• १४ असार २०८१, शुक्रबार

सामुदायिक विद्यालयको भौतिक पूर्वाधार लोभ लाग्दो

blog

मालिका गाउँपालिका ७ स्थित बिममा रहेको किसानी माध्यमिक विद्यालयमा निर्माण भएका सुविधासम्पन्न भवनहरु । तस्बिरः ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन ६ गते । यहाँको एक गाउँको सामुदायिक विद्यालयमा पुग्दा सहरबजारको कुनै सुविधा सम्पन्न निजी विद्यालयमा पुगेको अनुभूति हुन्छ । तर यो निजी विद्यालय नभएर जिल्लाको कुनै एक गाउँको सामुदायिक विद्यालय हो । गाउँको सामुदायिक विद्यालयमा पनि सुविधा सम्पन्न भब्य पूर्वाधार निर्माण भएका छन् भन्दा विश्वास नलाग्न सक्छ तर मालिका गाउँपालिका ७ बिम स्थित किसानी माध्यमिक विद्यालयमा भएका भौतिक पूर्वाधार हेर्दा सवैजना दङ्ग हुन्छन् । 

कक्षाकोठा,छात्रावास,खेलमैदान र शौचालय व्यवस्थित बनाइएको छ । प्रयोगात्मक शिक्षण सिकाईका लागि ल्याब स्थापना गरिएको छ । सामुहिक इच्छाशक्ति भए सामुदायिक विद्यालयलाई पनि निजी सरहको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा अब्बल बनाउन सकिन्छ भन्ने उदाहरण बिमका स्थानीयवासीहरुले प्रस्तुत गरेका छन्

स्थानीय समुदाय,शिक्षक,अभिभावक,विद्यालय प्रशासन र व्यवस्थापन समितिको कुशल नेतृत्वदायी भूमिकाका कारण विद्यालयले भौतिक पूर्वाधार निर्माण गर्न सफल भएको स्थानीयवासीहरुको बुझाई छ ।  पुराना जिर्ण र कच्ची भवनका कक्षाकोठामा राखेर विद्यार्थीहरुलाई पठनपाठन गराउँदै आएको विद्यालयमा २०७२ साल देखि पूर्वाधार निर्माण थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पलविर जुग्जालीले बताउनुभयो । विद्यालयलाई अहिलेको अवस्थामा ल्याइपु¥याउन सरोकारवाला पक्ष सवैको ठूलो योगदान रहको उहाँको भनाई छ । 


विद्यालयमा सुविधासम्पन्न भवन बनेसँगै पठनपाठनमा सहज भएपछि विद्यार्थीहरु खुसि भएका छन् । गाउँबाट सहरबजारमा पढ्न झरेका विद्यार्थीहरु पनि विद्यालयको प्रगति देखेर फर्किएका छन् । साधरणतर्फ कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा  प्राविधिक धार तर्फ बाली र पशु विज्ञान विषयमा डिप्लोमा तहसम्मको पठनपाठन हुन्छ । दुवै तर्फगरी पाँचसय ४७ जना विद्यार्थी अध्ययनरत छन् । 

विद्यालयमा पछिल्ला छ वर्ष यता सरकारी,गैरसरकारी र स्थानीयसमुदायबाट चन्दा सहयोग जुटाएर  करिब ५ करोड रुपियाँ लागतमा ६ वटा सुविधासम्पन्न भवन निर्माण भएको प्रधानाध्यापक जंग गर्बुजाले बताउनुभयो । समुदायको एकता र सरोकारवाला निकायको निरन्तरको सहयोगका कारण विद्यालय यो स्थानमा आइपुगेको उहाँले बताउनुभयो । 

उहाँले दिएका जानकारी अनुसार विभिन्न समयमा गरी तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको एककरोड ३२ लाख रुपियाँ लागतमा १६ वटा कोठा भएको चारवटा भवन निर्माण भएका छन् । गत वर्ष राष्ट्रिय भुकम्प प्राधिकरण आयोजनामार्फत ७० लाख रुपियाँ लागतमा चारकोठे दुई तल्ले भवन निर्माण भएको छ ।

 गत आर्थिक वर्षमा नै लायन्स क्लब अफको अन्तर्राष्ट्रय कोषको  एक करोड ७६ लाख रुपियाँ सहयोगमा दुईतल्ला भएको ८ कोठे सुविधा सम्पन्न भवन निर्माण भएको प्रधानाध्यापक गर्बुजाले बताउनुभयो । मालिका गाउँपालिका र विद्यालयको आन्तरिक स्रोतगरि १४ लाख रुपियाँ लागतमा दुई कोठे भवन निर्माण भएको उहाँले बताउनुभयो । यसैगरी छात्र र छात्रालाई राख्नका लागि ४० कोठा भएको छुट्टाछुट्टै छात्रावास भवन बनाइएको छ ।

सरकारी निकाय,स्थानीय तह तथा विभिन्न संघसंस्थाको पहलमा पूर्वाधार निर्माण गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक  गर्बुजाले बताउनुभयो । स्थानीय शिक्षासेवीकै पहलमा एक दशक अघि जिल्लामा नै पहिलो पटक यसै विद्यालयमा स्थापना भएको प्राविधिक शिक्षालयबाट जिल्लामा बालि विज्ञान र पशु विज्ञान तर्फका जनशक्ति उत्पादन भएका छन् ।  

भौतिक पूर्वाधार निर्माणले आकर्षक देखिएको विद्यालयमा गुणस्तरलाई पहिलो प्राथमिकता दिइएको र यहाँ पढेर गएका प्राविधिक धारतर्फका  ८० प्रतिशतभन्दा बढी विद्यार्थी सरकारी वा अन्य विभिन्न निकायमा संलग्न भई रोजगारी प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक गर्वुजाले बताउनुभयो । प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित सञ्चालन भएको कृषि प्राविधिक शिक्षालयमा छात्रको तुलनामा छात्राको आकर्षण बढ्दै गएको छ । विभिन्न १३ जिल्लाबाट बाली र पशुविज्ञान विषय अध्ययन गर्न आएका छन् । उनीहरुलाई विद्यालयले निशुल्क रुपमा छात्रावासको व्यवस्था गरेको छ ।  

विद्यार्थीलाई प्रयोगात्मक विधिद्वारा शिक्षण गराइँदै आएको र ‘देशको समृद्धि व्यावसायिक कृषि’ भन्ने मूल उद्देश्यका साथ कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिएको प्रधानाध्यापक गर्बुजाले बताउनुभयो । शिक्षालयमा अझै गुणस्तर कायम गर्दै भोलिका दिनमा देशमा आवश्यक पर्ने कृषि जनशक्ति यही जिल्लामा उत्पादन गर्ने र त्यसका लागि प्रयोगात्मक विधि अपनाउन विद्यालयले चन्दा सहयोग जुटाएर २५ रोपनी जमिन खरिद गरेको छ । गाउँको सामुदायिक विद्यालयलाई नै नमुना विद्यालयका रुपमा स्थापित गर्ने उद्देश्यले २०७२ सालमा निजी स्तरबाट कक्षा ७ सम्म सञ्चालित एक विद्यालयलाई गाभिएको थियो । विद्यालयको भौतिक पूर्वाधार र जग्गा जमिन सहित १८ लाख रुपियाँमा खरिद गरि विद्यालय गाभिएको प्रधानाध्यापक गर्बुजाले बताउनुभयो । 

Author

ठाकुरप्रसाद आचार्य