विकास अधिकारी
पश्चिम नवलपरासी, चैत २७ गते । जिल्ला आर्थिक गणना कार्यालय, पश्चिम नवलपरासीले राष्ट्रिय आर्थिक गणना–२०८२ का लागि प्रशिक्षण सुरु गरेको छ। वैशाख २ गतेदेखि फिल्डमा खटिने गरी छनोट भएका गणक र सुपरिवेक्षकका लागि पाँचदिने तालिम सुरु गरिएको हो।
नवलपरासीमा ५२ जना गणक र ८ जना सुपरिवेक्षक गरी ६० जना आर्थिक गणनाका लागि खटिने जिल्ला आर्थिक गणना कार्यालय परासीका प्रमुख तथा आर्थिक गणना अधिकारी यज्ञमूर्ति भण्डारीले जानकारी दिनुभयो।
तालिममा आर्थिक गणनाका क्रममा अपनाउनुपर्ने विधि, गणनाको क्षेत्र, तथ्याङ्कको यथार्थता तथा सङ्कलन प्रक्रियालगायत विषयमा प्रशिक्षण दिइनेछ। प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले आर्थिक गणनाले देशको आर्थिक गतिविधिको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले गणकहरूलाई प्रभावकारी रूपमा तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिनुभयो।
जिल्लाका सातवटै स्थानीय तहमा वैशाख २ गतेदेखि असार ७ गतेसम्म स्थलगत रूपमा गणकहरूले तथ्याङ्क सङ्कलन गर्नेछन्। चैत मसान्तसम्म सबै तयारी पूरा गरेर वैशाखदेखि फिल्डमा खटिने गरी तयारी भइरहेको आर्थिक गणना अधिकारी भण्डारीले बताउनुभयो।
जिल्लामा आर्थिक गणना सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति गठन गरिएको छ। पालिका तहमा स्थानीय तह समन्वय समिति र वडा स्तरमा वडा स्तरीय सहजीकरण समिति पनि गठन गरिनेछ।
“अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित चालु आर्थिक वर्षभित्र सम्पन्न हुने गरी देशैभर दोस्रो पटक आर्थिक गणना गर्न लागिएको हो। पहिलो आर्थिक गणना २०७५ सालको वैशाखमा गरिएको थियो।
यस गणनाका क्रममा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिनेछ। देशभर रहेका दर्ता भएका वा नभएका साना–ठूला उद्योग, व्यापार प्रतिष्ठान, धेरै रोजगारी दिने वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ। आर्थिक विवरणदेखि उद्योगबाट भएको उत्पादनसम्मका विवरण यस गणनामा समावेश गरिनेछ।
यसैगरी उद्योग, कलकारखाना, व्यापार–व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायत क्रियाकलाप सञ्चालन गरिरहेका एकाइमा गणना सञ्चालन गरिनेछ।