँसीपालनबाटै स्वदेश मात्र नभई विदेशको जागिरभन्दा पनि बढी आम्दानी हुन्छ। जागिर गर्दा अर्काको आदेश मान्नुपर्छ, यो आफ्नै काम भएकाले मज्जाले गरिरहेका छौँ।”
त्यस्तै, सोही गाउँका अर्का युवा रामफेरन यादवले पनि ३७ वटा भैँसी पाल्दै आउनुभएको छ। राम्रो आम्दानी, घरकै काम र सानैदेखि गर्दै आएको हुनाले यही काम सजिलो र भरपर्दो लागेको उहाँले बताउनुभयो।
सो गाउँका किसानहरूमा पछिल्लो समय स्थानीय जातभन्दा मुर्रा भैँसीपालनतर्फ आकर्षण बढ्दै गएको छ। बढी दूध दिने भएकाले किसानहरू क्रमशः मुर्रा जाततर्फ आकर्षित हुँदै गएको स्थानीय रामफेरन यादवले बताउनुभयो।
उहाँले डेढ लाख रुपियाँमा मुर्रा भैँसी खरिद गरेको जनाउँदै किन्दा महँगो परे पनि दूध धेरै दिने भएकाले छिट्टै लगानी उठ्ने बताउनुभयो। यादवको घरबाट मात्रै दैनिक ५० लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ।
धेरै ठूलो परिमाणमा भैँसीपालन र दूध उत्पादन हुने गाउँ भए पनि हल्कारापुर्वाका किसानहरू सरकारी सेवा–सुविधाबाट भने अझै टाढा रहेको बताउँछन्। स्थानीय किसान दिनेशप्रसाद यादवका अनुसार किसानका लागि भनिने अनुदान यो गाउँका किसानसम्म अझै पुगेको छैन।